काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनमा शक्ति प्रदर्शन नगरिने भएको छ ।
यही पुस ११–१३ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा हुने सम्मेलनमा अरू दलका नेताहरूलाई निम्तो पनि नदिइने स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए ।
पार्टीको महाधिवेशन नभएकाले अरू दलका नेता र विदेशी पाहुनालाई निमन्त्रणना नगरिने उनको भनाइ छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सम्मेलनमा करिब १५ सयजना सहभागी हुनेछन् ।
पुस ११ गते सम्मेलनको उद्घाटन गरिनेछ । १२ गतेदेखि बन्दसत्रको कार्यक्रम सुरु हुने केन्द्रीय कार्यालयले जनाएको छ ।
सम्मेलनमा दस्तावेज पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया प्रारम्भ हुनेछ । हालको विधान संशोधन नभए २९९ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ ।
विधान संशोधन गरेर ११–१५ जनासम्मको पदाधिकारी बनाउने तयारी पनि गरिएको छ ।
राष्ट्रिय सम्मेलनको केही समयपछि अर्को कार्यक्रममार्फत शक्ति प्रदर्शन गरिने नेताहरू बताउँछन् । राष्ट्रिय सम्मेलनबारे जानकारी गराउन भोलि पत्रकार सम्मेलन आयोजना गर्ने तयारी छ ।