काठमाडौं । काँग्रेसको नयाँ सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनले लगाउने भएको छ । त्यसका लागि आजै निर्वाचन हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ ।
प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति चयन प्रक्रिया दोस्रो चरणमा पुगेको हो । निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले निर्वाचन समितिको बैठक बसेर निर्णय गर्ने बताए ।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । काँग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ ।
पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले अब पुनः दोस्रो चरणको मतदान हुने भएको छ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।
काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।