शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

जनताले नेकपाको फुट होइन, एकता चाहेका छन्ः मुक्ति प्रधान

  • 31.5K
    SHARES
  • https://indrenipost.com/posts/285
    असार ३०, २०७७ मंगलबार
    जनताले नेकपाको फुट होइन, एकता चाहेका छन्ः मुक्ति प्रधान

    लामो समयदेखि गरीबीको जाँतोमा पिल्सिदै आएका आम जनता विकास र समृद्धिको व्यग्र प्रतिक्षामा थिए । नेपालको राजनीतिक इतिहासमा जनताको त्यो अपेक्षा पूरा गर्ने अवसर सत्तारुढ नेकपाले पाएको थियो । तर नेकपाले अब त्यो अवसर लगभल गुमाएको छ । पार्टी र सरकार सहकार्यमा संचालन गर्न सकेको भए नेकपाले सायद समृद्धिको सपना एक हदसम्म सम्बोधन गर्न सक्थ्यो । तर नेकपाका नेताहरु विगतको अन्तर्विरोधलाई मुख्य इष्सु बनाएर निषेधको खेलमा उत्रिए । पार्टी प्रचण्ड, ओली र नेपाल समूहको संयुक्त मोर्चाजस्तो देखियो । तत्कालका लागि पार्टी फुट टरेको देखिए पनि नेताहरुबीचको द्वेष भुसको आगो झै सल्किरहेकै छ । यिनै समसामयिक विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य मुक्ति प्रधानसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ– सम्पादक ।

    (लेखक पूर्वमहान्याधिवक्ता तथा नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ ।)


    नेकपा विभाजनको संघारमै पुग्न लागेको हो ?

    केही विषयमा छलफल,वहस हुने वित्तिकै विभाजन नै पाे हुने हो कि भन्ने मानसिकता हामीमा छ । विगतमा नेपाली कम्युनिष्ट आन्दोलनमा पटक-पटक विभाजनको घटना र परिघटनाबाट गुज्रदै आएकोले त्यो आकलन स्वभाविक छ । पुरानो फुटका घटनाले पार्टीका नेता, कार्यकर्ता र जनतामासम्म त्यो त्रास मेटीएको छैन । त्यसैले कतै पार्टी नै टुक्रिने अवस्थामा त पुग्दैन? आसंकाहरु विभिन्न घटनाक्रमले देखाइरहेको छ । तर पार्टी फुटको पक्षमा कोही छैनन् । सवै तहका नेता कार्यकर्ता र कम्युनिष्ट आन्दोनलन पक्षधर नेपाली जनता पार्टी एक ढिक्का हुनुपर्छ भन्नेमा सहमत छन् । पार्टी फुटको कुरा गर्नेहरु हाम्रो पार्टी विरोधिहरु हुन् । पार्टी कुनै हालतमा फुट्दैन । यसमा ढुक्क भए हुन्छ ।

    पार्टीभित्रको अन्तर्विरोधको चुरो दुई अध्यक्षको जुंगाको लडाई हो कि विचार र कार्यशैलीको हो ?

    पूर्वमाओवादी र पूर्वएमाले यी दुवै पार्टी नेपालमा आ‐आफनो विचार र राजनीति अख्तियार गरि शत्ता सम्हाल्दै आएका हुन् । यी दुवै पार्टीेको एकता गर्ने निर्णय भएपछि देशीविदेशी कम्युनिष्ट विरोधि शक्तिहरुको दिमागमा भूइँचालो जानु स्वभाविक थियो । प्रारम्भदेखी नै पार्टी एकता प्रकृयालाई टुंगोमा पु–याउन दुई अध्यक्ष निर्भिकतापूर्वक लागिपर्नु भयो, अहिले पनि बाँकि कामको लागि लाग्नु भएकै छ । कतिपय महत्वपूर्ण विषयहरु छलफल गर्दै प्रकृया पुरा गर्दै अगाडि बढ्ने क्रममा मुख्यतः सरकारको मोर्चा र पार्टीबीचमा छलफल गर्नु पर्ने विषयहरुमा केही अन्योलताहरु श्रृजना भएको देखिन्छ । गत केन्द्रीय समितिको वैठकसम्म नेतृत्व विचमा राम्रै छलफल हुँदै आएको सवैले अनुभूति गरेकै विषय हो । केन्द्रीय समितिको वैठकपछि विषेशतः सचिवालयको वैठकको परिदृष्यहरु, अध्यादेश फिर्ताका प्रकरण, कोभिड-१९ सम्वन्धी संयन्त्र निर्माणको प्रकरण र प्रधानमन्त्री र कार्यकारी अध्यक्षबीच हुनु पर्ने निरन्तर छलफल र कार्यान्वयनको विषयमा वुझाइको एक रुपताबारे सरकारको नेतृत्व गर्ने अध्यक्ष र पार्टीकाे नेतृत्व गर्ने अध्यक्षबीच पार्टी एकता यता सम्पन्न गर्नुपर्ने बाँकप प्रकृयागत विषयमा भएका छलफलमा अपनाउनुपर्ने विधि, पद्धति, जिम्मेवारी, उत्तरदायित्व र भूमिकाकै विषयमा छलफल भएका हुन् । दुई अध्यक्षबीचको जुंगाको लडाईभन्दा पनि जनताले नेपालको इतिहासमा कम्युनिष्टहरुलाई दुई तिहाईको हाराहारीमा मत प्रदान गरे, जनता पार्टीसंग धेरै आका‌क्षी र आशावादी छन् । जनताको हक हितमा कसरी काम गर्नु पर्छ, त्यस्को ठोस जिम्मेवारी र पद्धति निर्माणबारे भएको छलफलह हुन्। छलफल विना पार्टी चल्न सक्तैन । आतिहाल्नु पर्ने अवस्था म चाहीँ देख्दिन ।

    पार्टीले सरकार चलाउने कि सरकारले पार्टी भन्ने शक्ति संघर्षले पैदा गरेको अन्तरविरोध हो पनि भनिन्छ नि खास कुरा के हाे ?

    यो विषयलाई हामीले गहिरो रुपमा वुझन जरुरी छ । नेपाली कम्युनिष्ठ आन्दोलनले चीन, भेयतनाम, रुस र उत्तर कोरियारमा जस्तो युद्धबाटै सत्ता हासिल गरेको होइन । नेपाली कम्युनिष्ठ आन्दोलनको विशिष्ठता र मौलीकता फरक छ । कम्युनिष्ट पार्टी पटक पटक निर्वाचनको माध्यामबाट सरकारमा जाने र सरकार चलाउने अवसर पाएको छ । अहिले दुई तिहाईकै सरकारको नेतृत्व कम्युनिष्ट पार्टीले हासिल गरेको छ, तर पूर्णसत्ता कम्युनिष्टको होइन । ५ वर्षको म्याण्डेटमा निर्वाचित भै सरकारकाे नेतृत्व हासिल गर्न सफल भएको मात्र हो ।

    कुरा के विर्सन हुँदैन भने यो प्रणाली संसदीय प्रणाली नै हो । कम्युनिष्ट प्रणाली होइन । यहांनिर विरोधिहरुले कम्युनिष्ट सरकार भनेर आलोचना गर्ने र कम्युनिष्ट समर्थक जनताले पनि पुरा कम्युनिष्ट सरकारकै रुपमा वुझदा सैद्धान्तिक रुपमा केही असपष्टता देखा पर्दै गएको छ । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले सामन्ती सरकारको विकल्पमा कम्युनिष्ट सत्ता स्थापनाको लागि लामो संघर्ष गरेको छ । लाखौं जनताले त्याग, तपस्या र उत्सर्ग गरेको सवैको सामु जगजाहेर छ ।

    तर २०४६ सालको जन आन्दोलनले बहुदल र २०५२ देखि जनयुद्ध शुरु भै १२ बुँदे सम्झौताबाट, २०६२/०६३ को जनआन्दोलन र वृहत शान्तिसम्झौता, अन्तरिम संविधान, अन्तरिम सरकार, संविधानसभाको पहिलो निर्वाचन, दोश्रो निर्वाचन, संघियतासहितको नयाँ गणतन्त्रात्मक नयां संविधान र कम्युनिष्टहरुलाई वहुमतको सरकार गठन गर्ने जनादेशले नेपाली कम्युनिष्ट आन्दोलनले छुट्टै विषेशता हासिल गर्दै आएको छ । यी उपलब्धीहरुलाई श्रमीक जनताको पक्षमा, उत्पीडीत र युगौदेखि दमनमा परेको जनताको हकाधिकारको पक्षमा पार्टी र सरकारले निर्मम रुपमा विगतका सामन्ती राजतन्त्रका अवषेशहरु र यथास्थितिवादी प्रवृति विरुद्ध लड्दै नेपाली श्रमिक उत्पीडीत जनतालाई सवोधन गर्ने नीति र कार्यक्रम पार्टीले गहन रुपमा तर्जुमा गर्ने र यस्को ठोस प्रभाकारी कार्यान्वयन सरकारले गरेको भए पार्टीमा अन्योलता श्रृजना हुने थिएन । तर विभिन्न प्रवृतिले श्रृजना गरेको कृतिम समस्याहरु , जनता र कार्यकर्ताको तहभन्दा हामी माथी छौ भन्ने जनप्रनितिहरुको प्रवृतिगत समस्या , पार्टी र सरकार सन्चालनमा एक रुपताको कमी, जनप्रनिनिधि र पार्टी प्रतिनिधिबीचको समन्वयको अभाव, जस्ता महत्वपूर्ण विषयमा पार्टीमा विलकुल छलफल नहुने, सरकारका गतिविधि पार्टीलाई जानकारी नहुने, सरकार विरोधि गतिविधिमा पार्टीले प्रतिरक्षा गर्ने की नगर्ने ? अन्योल हुने, स्थानिय सरकार देखी संघिय सरकार सम्म विद्यमान यी समस्याले पार्टीले सरकार चलाउने की सरकारले पार्टी ? भन्ने व्यवहारिक समस्या देखा परको हो ।

     

    109122266_758671434877963_8631633489095529771_n.png

    वास्तवमा पार्टीले नै सरकार चलाउने यो त संसदीय प्रणालीको सामान्य प्रकृया हो । तर हाम्रो पार्टी त कम्युनिष्ट पार्टी निर्वाचनको वेला आफनो घोषणापत्र जनताको अगाडि पेश गरेर जितेको पार्टी भएकोले पार्टीले सरकार चलाउने कुरामा कुनै दुविधा हुन नपर्ने थियो । तर अभ्यास त्यस्तो नभएकै कारणले पार्टीले सरकार संचालन गर्न नसकेको हो की सरकारले नटेरेको हो भन्ने विषय जनता विच छलफल भएको छ । यो विषयालाई छलफलबाट टुग्याउन सकिन्छ । संघियता नयां अभ्यास भएको कारणले पनि कतिपय विषय थाहा हुँदाहुँदै पनि अभ्यासमा चुकेको हुन्छ । यो विषय अव प्रष्ट हुँदै जान्छ ।

    पार्टी अध्यक्ष के.पी.ओलीको कार्यशैलीलाई कसरी नियाल्नु भएको छ ?

    प्रधानमन्त्री के.पी.शर्मा ओली हाम्रो पार्टीको अध्यक्ष र प्रधानमन्त्री हुनुहुन्छ । उहाँ हाम्रो सम्मानित र आदरणिय व्यक्तित्व पनि हुनुहुन्छ । उहाँको विषयलाई विभिन्न कोणबाट वौद्धिक जगत र विभिन्न अन्य क्षेत्रबाट टिका टिप्पणी गरि रहेका हुन्छन् । तर उहाँ मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको हैसियतले गरेका काम कारवाहीमा सवैको चित्त नवुझन सक्छ । आलोचना र टिका टिप्पणी सकारात्मक रुपमा गर्नु, सुझाव दिनु , छलफल गर्नुलाई अन्यथा मान्न हुँदैन । लोकतन्त्रको विषेशता नै आफ्नो विचार स्पष्ट रुपमा राख्न पाउनु , वयैक्तिक स्वतन्त्रताको रक्षा, कानूनी शासन, मानव अधिकार र स्वतन्त्र न्यायपालीका वहाली हो । यो अधिकार जो सुकै सरकार आए पनि अपहरित हुन सक्तैन । तर वंहाको कार्यशैलीको विरोधको नाममा अपमानजनक शव्दहरु प्रयोग गर्नु , विगतलाई अनावश्यक रुपमा तन्काउनु , कम्युनिष्ट भएकोले जस्तो सुकै राम्रो काम गरे पनि गतलढंगले हेर्नु नेपाली समाजकोमा विद्यमान नकारात्मक पक्ष हुन । वहां पनि एउटा मानिस हो , कमी कमजोरी , त्रुटी हुन सक्छ , त्यसलाई सच्याउन , ठिक ढंगले चल्न , जिम्मेवारी वोध गर्न , कम्युनिष्टहरुको नेतृत्वको सरकारको रुपमा विषेशतः वहांले रक्षा गर्नु पर्ने श्रमिक वर्ग , विगतका शासकहरुले उत्पीडनमा परेकालाई मुक्त गर्ने विषयहरु , सरकारको निति कार्यक्रमहरु व्यवहारिक छ छैन, छलफल गर्नु सरकारको कार्यशैलीमा विद्यमान त्रुटीलाई सकारात्मक रुपमा अ‍ौल्याउने हो ? तर व्यक्तिगत लालछनाको स्तरमा उत्रनु राम्रो होइन । हरेक विषयलाई राजनीतिक र वयैक्तिक कोणबाट मात्र हेर्न हुँदैन । सच्याउने र सुझावको रुपमा स्वस्थ आलोचना गर्न कसैले रोकन सक्तैन । निरंकुशता र लोकतन्त्रको फरक नै यसैमा छ । सार्वजनिक पदमा वसे पछि , सामुहिक जिम्मेवारी वहन गर्नु पर्छ , पार्टीको प्रतिनिधिको हैसियतले पार्टीले दिएको म्याण्डेटको दायरामा रही काम गर्नु पर्छ । जनताले जिम्मेवारी पार्टीलाई दिएको हो , पार्टीले विभिन्न पद विभिन्न जिम्मेवारी नेतृत्व गर्न तत् तत् नेतालाई दिएको हुन्छ , त्यस्को जिम्मेवारी वोध गर्नु पर्छ , विगतका राजतन्त्रमा जस्तो रानीको पेटमा आएको जेठा छोरा स्वतः राजा भएको जस्तो होईन । प्रत्यक ५ वर्षमा आफु वा आफनो पार्टी जनताको विचमा गै विजय हुनु पर्ने भएकोले हाम्रो पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले यो विषय वुझनु भएको छैन भन्न म सक्तिन ।

    प्रवृतिगत लडाइँले पार्टीको भविष्य खतरामा प–यो हैन ? वदलिंदो विश्व परिवेस अुनसारको विचारधारा र कार्यशैली नभएर पार्टी दिशाहिन हुँदै गएको छ भन्न मिल्छ ?

    विश्व कम्युनिष्ठ आन्दोलन रक्षात्मक चरणमा अगाडी वढी रहेको निश्चित हो । तर नेपालको परिवेस अलि फरक ढंगले अगाडी वढ्यो । दोश्रो विश्वयुद्ध पछिका दिनहरुमा समाजवाद र पूजिवाद विचको विवाद निकै चरम उत्कर्षमा पुग्यो । निरंकुशता र पूजिवाद विचको अन्तरविरोध , पूजिवाद र समाजवाद विचको अन्तरविरोध हुदै , अव विश्वमा माक्र्सवादको नयां प्रयोगको विषयमा छलफल अगाडी वढी रहेको छ , माक्र्सवादले विकास गरेको वर्ग संघर्ष , सर्वहारावर्गको अधिनायकत्व , उत्पादका साधानमा श्रमिकको स्वामीत्व र किसान मजदुरको नेतृत्वको सरकार , जस्ता विषयहरुमा फिक्कापन देखा पर्दै गएको छ । वर्तमान विश्वमा माक्र्सवादको प्रयोग वारे छलफल अत्यन्तै कम हुदै गएको छ । दलाल पूजिपति , एकाधिकारवाद र दलाली सस्कारको कारणले राष्ट्र्ीय पूजिपति र नवउद्धारवादी शक्तिहरु समेत गल्न वाध्य भएका छन् । कोभिड १९ पछि विश्व अर्कै चरणमा प्रवेश गर्ने हो की ? कस्तो परिदृष्य हुन्छ , आंकलन गर्न गाह्रो छ । त्यसैले विश्वकै लोकतन्त्रवादीहरु एकाधिकारवादी तत्वहरुवाट सचेत हुदै विश्वलाई प्रतिगमनबाट वचाउने निति लिन जरुरी छ । यस स्थितिमा नेपालको सन्दर्भमा पहिलो सवै लोकतन्त्रवादीहरु प्राप्त लोकतन्त्र र गणतन्त्र सहितको संघियता वचाउन सवै राजनैतिक शक्ति एकजुट हुन जरुरी छ । यस्को रक्षाको विचबाट मुलुकलाई सवैखाले संकटबाट मुक्त गरि प्रतिस्पर्दात्मक सम्वृद्ध नेपाल , सुखी नेपालीको उदेश्यलाई साकार पार्न देशको राष्ट्र्यिता र आर्थिक उन्नतिमा एकजुट भै जनताको अभिमतको आधारमा सरकारको नेतृत्व चयन हुन जरुरी छ । सत्तामा गएपछि जनता र पार्टी विर्सने सस्कार कायम रहनु हुदैन । यस्ले देशलाई दुर्घटना तर्फ लैजान्छ । अन्तराष्ट्र्यि रुपमा नेपाल चरम रुपमा विवादमा पर्ने कार्य गर्न हुदैन । यी विषयमा पार्टीले समयमै ध्यान केन्द्रीत गर्न जरुरी छ । यीनै पेरिफेरीमा पार्टी एउटा नयां उचाईको वहसमा जान जरुरी छ ।

    नेकपा नाम मात्रको कम्युनिष्ट पार्टी भयो हैन ?

    त्यसरी वुझन हुँदैन । नेपाल कम्युनिष्ठ पार्टी स्थापनाको यो ७० वर्षको दौरानमा अहिलेको अवस्थामा आउन धेरै त्याग , वलिदान र संघर्ष पार गदै आएको छ । यो नेकपा नेपाली श्रमिक र उत्पीडीत जनताको पार्टी भएकोले त्यसरी कसैको अनुमानमा सहजै ढल्ने र विघटन हुने शक्ति होईन । लामो संघर्ष , त्याग र वलिदानको रगतमा उभिएको पार्टी भएकोले यो नाम मात्रको पार्टी भन्न मिल्दैन । विश्व कम्युनिष्ठ आन्दोलन तर्फ फर्केर हे—यौ भने रुस , चीन , भियतनाम,उत्तर कोरिया र पश्चिम युरोपका कतिपय देशहरु र हाम्रै छिमेकी देश भारत , दक्षीण पूर्वी एशियाका थाईल्याण्ड , फिलिपिन्स  लगाएतका देशहरुका कम्युनिष्ठ आन्दोलन वारे हामीले गहन रुपमा वुझन जरुरी छ । कम्युनिष्ठ आन्दोलनभित्र विभिन्न टे्रण्ड र प्रवृतिहरु देखा परि रहेको हुन्छ । कुनै एउटा प्रवृतिलाई हेरेर समग्रह कम्युनिष्ठ आन्दोलनलाई वुझन हुँदैन ।

    कम्युनिष्ट आन्दोलन भनेको समाजमा विद्यमान समस्याहरुलाई वैज्ञानिक रुपमा हल गर्ने विषय हो । पूँजिवादी मान्यता जस्तो हुँदैन । वर्गहरु सक्रिय भैरहेको हुन्छ । यस्को गति यथास्थितिमा हुँदैन । एकपछि अर्को वैचारिक वहसका विषयहरु सतहमा आउँछ । त्यसलाई वैज्ञानिक पद्धति , समाज विकासका नियम अनुसार परिर्वन हुँदैजान्छ । विगतको राजतन्त्रकालको नेपाल र अहिलेको गणतन्त्रको नेपालमा आनका तान फरक भैसकेको छ । जनताको परिवर्तनको आकाक्षा वढी परिवर्तनको गति कम भएको कारणले कम्युनिष्ट समर्थक जन्ताहरु समेत सन्तोष देखीएका छैनन् । असन्तोष व्यक्त गर्दैमा कम्युनिष्ट आन्दोलनको गति अवरुद्ध हुने , पार्टीनै विघटन हुने होइन । विश्वमा कोरोना सक्रमण पछिका अवका विश्वले नयां मोड लिने संभावना देखीदै गएको छ । दोश्रो विश्वयुद्ध पछिको लोककल्याणकारी पूजिवादी अवधारणाले मात्र अवको विश्वलाई थेग्न सक्तैन । समाजवाद सहितको विश्व वारे अहिलेको विश्वमा नयां अन्तरविरोध सहितको वहस श्रृजना भै सकेका छ । विगतका लोककल्याणकारी राज्यले पूजिवाद तर्फ जुन विकास ग—यो त्यस्को विकल्पमा समाजवादी अवधारणाको विकास भए झै अवको विश्व विज्ञान र प्रविधिको विश्वको रुपमा विकास भए पनि कोरोना सक्रमण वारे वैज्ञानीक अनुसन्धान हुन र यस्को नियन्त्रण र उपचारको वारेमा वैज्ञानीकहरुले समयमै अन्वेषण गर्न नसकेको कारणले विश्वलेनै दुःख पाउनु प—यो , पाई रहेका छन् । विश्वका आविस्कार र चमत्कार जसरी साझा उपाभोग हुन्छ , त्यसरीनै नकरात्मक प्रभाव पनि साझा प्रतिकुल प्रभावको विषय हुन्छ । त्यसैले मानव जातिनको सोचमा न्युनतम रुपमा एउटा वर्ग , जाति, क्षेत्रको स्वार्थ भए पनि वृहद रुपमा विश्वकै लागी सोच निर्माण गर्नु पर्ने आजको विश्वको आवश्यता भएकोले कुनै पनि शासकहरु आफनो देशमा सिमीत हुन सक्तैन । उनको प्रत्यक क्रियाकलाप र स्वार्थ विश्वकै परिवेसमा हुन्छ । त्यसैले अवको अन्तरविरोध एउटा वर्ग र समाजमा मात्र सिमित नहुने भएकोले कम्युनिष्ठहरुले यसवारे पहिलेनै भनी सकेको छ , श्रमिक जाति अन्तराष्ट्र्यि जाति हो । यीनीहरुले विश्व परिवर्तनको वारे सोच्नु पर्छ भन्ने कुरा अहिले आएर पूँजिवादीहरुले वल्ल वुझे । कोरोनाको कहर पछिका दिनमा त्यसैले कुनै क्षणीक विषयलाई लिएर नेकपा नामको मात्र भयो भनी हामीले सम्झन मिल्दैन ।

    त्यसो भए नेकपाको वर्तमान कार्यभार के हो ?

    नेकपाको वर्तमान कार्यभार के हो भनी चुरो कुरा गर्नु पर्दा नेपाल विविध विषेशतायुक्त देश हो । यो देश सवै नेपालको देश हो भन्ने वुझन जरुरी छ । नीति निर्माण गर्दा नेपाली विषेशतालाई वुझ्न जरुरी छ । यहां हिमाल ,पहाड , तराईकाे भूगोल छ । विभिन्न जात जातिको विविधता उनीहरुले अवलम्वन गरेको सास्कृतिक धारोहर, पुर्खाले श्रृजना गरेको प्राचिन सम्पदा , वहुभाषीक पहिचन सहितको सस्कृतिलाई राज्यले पहिलो प्राथमिक्ता सहितको संरक्षण , सम्वर्दन र रक्षा गर्नु हो । अर्को युगौ देखी विभिन्न वहनामा भेदभाव, थिचो,मिचो गरेका उत्पीडीत, महिला, दलीत, मधेसी, आदीवासी जनजाति र अल्पसंरुख्यकहरुलाई राज्यका सवै तहमा उचित सम्मानपूर्वक प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्छ । गरीबी निवारण र रोजगार मुलक उद्योगको स्थापना सम्वृद्धि सम्वन्धी कम्पनी र उद्योगहरु सरकार र जनताको साझेदारीमा स्थापना गर्नुपर्छ । सामाजिक सुरक्षा, वालक, वृद्ध र असाहयलाई राज्यको उचित संरक्षण र जिविकाको वन्दोवस्ती , अपराध न्युनिकरण , स्वस्थ समाजको श्रृजना , सवैखाले दलाल , भ्रष्टचारी, विचौलेहरुको पार्टी भित्र र वाहिरी समाजमा अन्त , संघियता , गणतन्त्र , धर्मनिरपेक्षता र समानुपातिक समावेसीलाई संस्थागत गर्दै संविधानको प्रभावकारी कार्यान्वय , सम्वृद्धि र सुशसानको स्थापना गर्दै सम्वृद्ध नयां नेपाल निर्माणको अभियानमा नेपाली श्रमिक र उत्पीडीत जनताको सहभागीता सहितको सम्वृद्धिलाई मूर्त रुप प्रदान गर्ने कार्य तत्काल गर्नु पर्दछ । दीर्घकालिन रुपमा पार्टी भित्र र आम श्रमिक जनताको बीचमा नेपालको विशिष्ठतामा कम्युनिष्ट आन्दोलनलाई कसरी प्रभावकारी वनाउन, जनस्तर सम्म वैचारिक र राजनैतिक छलफल व्यापक वनाई नेकपाको पहलमा सवैखाले भ्रष्टचार , अनियमीता , नातावाद , कृपावाद , डनवाद र राज्यश्रोतको हालीमुली अन्त गर्न जनतालाई सचेत वनाई पार्टी भित्रैबाट यस्को सुद्धिकरण अभियान सन्चालन गर्नु पर्दछ । पार्टीका सवै तहमा पहिलो योगदान , दोश्रो निरन्तरता , अनुशासन र पार्टीको जिम्मेवारीको आधारमा नेतृत्व र जनप्रनिधिको चयन गर्न जरुरी छ । यस्ले पार्टीलाई ठिक ठाउँमा लान मद्धत गर्दछ ।

    प्रधानमन्त्री केपी ओलीको राजिनामा भारतले हैन मैले मागेको भनी अध्यक्ष प्रचण्डको अभिव्यक्ति बारेकाे धारणा के छ नी ?

    राजनीतिक वृतमा धेरै छलफल हुन्छन् । अध्यक्ष प्रचण्डले कुन प्रसंगमा त्यस्तो अभिव्यक्ति दिनु भयो सवै प्रसंग थाहा हुँदा स्पष्ट हुन्छ । बीचको एउटा वाक्यले मात्र विषयवस्तु प्रष्ट हुँदैन । दुई अध्यक्षबीचको छलफलमा के कुरा हुन्छ ? आपसमा के के निस्कन्छ उहांहरुबीच सीमित हुने विषय हो । यो विषयलाई विवादको विषय वनाउन हुँदैन । वहांहरु पार्टीका शिर्षस्थ नेता हुनुहुन्छ । पार्टी एकतालाई मजवुद वनाउन सवै लागि पर्नुपर्छ । व्यक्ति व्यक्तिको कुरा उछालेर को राष्ट्र्वादी को भारतपरस्त भन्ने आरोप र लालछनाको अवस्थाको अन्त हुनपर्छ ।

    109124233_2669890776619651_2092795698594184539_n.png

    अध्यक्ष प्रचण्ड ओली र माधव नेपालको पुरानो तिक्तताको भुंमरीमा प—यो भन्छन् , भोली केपी र माधव मिल्दा अध्यक्ष प्रचण्डलाई झन संकट पैदा हुँदैन ?

    एउटै पार्टीमा को कोसंग मिल्दा सहज हुन्छ, कोसंग मिल्दा प्रतिकुल हुन्छ, यो पार्टी जीवनभन्दा पृथक कुरा हो । यो विषय धेरै छलफल गर्न जरुरी छैन । अध्यक्ष प्रचण्ड, नेपालमा गणतन्त्र स्थापना गर्न माओवादी जनयुद्ध हाँकेर स्थापीत भएको संस्थागत नेतृत्व हो । संविधानमा माओवादीले उठाएको एजेण्डामा सवै सहमत भए संविधानसभाको निर्वाचन भयो संविधान निर्माण भयो । कति पुग्यो कति पुगेन छुट्टै विषय हो । दुवै अध्यक्षले विशाल नेकपा स्थापनाको लागि पार्टी एकता गर्नु भएको हो । अन्य नेताहरु पनि सहमत भएकै कारणले यो संभव भएको हो । पार्टी एकतापछि शक्ति संघर्ष र सन्तुलनको कोणबाट नेकपालाई कमजोर वनाउन विभिन्न प्रवृतिहरुको चलखेल भयो । उछाल्ने र पछार्ने काम भैरहेको छ । सतहबाट हेर्दा पद र शक्तिको वांडफांड सम्वन्धी खीचलो जस्तो देखा परे पनि नेपाल र नेपालीको भविष्यसंग जोडिएको दुरगामी महत्वको विषयमा नेकपामा छलफल भैरहेको छ । पार्टी एकता मजवुद भएमा सवै विषय गौण वन्दै जाने मलाई विश्वास छ ।

    तपाई के जिम्मेवारी निर्वाह गर्दै आउनु भएको छ ? अरु केही भन्न चाहनु हुन्छ की ?

    मलाई अरु केही भन्नु छैन । म पार्टीको केन्द्रीय सदस्य र कानून , न्याय तथा मानवअधिकार केन्द्रीय विभागको उपप्रमुख काठमाण्डौ जिल्ला पार्टीको सह—सयोजक भए पनि पार्टीको औपचारिक मेरो हैसियत भनेको पार्टी कार्यकतानै हो । नेपाली कम्युनिष्ट आन्दोलनमा लागेर नेपाली जनताको मुक्तिको खातिर ४० वर्ष देखि निरन्तर पार्टीले तोकेको जिम्मेवारी वहन गदै आएको छु । जिवन परन्त लागीनै रहने प्रतिवद्धता समेत जाहेर गर्दछु ।

    नेपाली कम्युनिष्ट आन्दोलनको धार र मोड दांया वांया हुँदै गणतन्त्रपछि नयाँ चराणमा प्रवेश गरेको छ । निरंकुश पंचायत, राजतन्त्रको विरुद्ध लड्यौ । अव नेपाली जनताको सम्वृद्धिको पक्षमा, गरीबी विरुद्धमा लड्ने अवस्था आएको छ । अमुक एउटा व्यक्ति धनी भएर केही हुँदैन । विगतमा नेपालमा धेरै अमुक सामन्तीहरु धनी थिए । अझै छन् पनि । अव अवस्था फेरिएको छ , सवै जनतालाई धनी वनाउन मुलुकनै धनी भएको अवस्था , सम्वृद्ध भएको अवस्थामा मात्र देश र जनताको मुहार चम्कीलो हुन्छ , त्यसैले व्यक्ति धनी भएर सामन्तीको संख्या थप हुने दौडमा हैन, देशनै धनी हुने सम्वृद्धिको पक्षमा अगाडि बढौं । हामीले चाहेको श्रमजिवि जनतापक्षधर समाजवादको मुलढोका खोलौं । यसैमा नेपाल नेपालीको हित हुनेछ ।

     त्यसाे भए समाजवादी आन्दोलनको नेतृत्व नेकपाले गर्न सक्छ त ?

    नेपाली विषेशता सहितको समाजवादीको आन्दोलनको नेतृत्व गर्ने पार्टी नेकपा नै हो । यो पार्टीलाई अझ धु्र्विकरणको विधिमा लान जरुरी छ । कम्युनिष्ठहरु भुरे टाकुरे राजा भएर नाङ्लो पसल राखेर वस्ने होइन । निर्वाचनको प्रयोजनको लागि साना साना पार्टी वोकेर नेपालको सम्वृद्धि संभवनै छैन । नेपालमा अझै पनि मुख्य तीनधार सतहमा देखिएका छन् । एउटा धार निरंकुशधार । विगतको राजतन्त्र होस वा संघिय गणतन्त्र भित्रैबाट एकाधिकार श्रृजना गरि निरंकुशता लाद्न प्रयत्न हुन सक्छ । त्यो धार अत्यन्तै कमजोर धार हो । नेपालमा यो असंभवनै छ ।

    दोश्रोधार नेपाली कांग्रेसले प्रतिनिधित्व गर्ने पूँजिवादी मान्यता राख्ने तर त्यस बारे कुनै गृहकार्य नगर्ने निर्वाचनको टिकट बाड्ने र सत्ताको सपना मात्र देख्ने देश र जनताको पक्षमा केही गर्नु पर्छ भन्ने कुनै सोचनै नभएको धार हाे । तेश्रो राजनीति वैचारिक, तृष्णता भएको जनतालाई केही गर्नु पर्छ भन्ने सोच पनि भएको, संघर्षको भुमरी छिचोल्दै आएको तर सरकार हासिलपछि विभिन्न विवादमा अल्झीने, सम्वृद्ध नेपाल वारे व्यापक छलफल भएको तर आवश्यता अनुसारको गति उत्पन्न हुन नसकिरहेको यो धारको प्रतिनिधित्व वामापंथी शक्तिले गर्दछ । त्यसैले यो देशमा समाजवादको नेतृत्व अरु पार्टीले गर्न सक्तैन । अन्य साना वामपंथीहरुलाई छिट्टै विकृत गरि नेपालको विशिष्ठतालाई सवोधन गर्ने विशाल कम्युनिष्ट पार्टी निर्माण गरि नेपाली श्रमिक जनताले चाहेको समाजवादको नेतृत्व गर्दै विश्वमा एउटा पहिचान दिन सक्नु पर्दछ । सामान्य विषय विवाद श्रृजना गरि जनतालाई निरास पार्ने कार्य कसैबाट हुन सक्तैन । सवैले आ-आफनो ठाउँबाट जनताको पक्षमा त्याग गरेर आफनो परिक्षण गर्न मन्जुर गर्न सक्नु पर्दछ । यो स्पीरिटको पार्टी निर्माण गर्दै नेपाललाई सम्वृद्ध समाजवादी मार्ग प्रसस्त गर्न जरुरी छ ।

     

    

     

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij