ऋषि देवकोटा गरिब जनताका ससाना कुटी र झुपडीमा बस्ने गर्नुहुन्थ्यो । सरकारको नजरमा कडा भूमिगत हुनुहुन्थ्यो । सिन्धुली र रामेछापको प्रशासनलाई उहाँका कारण हनहनी जरो आएको थियो । रामेछापको गाउँगाउँमा पुग्दा हामी आज पनि पाउँछौं, राजनीतिक प्रचार प्रसारमा क.ऋषि देवकोटा ‘आजाद’ को गहिरो छाप छ । हामीले विगत विर्सिदै छौं । आज हामी बर्तमान राजनीति उपलब्धि आफ्नै कमाईको फल हो ! राजनीतिक आन्दाेलनकाे सृष्टिकर्ता नै आफैं हौं ! भन्ने पनि लाग्लालाग्ला जस्तो हुन थालेको सन्दर्भमा छौं । हाम्रो पुस्ता र क.ऋषि देवकोटाको कार्यशैलि आकाश जमिनको फरक पाइन्छ । उहाँ र पछिल्लो पीडिका विचको अन्तर झन् कति होला ?
ऋषिको जनशैलिका कारण सरकारी खुराकी खाएका सुराकीहरुले उहाँको हिंड्ने गोहो पहिल्याउनै सकेनन् । उनिहरू जहिले पनि देवकोटाको गतिविधिका कारण जिल्लाराम पर्थे, हैरान हुन्थे । तर ऋषि देवकोटा भने सदरमुकामको मुलबाटैबाटो भएर ओहोर दोहोर गर्नु हुन्थ्यो । न सिन्धुलीको प्रशासनले थाहा पाउँथ्यो, न रामेछापको !
ऋषि देवकोटासंग कहिलेकाहिँ ओहोर दोहोर गर्दाको अनुभव सुनाउनु हुँदै, टंकनाथ पौडेलले एकदिन मसंग भन्नु भएको थियो- “ऋषि देवकोटा रामेछाप पस्दा खुर्कोट र धनेघाटको पुल प्रयोग गर्नु हुन्थ्यो । त्यस मध्येमा पनि, अक्सर धनेघाटबाट ओहोर दोहोर गर्नु हुन्थ्यो ।” एकदिन ऋषि देवकोटा र टंकनाथ पौडेल साथसाथै खुर्कोटको पुल तरेर बेतिनी, हुलाकडाँडा, ल्याङल्याङ, रामेछाप, हिलेपानी, भालुखोप, ढुङ्गेछाप, सालु, कपिलास, कुकुरकाटे भञ्ज्याङ, थलारी, काङ्वा, चित्रे, धोवी भएर सैपु जाँदै हुनुहुन्थ्यो । हुलाकडाँडामा पुगेपछि ऋषि र टंकनाथ एकजना किसानका घरमा पस्नु भयो । ती किसान ऋषिका प्रिय शुभचिन्तक थिए ।
त्यहाँबाट एउटा ढाकर र तोक्मे लौरो बोक्नु भयो । ढाकर भित्र नक्कली पोका पत्यौरा हालेर ऋषि दुरुस्त ढाक्रे बन्नु भयो । त्यसवेला सडक यातायातको अभावमा ओखलढुङ्गादेखि पहाडी गाउँका हज्जारौं ढाक्रेहरूका ताँति त्यो बाटो हिंड्थे । क.ऋषि एउटा सर्ट र दोब्र्याएको लुङ्गी लगाएर तिनै ढाक्रेको ताँतिमा मिसिनु भयो । टंकनाथ पनि सानो झोला बोकेर कमिज सुरुवालको भेषमा साथसाथै रामेछाप बजार पार गरेर हिलेपानीतिर कुनै किसानका घरमा पुग्नुभयो । त्यस घरमा ढाकर विसाउनु भयो र फेरी पूर्ववत् भेषमा सैपुतर्फ लाग्नु भयो ।
हजुरबा टंकनाथ पौडेलले ऋषि देवकोटासंगको एउटा यात्रा प्रशङ्ग यसरी सुनाउनु भएको थियो । त्यसवेला पार्टीमा लाभको होइन, त्याग र समर्पणको प्रकाशमा जनताहरु गोलबन्द हुनेगर्थे । आज परिस्थिती क्रमशः बदलिने दिशाको प्रशव पीडामा छ ।