अब क्लासिकल विचारबाट कम्युनिष्ट आन्दोलन अगाडि बढ्न सक्दैन
केही मुलुकलाई छोडेर हेर्दा विश्वमा आज कम्युनिष्ट आन्दालन निकै कमजोर अवस्थामा छ । युरोपलगायतका मुलुकहरुमा त कम्युनिष्टहरुले नाम र हसियाँ हथौडाको झन्डासमेत नराखेर कम्युनिष्ट मुद्धाहरु उठाइरहेको थुप्रै उदाहरण हाम्रा सामु छ । यसरी हेर्दा नेपालको कम्युनिष्ट आन्दोलन गौरवपूर्ण छ । तर विश्वपरिवेशबाट नेपालको कम्युनिष्ट आन्दोलन अलग रहन सक्दैन । अर्को महत्वपूर्ण विषय के हो भने विश्व कम्युनिष्ट आन्दालन वैचारिक संकटबाट पनि गुज्रीरहेको छ । यिनै सवालहरुमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईंसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ : सम्पादक ।
तपाई विभिन्न सन्दर्भहरुमा विदेश भ्रमणमा जानुभयो । युरोप लगायतका मुलुकहरुमा कम्युनिष्ट आन्दोलनको अवस्था कस्तो पाउनुभयो ?
म राजनीतिक कामकै शिलशिलामा मैले राजनीतिक कामकै शिलशिलामा झन्डै ३३ देशको भ्रमण गर्ने अवसर पाएँ । त्यस सन्दर्भमा कतिपय कम्युनिष्ट पार्टी र आन्दोलनसँग, त्यहाँको लोकतन्त्रको प्रकारसँग अर्थात् कुनै न कुनै रुपमा त्यहाँको राजनीतिक व्यवस्थासँग नजिक हुन र जानकारी हासिल गर्न मौका मिलेको छ । म त्यसो भन्दिन कि मैले देखेको जानेको कुरा नै त्यहाँको व्यवस्थाबारे अन्तिम सत्य हो । मेरो त्यस्तो दावी छैन । तर जानकारी कै रुपमा भएपनि मैले कतिपय कुरा अनुभूत गरेको छु ।
कम्युनिष्ट आन्दोलन भनेर संसारैभरी उस्तै प्रकारको स्थिति छैन । खासगरी दक्षिण एसियामा कम्युनिष्ट आन्दोलनको एकखाले लहर हामी देख्छौं । ल्याटिन अमेरिकामा समाजवादीहरुको, बामपन्थीहरुको एउटा खालको दवाव देखिन्छ । उनीहरु कम्युनिष्ट नै भनेर आफुहरुलाई डिक्लियर गर्दैनन् । तर झुकाव कम्युनिष्ट खालको देखिन्छ । त्यसबाहेक बाँकी विश्वमा सामान्यतया कम्युनिष्ट भन्ने छैन । उनीहरु समाजवादी भन्छन्, लेफ्ट भन्छन्, ग्रीन भन्छन्, लेवर भन्छन् । त्यसरी विभिन्न ब्लकमा वामपन्थहरुले आफुलाई संगठित गरेको स्थिति छ ।
समग्रको यसको कारण के छ त भन्दा सोभियतकाे पतनपश्चात पुँजीवादीहरुका जहाँ-जहाँ ठूला केन्द्रहरु भए, ती ठूल्ठूला केन्द्रहरुमा उनीहरुले कम्युनिष्ट पार्टीविहिन लोकतन्त्रको परिकल्पना गरे । नेपालमा दलविहिन पञ्चायती ल्याएको जस्तै मलाई अनुभूति हुन्छ । त्यो प्रकाकारको प्रयत्न गरेर कम्युनिष्ट पार्टीलाई प्रतिवन्धित गर्ने, कम्युनिष्ट पार्टीका सदस्यहरुलाई अलोकतान्त्रिक घोषणा गर्ने, कम्युनिष्ट विचारधारलाई अधिनायकवादी, लोकतन्त्र विरोधी, लोकतन्त्रको शस्त्रुको रुपमा परिभाषित गरियो । त्यो अमेरिका र सोभियतसंघबीचको द्वन्द्वले निम्त्याएको कठिन मनोविज्ञानपछि पुँजीवादी मुलुकहरुले कम्युनिष्टप्रति लिएको पूर्वाग्रहपूर्ण नीति हो जस्तो लाग्छ ।
दक्षिण एसियाली मुलुकहरुमा चहीँ कम्युनिष्टहरुको प्रभाव किन छ त भन्दा यी क्षेत्रहरु गरीबी र पछौटेपनका क्षेत्रहरु रहे । यहाँ आफ्नै खालको सभ्यताको विकास पनि छ । यी क्षेत्रहरुको कहीँ न कहीँ आफै सस्टेन भएको उत्पादन सम्बन्ध छ । संसारमा दक्षिण एसिया वा दक्षिण अमेरिकामा विभिन्न वैचारिकी, दर्शन र विज्ञानको विकास भएको पाइन्छ । त्यसकारण यी मुलुकहरुले अगाडि सार्न सके ।
गरीबी त दक्षिण अफ्रिकी मुलुकहरुमा पनि छ, तर त्यहाँ किन यस्तो छैन त भन्दा त्यहाँ स्वतन्त्रपूर्वक सोच्ने आफ्नो वैचारिकी निर्माण गर्ने एउटा पुरानो ट्रेडिसन ब्रेक भएर त्यस्तो भएको हुनुपर्छजस्तो मलाई लाग्छ ।
दोस्रो कुरा, अन्य मुलुकमा कम्युनिष्टहरुको अवस्था कस्तो छ त भन्ने कुरा म यहाँ केही अनुभूति राख्न चाहन्छु । २०१२ मा हामी पार्टी अध्यक्ष प्रचण्ड, राम कार्की र अन्य केही साथिहरुसहित युरोप भ्रमणमा थियौं । प्रचण्ड विभिन्न राजनीतिक कार्यक्रममा सहभागी पनि हुनुभयो । यहाँ पूर्व प्रधानमन्त्रीको हैसियतमा पनि हुनुहुन्थ्यो । उहाँ अलि छिटो फर्किनुभयो । राम कार्की र हामी चहीँ त्यहाँको वर्कस पार्टी अफ बेल्जियम भन्ने पार्टीको अफिसमा हामी गयौं । म भर्खरै त्यो सम्बन्धि जिम्मेवारी प्रप्त गरेको कारण विदेश भ्रमणमा नयाँ थिएँ । कम्युनिष्ट पार्टीको कुरा गरेको छ, सबै माक्र्सिजमका दर्शन, राजनीतिको विश्लेषण छ तर कम्युनिष्टको केही पनि छैन । कम्युनिष्टको झण्डा पनि छैन, कम्युनिष्ट पार्टीको नाम पनि छैन । तर माक्सिजमको व्याख्या छ । अहिलेको कम्टेपोरेरि वल्डको व्याख्यामा हामीसँग धेरै कुरा मिल्न खोज्छ । किन कम्यनिष्ट पार्टीको नाम र हसियाँ हथौडाको झण्डा नराखेको ? यो त मिलेन नी भनेर मैले सोध्दा उहाँहरुले भन्नुभयो- कम्यनिष्ट पार्टी कै रुपमा काम गर्न चहीँ युरोपमा पाइन्दैन । यहाँ कानुनी समस्या छ, त्यसलाई छल्न खोज्या हो । अर्को चहीँ जनस्थरमा पनि कम्युनिष्टभन्दा त्यति राम्रो पर्दैन ।
भिडियाे अन्तरवार्ता