(लेखक नेकपाका नेता तथा आदिवासी जनजाती महासंघका केन्द्रीय सदस्य हुन्)
देशले कोरोना महामारी, आर्थिक संकट र सीमा अतिक्रम विरुद्ध एकसाथ लड्न राष्ट्रिय एकता खोजिरहेको छ । तर यही बेला सत्तारुढ नेकपाभने आन्तरिक अन्तरविरोधमा नराम्रोगरी फसिरहेको छ । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो वेला राष्ट्रिय सहमतिको बाटो खोज्नुपर्नेमा सबै कुरा आफैमा केन्द्रीकरण गर्न खोजिरहनुभएको छ । गम्भीर विषयहरुमा पनि हल्का रुपमा अभिव्यक्ति दिने, पार्टीभन्दा आफूलाई ठूलो ठान्ने अंहकारी प्रवृतिले देश थप संकटको दिशातर्फ धकेलिने संकेत देखिन थालेको छ । यो समय प्रधानमन्त्रीले संयम्ता अपनाउन जरुरी छ ।
देखा परिरहेको डरलाग्दो आर्थिक संकटबा मुलुकलाई कसरी जोगाउन सकिन्छ ? महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसलाई नियन्त्रण गर्दै बन्द भएका व्यापार व्यवसाय कसरी संचालनमा ल्याउन सकिन्छ ? सरकारप्रति गुमेको नागरीक विस्वास कसरी पुनस्र्थापना गर्न सकिन्छ ? प्रधानमन्त्रीले कतिसम्म लचकता अपनाउँदा राष्ट्रिय संकटसँग जुध्न राष्ट्रिय एकता कायम हुन्छ ? देशको आन्तरिक उत्पादनलाई कसरी बलियो बनाउन सकिन्छ ? साथै विग्रदै गएको पार्टीलाई एकढिक्का बनाएर सरकार र पार्टीबीचको सहकार्यलाई कसरी एकाकार बनाउन सकिन्छ ? यस्ता अनेक सवालहरुको व्यवस्थापन गरेर मुलुकलाई राजनीतिक स्थायीत्व दिनेतर्फ प्रधानमन्त्रीको मुख्य ध्यान हुनुपर्ने थियो तर त्यस्तो भइरहेको छैन ।
पार्टी र आम जनताले ओली सरकारबाट जे अपेक्षा गरिरहेको छ त्यो भइरहेको छैन्, जे नहोस् भन्ने सोचेका थिए त्यो भइरहेको छ । प्रधानमन्त्री भाषण गर्दा भन्नुहुन्छ– भ्रष्टचार गर्दिन र गर्न पनि दिन्न । खुलआम भ्रष्टचार भएको कुरा उठायो भने फेरि भन्नुहुन्छ– सरकारले राम्रो गरेको नदेख्ने, प्रचार नगर्ने भनेर उल्टै मिडियालाई गाली गर्नुहुन्छ । जनता सेवा र सुविधाको डेलिभरी खोजिरहेका छन्, तर उहाँ हावादारी कुरा डेलिभरी गरिरहनुभएको छ । यो नेकपाका लागि, देशका लागि र समाजवादी आन्दोलनका लागिसमेत दुर्भाग्यपूर्ण कुरा हो ।
एकातिर देशमा कोरोनाको महामारी तीव्र रुपमा बढिरहेको छ, अर्कोतिर कोरानाका कारण गरिएको लकडाउनले निम्त्याएको समस्याले आत्महत्या, बलत्कार र अन्य रोगको उपचार नपाउँदा मर्नेहरु हजारौं पुगिसकेका छन् । त्यसकारण सरकारले कम्तीमा अन्य कुरा छोडेर, व्यक्तिगत लाभ हानीभन्दा माथि उठेर सरकारले जनताका स्वाथ्यको प्रबन्ध राम्रो गर्नुपर्दछ । ढिलै भएपनि सरकारले तुरुन्तै कोरोना भाइरसको पीसीआर परिक्षण गर्ने मेसिन हरेक वडासम्म पुर्याउनु पर्छ । कोरोना महामारी नियन्त्रणमा भएको दश अर्ब खर्चबारे आम नागरिकले प्रश्न गरिरहेका छन् । स्वास्था सामग्री खरिद प्रक्रिया भ्रष्टचार भएको विषय पनि बलियो रुपमै उठेको छ । यसबारे गम्भीर रुपमा छानविन गरेर दोषीमाथि कडा कारबाही गरिनुपर्दछ । यी प्रकणरणहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नै प्रश्न उठेको छ । केही अघि उहाँले ल्याउनु भएको अध्यादेश काण्डदेखि आफ्ना गुटका नेताहरुले गरेको खुलेआम भ्रष्टचारकोसमेत संरक्षण गरिनु र अहिले पदका लागि पार्टी विभाजनसम्मको धम्की दिनुले उहाँको उचाइ खस्केको छ । देश, जनता र पार्टीभन्दामाथि उहाँ हुनसक्दैन ।
नेकपासँग जनताको अपेक्षा
म नागरिकले देखेको साझा सपना हो– देशको विकास र समृद्धि । विकास र समृद्धिको सपना पुरा होला कि भनेर नै नेकपालाई दुईतिहायी मत दिएका थिए । त्यसकारण नेकपा र नेकपा नेतृत्वको सरकारको मुख्य कार्यभार जनमतसँग साटिएको विकास र समृद्धिको सपना पुरा गर्नु हो । तर जनतासँग गरेको बाचा विर्सेर नेकपाका नेताहरु गुट र शक्तिको खेलमा लाग्नु कुनै हालतमा बाञ्छनीय हुनसक्दैन । पार्टी एकता गर्दा आम लिडर, क्याडर र नागरिकमा जुन उत्साह भरिएको थियो अहिले पार्टी फुटको व्यापक हल्ला र शीर्ष नेताहरुबीचको झगडाले त्यतिकै निराश पनि बनाएको छ । त्यसकारण पार्टी टुटफुटको कुरा हामीजस्ता पार्टीका क्याडरहरुलाई किमार्थ स्वीकार्य हुनसक्दैन । त्यसो गरियो भने जनताले र इतिहासले पनि नेकपाका वर्तमान नेतृत्वपंक्तिलाई माफि दिने छैन् । यो कुरा हेक्का राख्न जरुरी छ । पार्टीलाई योभन्दा अझ बलियो बनाउनेतिर नेताहरुले सोच्नुपर्दछ ।
नेताहरुले खेल्नुपर्ने भूमिका
पार्टीभित्र एकअर्कोलाई आरोपप्रत्यारोप लगाउने काम बन्द गरिनुपर्छ । एकताबाट भाग्ने छुट सकैलाई छैन । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेला-बेला भन्ने गर्नुहुन्छ हामी जहाँबाट आयौं, त्यो पुल भत्किसकेको छ । अब त्याता फर्कन संभव छैन । त्यसकारण बाटो खन्दै भएपनि अगाडि बढ्नुको विकल्प छैन् । यो कुरालाई सबैले आत्मसाथ गर्न जरुरी छ ।
नेताहरुले पार्टी एकता गरेर देशलाई निकास दिन खेलेको भूमिका गौरवपूर्ण छ तर अहिले उहाँहरुको झगडाले उहाँहरु आफैले बनाउनु भएको इतिहासकै अपमान भइरहेको छ । त्यसकारण पार्टीमा देखा परेको आन्तरिक समस्याको तत्काल समाधान गरेर देशलाई निकास दिने योजना नेकपाका प्रमुख नेताहरुले सहमतिको दस्तावेजको रुपमा ल्याउन सक्नुपर्छ । अन्यथा उहाँहरु राजनीतिक जीवनको उत्तरार्धमा असफल र अयोग्य सावित बन्नुहुने छ । यतिवेला पार्टी विभाजन जो कुनै नेताले गरेपनि राष्ट्र र जनताप्रति धोका हुन्छ । संकटको वेला आफ्नो व्यक्तिगत स्वार्थसँग देश र जनताको भाविष्यमाथि जुवा खेल्न कुरा स्वाकार्य हुनै सक्दैन ।