काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनका प्रतिनिधिको सूची पठाउने समय थप गरेको छ । पुस ३ गतेसम्म प्रतिनिधिको नामावली पठाइसक्नुपर्ने भनिए पनि प्रदेश सम्मेलनमा भएको ढिलाइका कारण दुई दिन समय थपिएको हो ।
केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार प्रदेश सम्मेलनको बाँकी काम छिटो सम्पन्न गरी ५ गतेभित्र नामावली पठाउन निर्देशन दिएको सचिवालयले जनाएको छ ।
प्रतिनिधिको सूची आइसकेपछि पार्टीको स्थायी समिति बैठक बस्ने जनाइएको छ । पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा एक हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन् ।
सचिवालयका अनुसार पालिकादेखि प्रदेश सम्मेलनसम्म अधिकतम सहमतिका माध्यमबाट नेतृत्व चयन भएको छ ।
माओवादी केन्द्र सदस्यता नवीकरणबाट सुरु भएको पार्टी सुदृढीकरणको अभियान सेल, टोल, वडा, स्थानीय तह हुँदै प्रदेश सम्मेलन सम्पन्न गरी राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ ।