शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

'कोरोनालाई चिठी'

  • 49.0K
    SHARES
  • https://indrenipost.com/posts/258
    जेठ २१, २०७७ बुधबार
    'कोरोनालाई चिठी'

    निस्ठुरी कोरोना,

    रातको बाह्र बजेको छ। हावा थामिएको छ । माथि आकाशमा बादल बिस्तारै बामे सर्दैछ। निद्रा लागेको छैन। पारिपट्टिको क्वारेन्टीनको गेटमा पुलिस बसिरहेको छ। उसले मोबाइलमा गीत बजाइरहेको छ। क्वारेन्टीन चुपचाप छ। सायद निदाइसक्यो। कोरोना तिमी चीन हुँदै नेपाल आउदा धेरैलाई थाहा नै भएन। युरोपबाट आउँदा भने केही खैलाबैला भयो। जब भारत हुँदै आयौ त सुनामी नै ल्यायौ। बन्दाबन्दीले दुई महिना नाघिसक्यो। आर्थिक गतिविधि ठप्प पारेर घरभित्र कैद हुनु र आसन्न त्रासले घिटिघिटी हुँदै बाच्नु कति डरलाग्दो होला भन त कोरोना। मन गह्रुङ्गो भएको छ। आकाशको बादल हेर्छु, स्वच्छन्द उडिरहेको छ। रातको निरवतालाइ चिर्दै एम्बुलेन्सको साइरन टाढा टाढासम्म नमिठोगरी गुन्जिरहेको छ। समय समयको कुरा हुदो रहेछ कोरोना,सधै शासकहरुको आदेश मात्र कहाँ चल्दो रहेछ र पृथ्वीमा । कहिलेकाही आखाले देख्न नसकिने ,कानले सुन्न नसकिने तिमी जस्तै भुसुनोको संकेत पनि मानव प्रभुत्वका निमित्त जबर्जस्त आदेश बनिदिदो रहेछ। तिम्रो आगमन मात्रले पनि यहाँ विश्व सत्ता हल्लिएको छ । हजारौं विनाशकारी हतियारहरु सिरानीमा राखेर शासक आइसोलेसनमा सुत्न बाध्य छ। शासकहरु तिम्रो आगमनमा एक अर्कालाई दोषी देख्छन् । एक आपसमा झगडा गर्छन् । मुख छोप्ने मास्क लुट्न बाध्य हुन्छ विश्वको महाशक्ति । कोरोना तिम्रो तापले शासनको मुखौटो र लङ्गौटी पग्लिएको छ । उसको असली रुप उदाङ्गिएको छ।

    नेपालमा प्राय: धेरैजसो वस्तु दक्षिणको बाटो हुँदै आउने गरेको छ। यहाँ लामोसमयसम्म शासन गर्ने राजखलकका पुर्खा उतैबाट आएका थिए। काङ्ग्रेस र कम्युनिस्टहरु पनि त्यहीबाट नेपाल पसे। दाल चामल,आलु, प्याजदेखि हामीलाई दैनिक जीवनमा आवश्यक पर्ने धेरै वस्तुहरु दक्षिणबाट आउने गरेका छन् । यताबाट उता जाने मालसामान धेरै कम छ। आर्थिक वर्ष २०७४/०७५ मा भारतबाट नेपालले आठ खरव दस अरव नब्बे करोड नेपाली रुपैयाको सामान किनेको थियो। भारतसङ्गको व्यापार घाटा छ खरव नेपाली रुपैयाभन्दा धेरै छ। बन्दाबन्दीपश्चात नेपालले चार अरवभन्दा बढी रुपैयाको तरकारी मात्र भारतबाट किनेको छ। यसरी हेर्दा नेपालको भान्सादेखी सत्तासम्ममा दक्षिणको कुनै न कुनै खाले वर्चस्व छ।

     नेपालका लाखौ नागरिकले भारतको बजारमा कौडीको मुल्यमा श्रम बेच्नु परेको छ। भारतमा काम गर्ने तिनै नेपालीहरुमा पसेर तिमीले नेपालका गाउँबस्तीसम्मको यात्रा गर्यौ। मान्छेको गतिशील जीवन र यातायातको सुगमताले तिम्रो विश्व यात्रालाई सहज बनाइदियो। तिम्रो संक्रमण बढ्न थालेपछि भारतले नेपाली लगायत अन्य आप्रवासी कामदारहरुलाई घर फर्किन आग्रह गर्यो। भारतको निमित्त रगत, पसिना बगाउने दाजुभाइको परीक्षणको उचित व्यवस्था नै नगरी सरुवा रोगसम्बन्धी अन्तर्राष्ट्रिय कानुन र मान्यताको वेवास्ता गर्दै वहाहरुलाई नेपाल पठाइयो। यता नेपालले भारतबाट फर्किने नागरिकहरुको लागि आवश्यक परीक्षणदेखि क्वारेन्टिन, आइसोलेसन आदिको पुर्वतयारी गरेको थिएन। बन्दाबन्दीको शुरुआतमा सामाजिक सञ्जालमा देखा परेका क्वारेन्टिनहरु भारतबाट नेपाली नागरिकहरु फर्किनेबेलासम्म गायव भैसकेका थिए या हात्तीको मुखमा जिरा साबित भएका थिए। क्वारेन्टिन सम्झेर दुखी बनेको तिमी क्वारेन्टिन देखेपछि भने खुशीले दङ्ग परे हौला। कमजोर व्यवस्थापन र भिडभाड तिम्रो निमित्त राम्रो अवसर थिए। मेरो मनमा अनेकौ तर्कहरुको ज्वारभाटा चल्छ। भारत जानुहुने दाजुभाइलाइ नेपालमै काम लगाउन सकिन्न र ? भारतबाट आयात गरिने कृषिजन्य वस्तु लगायत धेरै वस्तु त हामी यहि उत्पादन गर्न सक्थ्यौ । बिडम्बना भन्नुपर्छ बन्दाबन्दीमा तरकारी समेत भारतबाट आइरहेको छ। तर नेपालमा उत्पादित तरकारीले बजार पाउदैन। त्यतिकै सडेर जान्छ। स्थानीय उद्योगले कच्चा पदार्थ पाउदैन। हाम्रो जडिबुटी, ढुङ्गा  लोक्ता आदि कच्चा पदार्थ सस्तोमा भारत जान्छ। भारतीय पुजीले नेपालको बजारमा एकछत्र राज गरेको छ। यसको बदलामा सिमित बिचौलिया र सत्ताधारीहरुले कमिसन पाउने बाहेक अरु कुनै फाइदा छैन। भारतको बजारले तिम्रो बिस्कुन नेपाली आगनमा सुकाइरहेको यो क्षण लिपुलेख ,कालापानी र सुस्ताको घामछाया पनि त्यतिकै चर्चामा छ। उहिल्यै नक्शाबाट छुटेको उक्त भूभाग समेटेर नेपाल सरकारले नक्शा जारी गरेको छ। यो कदमले आम नेपालीको रोग प्रतिरोध क्षमतालाइ बढाउन मद्दत गरेको छ अर्थात खुशी थपेको छ। धेरै नेपालीको अपेक्षा छ, यो खुशी तिम्रो कहरभन्दा लामो समयसम्म, अनन्तसम्म टिकोस।

    थाल ठटाए पनि, दियो जलाए पनि या जुनसुकै धार्मिक अनुष्ठान गरे पनि तिम्रो प्रवाहलाई भारतले पुरै रोक्न सकेन। धार्मिक आस्थाका केन्द्रहरुमा भिडभाड हुनबाट रोक्न ताला लगाइयो भने पुजारीहरुले मास्क लगाउनुपर्यो। कोरोना तिमिले सबैभन्दा धेरै दुख गरिब मजदुरहरुलाइ दियौ। भनिन्छ, भारतमा झन्डै चालीस करोड मानिस दैनिक कमाइमा बाच्छन। बन्दाबन्दीले उनिहरुको दैनिक रोजगार छिन्यो। आफ्ना गाउहरु छाडेर शहर पसेका मजदुरहरूसङ्ग आफ्नो भन्नू त्यही सुदुरको गाउँ बाहेक केही रहेन। शहरहरुबाट पुलिसको आँखा छलेर मानिसहरु बाध्यकारी क्याराभानमा निस्किए। कैयौ दिनसम्मको यात्रामा भोक र थकानले तिमिलेभन्दा बढी सताए। विशाल अर्थतन्त्रको मेरुदण्ड मजदुरवर्गको क्याराभान आधुनिक इतिहासको ठूलो परिघटना हो। यसका परिणामहरु हेर्न केही समय कुर्नु पर्नेछ । उत्तरतर्फको छिमेक चीनमा भने मजदुरहरुको अनन्तसम्मको क्याराभान निस्किन परेन। अमेरिकाले रोजगार गुमेकाहरुलाई भत्ताको व्यवस्था गर्यो। भारतले बन्दाबन्दीको लामो समयपश्चात रोजगार गुमेकाहरुका निमित्त रेल संचालनमा ल्यायो। त्यही रेल चढेर तिमी मेरो गाउसम्म आइपुग्यौ । यात्रा तिम्रो कठिन रह्यो या सहज तिमिलाइ नै थाहा होला ,तिम्रो आगमन भने हाम्रो निमित्त कठिन साध्य भएको छ। लामो समयपछि घर फर्किएका आफन्तहरु घर जान पाएका छैनन् । कतिलाई तिम्रो संक्रमणले क्वारेन्टिनबाट आइसोलेसन पुर्याएको छ। दुल्लुस्थित क्वारेन्टिनमा एकजनाको अचानक मृत्यु भएको छ। ती युवाको मृत्यु त के कारणले भयो थाहा छैन, तर जिम्मा तिम्रै आएको छ। तिम्रो उपस्थितिका कारण अन्य स्वास्थ्य समस्याहरुले मनपरि गर्न पाएका छन् । यो अवस्थामा अन्य रोगको उपचार दुर्लभ छ। किटको अभाव छ, जनशक्तिको अभाव छ। तसर्थ परिक्षणमा ढिलाइ भएको छ। अबको एक महिनामा तिम्रो संक्रमणको उच्च रुपको सामना हाम्रो देशले गर्नु त छदैछ।

    बस्तुस्थितीले मानिसको चेतनामा प्रभाव पार्छ। धारणा बनाउन मद्दत गर्छ। तिम्रो कारणले क्वारेन्टिन ,आइसोलेसन, स्यानिटाइजर जस्ता नामहरु सर्वसाधारणको जिब्रोमा झुन्डिएका छन् । मानिसहरुले हात मिलाउन छाडेका छन् । भिड नगरी काम गर्न सकिने विकल्पहरुको खोजी हुन थालेका छन् । मानिसलाई तिमिले त चिनेकै छौ नि यो सजिलै हार मानेर भाग्ने प्राणी होइन । यो त सास रहेसम्म कठिनाईहरुसङ्ग लडिरहन्छ। उपायहरुको खोजीमा डटिरहन्छ। तिम्रो कारण पुँजीवादलाई थोरै मात्रामा भए पनि संकट परेको छ। यसले आफुलई टिकाउन विभिन्न बहाना खोजिरहेको छ। हिजो अस्पतालमा एकजना डाक्टरले तिमिलाइ प्रयोगशालाबाट पोखिएको भाइरस भन्दै थिए। तिम्रो बारे थुप्रै मिथकहरु,भ्रमहरु योजनाबद्ध हिसाबले प्रचारमा ल्याइएका छन् । तिमी प्रयोगशालाबाट पोखिएको भन्ने प्रचारसङ्ग म भने सहमत छैन। अमेरिकि सत्ताले आफ्ना केही मानवताविरोधी हर्कतहरुको ढाकछोप गर्न ,चीनको बढ्दो प्रभावलाई कम गर्न यस्तो आरोप लगाएको हुनुपर्छ । उसले अकारण विश्व स्वास्थ्य संगठनमाथी लान्छना लगाएको छ। पुजीवादको संक्रमण तिम्रो संक्रमणभन्दा कम घातक हुदैन। यसले आफ्नो सम्पर्कमा आउने सबै सामाजिक प्रणालीलाई ध्वस्त गरिदिन्छ ।

    कोरोना तिमी के बाट मानिसमा सर्यौ, त्यो खोजको विषय हो। तिमीबाट मानिसले निजात पाउने कुरा पनि अनुसन्धानकै कुरा हो। तिमी त्यति धेरै घातक छैनौ र पनि विश्वमा यसपटक धेरै चर्चा र महत्त्व पायौ। तिम्रो देश, भेग र नागरिकता त हुँदैन । तर पनि तिमीले शुरुमा त्यस्ता देशहरुको सैयर गर्यौ जुन देशहरु विश्व क्यानभासमा कुनै न कुनै हिसाबले चर्चामा रहेका मुलुक थिए । त्यसकारणले तिम्रो भाउ बढ्यो। अब मानवजातीलाई तिमीले धेरै सताउनु हुँदैन । मानवबस्तीबाट विदा हुनुपर्छ र आफ्नै प्राकृतिक होस्टमा रहनु राम्रो हुन्छ।

    तिम्रो विदाईमा आतुर एक मनुवा।

     

     


     

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij