शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

कोरोना आतकं, मनोविज्ञान र नियन्त्रण


  • 63.8K
    SHARES
  • https://indrenipost.com/posts/360
    असोज २७, २०७७ मंगलबार
    कोरोना आतकं, मनोविज्ञान र नियन्त्रण

    (लेखक भाेजबहादुर शाह शिक्षाविद तथा सामाजिक अभियन्ता हुनुहुन्छ)

    मेरी छोरी डा. विज्ञा शाह पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानको साईक्याटीक विभागमा विशेषज्ञ चिकित्सकको रुपमा कार्यरत छिन् । कोभिड–१९ को सुरुवाती दिनमा उनी र भारतस्थित एम्श मेडिकल कलेजमा कार्यरत मनोचिकित्सक डा. अन्नया महापात्र लगायत एघारजना चिकित्सकहरु मिलेर कोभिड–१९ र यसको प्रभावका विषयमा एउटा अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान गर्दै थिए । उक्त शोधकार्यका लागि अंग्रेजी भाषामा तयार पारिएका प्रश्नावलीहरु नेपालीमा भावानुबाद गर्ने जिम्मेवारी छोरीले मलाई सुम्पिएकी थिइन् ।

    समय यस्तो थियो कि नेपाली मिडियाहरु सरकारको चर्को आलोचना गरिरहेका थिए । सरकार कोरोना रोकथामका लागि असफल भयो, पीसीआर परिक्षण निकै सीमित र धिमा गतिमा गरियो, आवश्यक मात्रामा कन्ट्याक्ट् ट्रेसिङ हुन सकेन, नेपाली नागरिक सीमानामा भोकै अलपत्र परे, सरकारले उद्धारका लागि तदारुकता देखाएन यस्तै–यस्तै समाचार अधिकांस नेपाली सञ्चार माध्यमहरुमा प्रशारित हुन्थे ।

    त्यति मात्र कहाँ हो र ? कोरोना संक्रमित विरामिको हेरचाह गर्न नहुने, संक्रमणबाट मृत्यु भएकाको सतगत गर्न एम्बुलेन्स चालक र लास उठाउने मान्छेको अभावका समाचार आइरहेका थिए ।

    कतिपय अबस्थामा स्थानीयहरुले लास सत्गत गर्न नदिएर प्रहरीले हस्तक्षेप गरी सतगत गरेका तस्बिर र समाचारहरुले टेलिभिजनमा महत्वपूर्ण स्थान पाए ।
    तर मिडियाले सुरुको वास्तविकता के थियो भन्नेबारे लेखेन । उपयुक्त मेडिकल किटस् तथा पीपीईको अभाव र केन्द्रीय स्वास्थ्य प्रयोगशाला टेकुमा रहेको एउटा मात्र पीसीआर मेसिनबाट कोरोनाको रोकथाम तथा नियन्त्रणको सुरुवात गरेको सरकारले यहाँसम्म आइपुग्दा आफ्नो साधन र स्रोतको ब्यबस्थापनमा गरेको प्रबन्धप्रति असन्तुष्टि मात्रै पोखिरहनु पर्ने देखिंदैन । प्रतिकुल समयमा पनि सरकारले धेरै काम गरेको छ । यो पाटोलाई पूरै वेवास्था गर्न मिल्दैन ।

    छिमेकी देश भारतमा कोरोना संक्रमणको गति विश्वकै उच्च रहेको अबस्थामा हाम्रा स्वस्थ्य निकायहरु र गृह मन्त्रालयले सीमा नाकाबाट थप संक्रमण फैलिन नदिनका लागि रोकथामका उपायहरूको अवलम्बन कडाईका साथ गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइरहेकै होलान् । स्थानीय सरकारहरुले त्यसको अनुगमन तथा निरीक्षण र रोकथाम गर्न सीमा नाका सुरक्षाको जिम्मेवारी पाएका निकायहरुसँग समन्वय गरेकै हुनु पर्दछ ।

    यस्तो संवेदनशील समयमा कोरोना संक्रमितहरुको दैनिकी कसरी बितिरहेको छ ? संक्रमित भइसकेपछिको दैनिकी र अपनाउनु पर्ने सचेतनाको विषयमा जानकारी नहुँदा वा समुदायबाट एक्लिइनुपर्छ भन्ने डरमा संक्रमित भएको कुरा लुकाउँदा संक्रमणले समुदायमा कसरी महामारीको रुप लिदैंछ ? त्यसबाट निर्दोष मान्छेहरु कसरी जोखिममा पर्दैछन ? यी विषयमाथि यस आलेखमा थोरै चर्चा गर्ने प्रयास गरेको छु । यो अहिलेको परिप्रेक्षमा छुटेको तर महत्वपूर्ण विषय हो ।

    कोरोना संक्रमित वा आशंका गरिएका व्यक्तिप्रतिको लाञ्छना, चिन्ता तथा उदासिनताको अध्ययन नामक अनुसन्धानमा नेपाल तर्फकी प्रमुख अनुसन्धानकर्ता मेरी छोरी डा. विज्ञा शाहले मलाई जिम्मा लगाएको प्रश्नावलीहरुको नेपाली भावानुवादको प्रसंग यहाँ उल्लेख गर्नु सान्दर्भिक ठानेको छु ।

    १. कोभिड–१९ बाट संक्रमित वा शंका गरिएका विरामीहरु आफुूलाई संक्रमित नभएको देखाउन अस्वाभाविक गतिविधि गर्न सक्छन् ।
    २. म संक्रमित नभएकाबाट तिरस्कृत हुँला भन्ने डरले उनीहरुको सम्पर्कमा जाँदिन वा गएँ भने म संक्रमित नभएको बाहना गर्दछु ।
    ३.संक्रमण नभएकाहरुको बीचमा म आफूलाई एक्लो महसुस गर्दछु ।

    माथिका भनाइहरु केही उदाहरणको रुपमा प्रश्नावलिहरुको चाङ्बाट प्रतिनिधि प्रश्नहरुको रुपमा छनौट गरिएको हो ।
    अहिले आम मानिसमा के धारणा बनेको छ भने विभन्न रोग भएका, उमेर पुगेका र प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई कोरोना संक्रमण भयो भने चहीँ बचाउन सकिंदैन । तर वास्तविकता त्यस्तो छैन । आत्मबल उच्च र सकारात्मक सोच भयो भने विभिन्न रोग र उमेर धेरै भएकाहरुले पनि कोरानो जित्न सक्छन् । मेरी ७९ बर्षिय सासुमुमा काठमाडौंमा बस्नु हुन्छ । उहाँ सकारात्मक सोच र खुशी जीवनको प्रतिमूर्ति नै हुनुहुन्छ भन्दा अतिशयोक्ति नहोला । दैनिक जीवनमा आइपर्ने रोगब्याधी, दुः ख तथा विपतलाई उहाँ सरलढंबाट ग्रहण गर्नुहुन्छ । झण्डै दुई वर्ष अगाडि ग्रान्डी अस्पतालमा उहाँको ब्रेस्ट क्यान्सरको अपरेसन भएको थियो । अपरेसन भएको ३ दिन पछाडि उहाँ हिडडुल गर्न थाल्नु भयो । उहाँमा विद्ममान प्रतिरोधात्मक क्षमता र मनोबलको डाक्टरहरूले खुलेर प्रसंशा गरे । त्यो उहाँले सामना गरेको पाचौं अपरेसन थियो । हाल उहाँ सुगर रोगका साथै उच्च रक्तचापको विरामी पनि पनि हुनुहुन्छ । उहाँलाई कोरोना संक्रमण भयो । तर उहाँले कोरोनासँगको लडाइँ जितेर अहिले कोरोना संक्रमणबाट मुक्त हुनु भएको छ ।

    म यहाँ संक्रमित र समुदायको मनोविज्ञान बुझ्न यो यो घटनाको विषयमा चर्चा गर्न गइरहेको छु ।

    ऊहाँमा कोरोनाको संक्रमण कसरी भयो ? यो कुरा माथि उल्लेख गरिएको अनुसन्धान र कोरोना संक्रमितको मनोविज्ञान र ब्यवहारसँग मेल खान्छ । बोल्न जति सहज छ, मान्छेको मनोविज्ञान बदल्न त्यतिकै कठिन पनि छ ।

    लगभग एक महिना अगाडिको घटना हो, मेरो एक जना अभिन्न मित्रले ३–४ बजेतिर टेलिफोन गरेर मलाई सोध्नु भयो, “सासु आमाको घरमा डेरा गरेर बस्ने बहिनी (जो नेपाल सरकारको कुनै कार्यालयको कर्मचारी हुनुहुन्छ) आजभोली संगै बस्नु हुन्छ कि हुँदैन ?” मैले उहाँको आसय बुझ्ने वित्तिकै बस्नु हुन्छ भनेर जवाफ फर्काएँ ।

    उहाँले उनमा कोरोना संक्रमण भएको जानकारी गराउनु भयो । मैले तत्काल सोका बारेमा मेरी श्रीमतीलाई सूचित गरें । उनी अलि आत्तिएकी जस्तो देखिइन । मैले उनलाई केही सहज हुन सहयोग गरें । संक्रमणको जानकारी प्राप्त भएको ठिक ६ दिन अगाडि मेरी श्रीमती र छोरी सासू मुमालाई सरप्रराज दिन तीजको दर खानेदिन उहाँको घर सामाखुशी पुगेका थिए ।

    उनीहरु फर्किने समयमा (लगभग ७.०) बजेतिर स्थानीय महिलाहरु मुमालाई तीज गीत र नाचगानका लागि लिन आएका थिए । भोलि पल्ट थाहा भयो उहाँ नाचगान गरी राती ११.० बजे मात्र घर फर्किनु भएछ । त्यो अन्तरालमा उहाँ र सहयोगी बहिनीको अन्य जतीजनासँग सम्पर्क भयो । सबैजना संक्रमणको घेराभित्र पर्ने संभावना रहन गयो । त्यति मात्र नभएर सहयोगी परिचारीका बहिनी छिमेकीका अन्य २–३ घरमा पनि काम गर्थिन । सबैजना संक्रमित हुन सक्ने संंभावना देखियो ।

    नेपाल सरकारको कुनै संघीय मन्त्रालयमा काम गर्ने ती बहिनीलाई फोन गरेर कोरोना संक्रमण भएको विषय थाहा भए नभएको विषय जानकारी गराउँदा सुरुमा अकमकिइन् तर उनले स्वीकार गरिन । उनको अन्यत्र जाने ठाँउ नभएकाले आफ्नै कोठामा बस्न दिन अनुरोध गरिन । तर उनी सामान्य नागरिक सरह हिडडुल गरिरहेको अवगत भएपपछि सबभन्दा पहिले हामीले उनलाई सम्झाएर आफ्नो कोठामा कडाइसाथ आइसोलेसनमा बस्न अनुरोध गयौं । तत्पश्चात सबभन्दा बढी ख्याल ७९ बर्षीय सासु मुमाको गर्नु पर्ने भयो । उहाँको कोरोना परिक्षणको लागि छोरी डा..विज्ञासँग परामर्श गर्दा कोरोना संक्रमितको पहिचान खुलाई वडा कार्यालयबाट सिफारिस गराउँदा निःशुल्क परिक्षण गराउन सकिन्छ भन्ने जानकारी पाइयो । संक्रमित बहिनीसँग अनुरोध गर्दा उनले आफू संक्रमित भएको भनेर वडा कार्यालयमा गएर भन्न सहज नमानेको हुँदा नेपाल सरकारबाट मान्यता प्राप्त नीजी प्रयोगशालाबाट परिक्षण गराउने निधो गरियो । कुमारी टोल सुधार समितिका अध्यक्ष श्री कृष्ण श्रेष्ठलाई जानकारी गरायौं । टोलमा चर्चा सुरु भैसकेको कुरा उहाँले जानकारी गराउनु भयो । साथै सहयोगी परिचारीका बहिनीको पनि परिक्षण गराई दिन टोलका बासिन्दाले उहाँलाई दबाव दिएको कुरासमेत अवगत गराउनु भयो । सहयोगी बहिनीको टोलका धेरैसँग उठबस भएकाले उनको परिक्षण नकारात्मक आइदिए धेरैलाई मानसिक रुपमा राहत हुने भयो । आजभन्दा ठिक ३१ दिन अगाडि शुक्रवारका दिन सासू मुमाको परिक्षण गर्दा कोरोनाको संक्रमण पुष्ठी भयो । त्यसको अर्को दिन शनिबार सहयोगी बहिनीको पनि परिक्षण गर्दा उनको पनि संक्रमण पुष्ठी भयो ।

    त्यो सूचना टोलसुधार समितिका अध्यक्ष कृष्णजीलाई जानकारी गराइयो । समुदाय अलिबढि नकारात्मक बनेको, हामीले समयमासहि सूचना प्रवाह नगेरेको आदि चर्चा चलेछ । हामीले टोलका अर्का सदस्य पसल संचालक कर्नजीसँग पनि कुरा गर्यौं । हामीले ती डेराबाल बहिनीबाट उनी संक्रमित भएकोसहि सूचना ६ दिन ढिला पाएका थियौं । त्यसकारणले पनि उनीहरुसँगको भौतिक दुरी तथा भेटघाटलाई समयमै नियन्त्रण गर्न सकिएन ।

    अब त्यही कुरामा अल्झनुभन्दा पनि टे्रसिङमा पर्ने सबैको परिक्षण गराउने प्रबन्ध गर्नु नै उत्तम विकल्प भएकोले त्यो बाटो अख्तियार गर्न राम्रो हुने कुरा कृष्ण जीलाई सुझायौं । उहाँ अत्यन्त सहज र समझदार भएकोले त्यही अनुसार अगाडि बढ्ने कुरा भयो ।

    तर त्यही दिन टोलका महिला अभियन्ताहरुले कोरोना प्रवाभित क्षेत्रको ब्यानर टाँग्ने, करोना संक्रमित भएर पनि ढाँट्ने डेरावाल बहिनीलाई कोठाबाट निकाल्ने आदि चर्चा पनि गरेछन् । त्यो सबै कुरा थाहा पाएर पनि हुन सक्छ वा आफैलाई महशुस भएर होला उनी शनिबारकै दिन मेरो सासुमुमा र कृष्णजीलाई भनेर कोरोना संक्रमित सरकारी आइसोलेशनमा भर्ना हुन गइछिन । संभवतः उनमा यो चेत पहिले नै आइदिएको भए त्यो घर र समुदायलाई कोरोनाको कहर र आतंकबाट बचाउन सकिन्थ्यिो होला ।

    कोरोना संक्रमण पछिको सामाजिक लान्छना र अपहेलना तथा ब्यवहारको डरले उनमा जुन गलत मनोविज्ञानको विकास भयो । त्यो पक्ष वास्तवमा जनस्वास्थ्यविद तथा मनोविदहरुले अनुसन्धान तथा विश्लेशण गरी त्यसको समाधानका साथ कोरोनाको नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन जरुरी देखिन्छ ।
    म स्वयं पनि सासुमुमाको सम्पर्कमा आएको हुँदा मैले पनि उहाँसंगै परिक्षण गराएँ । मलाई भने संक्रमणको कुनै लक्ष्यण देखिएन । म र मेरो परिवारको लागि यो निकै खुशीको कुरा थियो । नतिजा सकारात्मक नभएको भए हामी दुबैजना क्वारेन्टाइनमा बस्नु पर्ने हुन्थ्यो ।

    सासुमुमामा कोरोना संक्रमणको पुष्ठी भएको क्षण र ऊहाँलाई सामाखुशी घरमा पुर्याउँदाको अबस्था निकै संवेदनशील घडीको रुपमा हामीले महशुस गर्यौं ।
    कारण जगजाहेर नै थियो कि उहाँको ढल्कदो उमेर एवं सुगर तथा उच्च रक्तचाप सम्बन्धी दिर्घ रोगी र संचार माध्यमहरुमा आइरहेको अतिशयोक्तिपुर्ण प्रचार–प्रसार प्रतिकुल थियो ।

    प्रयोगशालामा कोरोनाको परिक्षण पश्चात मुमालाई रातोपूलस्थित हाम्रो घरमा ल्याएका थियाैं ।

    मुमालाई कोरोना पुष्ठि भएको कुरा मेरो छोरी डा.विज्ञा र ज्वाइँ डा. विलोकलाई जानकारी गराई आमन्त्रण पनि गर्यौं । उहाँहरु दुबैजना आइसकेपछि मन अलि शान्त पनि भयो । मुमाको आइसोलेशनका लागि सामाखुसि उहाँको घरमा नै उपयुक्त हुने ठानी उतै लैजाने निर्णय गर्यौं । किनभने त्यहाँ अर्कि सहयोगी बहिनी पनि भएको र उनमा पनि संक्रमण भएको लगभग निश्चित जस्तै थियो । मुमामा देखिएको सबै लक्ष्यण उनमा पनि देखिएको र कुमारी टोलका बासिन्दाहरुको आसय पनि ती बहिनीको परिक्षण छिटो माध्यमबाट गराइदिनु पर्यो भन्ने नै थियो । उनको पनि परिक्षण अर्को दिन गराउने ब्यबस्था मिलायौं । छोरी ज्वाइँ दुबैले मुमालाई राम्रोगरी सम्झाउनु भयो । साथै सहयोगी बहिनीलाई पनि मुमाको रेखदेख र अक्सिजन कसरी नाप्ने, कुनकुन औषधि कुन समयमा खुवाउने आदि सिकायौं । तर मुमाको अनुहारमा चिन्ताको कुनै रेखा थिएन । उनीहरु सुरक्षाको लागि पीपीई लगाइ मुमालाई लैजान आफ्नो मोटर लिन गए । जाने बेलामा छोरीले हामीलाई भनिन् मुमालाई एक्लै नछोडिसेला ! कम्तिमा पनि ६ फिटको भौतिक दुरी कायम गरी डबल मास्क लगाएर मात्र मुमाको सम्पर्कमा रहनु । उहाँले प्रयोग गरेका कुनै पनि सामान नछुने ।

    मेरी श्रीमती परिक्षणको रेपोर्ट न आइपुग्दै दिनभरि जसो मुमाको रेखदेखमै थिइन् । तर कति नजिकबाट उनले सम्पर्क गरिन । त्यसो गर्दा मास्क पुरै नाक र मुख छोप्नेगरी लगाइकी थिइन वा थिइनन् उनैले नै जान्ने कुरा भयो । यो ब्यक्तिको कोरोनाको संक्रमणबाट कसरी वच्न सकिन्छ भन्ने सचेतना र बुझाइको विषय पनि भयो ।
    छोरी र ज्वाइँ लगभग २० मिनेट पछि आइपुग्नु भयो ।

    ऊनीहरु मुमा को सामानहरु प्याकिङ गर्ने तर्फ लागे । मेरी श्रीमती मुमालाई एकछिन पनि छोड्ने मनस्थितिमा थिइनन् । मिडियामा आएका अतिसयुक्तिपुर्ण समाचार र प्रचारको प्रभावले उनको दिमागमा अलिकती घर गरेको थियो ।

    जब मुमालाई बिदाई गर्ने समय आयो । उनी उहाँलाई अगांलोमा बेर्न चाहन्थिन तर कोरोनाको महामारीको लक्षण र सरुवारोगका कारण सकिरहेकी थिइनन् ।
    गला अबरुद्ध पार्दै उनले मुमालाई सम्झाइन ।

    एकछिन अगाडि हासी खुसी गुर्दौलिको फुल जस्तो प्रफुल्ल मुमाको अनुहार केही मुर्झाएको जस्तो देखिन्थ्यो । उहाँलाई भर्र्याङ् हुँदै गाडीसम्म पुर्याएर फर्कियएपछि उनी हिक्का छोडेर रोइन ।

    मेरो परिक्षणको रेपोर्ट नेगेटिभ आएको हुँदा मैले मौखिक रुपमा मात्र ढाढस दिइरहेको थिए तर सान्त्वना स्वरुप उनलाई अगालोमा हाल्न सकिरहेको थिइन ।
    बिडम्बना हाम्रो सामाजिक सम्बन्ध र आत्मियताको भौतिक दुरी बनेर आयो कोरोना । त्यसको झन्डै ७ दिनजती हामी दुबैजना सेल्फ आइसोलेशनमा रह्यौ ।
    उनको कोरोना परिक्षणको रेपोर्ट नेगेटिभ आएपछि मात्र हाम्रो एकान्तबास सकियो । हामीले मुमासंग दिनको ३ पटक मेसेनजरमा कुराकानी गर्ने र विहान ५.० बजे देखि बेलुका सुत्नु अगाडि सम्मको दैनिक कार्यतालिका बनाएका थियौं । मुमाकी सहयोगी बहिनीलाई पनि संक्रमण भएको हुँदा उहाँलाई दिन विताउन सहज भएको छ ।
    त्यसबिचमा टोलका ५१ जनाको कोरोना परिक्षण भएको र एकजनाको मात्र रेपोर्ट नेगेटिभ आएको हुँदा हामीलाई पनि ठुलो राहत मिलेको छ ।

    तर यही बिचमा घटित एउटा घटनाले समुदायका बासिन्दाहरुको चेतनाको स्तर र जनस्वास्थ्य विभाग र नागरिक अभियन्ता, क्लब तथा स्थानीय निकायको भुमिकाको अहम् महत्वलाई उजागर गरेको छ । टोलका ५१ जनाको परिक्षण गराउन सासुमुमा र सहयोगी बहिनीको पनि पुनः परिक्षण हुँदा उहाँहरु संक्रमणबाट मुक्त हुनुभयो कि भन्ने थाहा हुन्छ भनेर हामीले कृष्णजी र अर्का हाम्रा आफन्तलाई भनेका थियौं । तर स्थानियहरु उहाँहरुलाई घरबाट परिक्षण स्थलसम्म लिएरजान सहमत हुन नसक्दा वडाबाट गरिएको परिक्षणमा सहभागीहुन पाउनु भएन । परिक्षणमा समलग्न प्राबिधिकहरुले पनि पहल गर्न सकेनन् वा गरेनन् ।

    त्यसको सातदिन पछाडि हामी आफैले पुनः परिक्षण गराउँदा सहयोगी बहिनीको रिपोर्ट नेगेटिभ आयो तर सासुमुमामा चाहिँ अझै संक्रमण बाँकी देखियो ।
    यो विषय हाम्रा लागि नौलो र अत्यास लाग्दो थियो ।

    मुमाको स्वस्थ्य स्थिति निरन्तर मोनिटरिङ गरिरहेको हुँदा डराउनु पर्ने अवस्था भने थिएन । पहिले परिक्षण गरेको २८औ दिनमा पुनः परिक्षण गर्दा मुमा संक्रमण मुक्त हुनुभयो । उहाँको उमेर र लामो समय देखिको डाइबेटीक र उच्च रक्तचापबाट ग्रसित पनि भएको हुँदा टोलवासी र हाम्रा लागि खुसीको विषय थियो ।

    प्राप्त शिक्षाः

    १. सामाजिक लान्छना र मनोबैज्ञानिक डरका कारणले संक्रमीत ब्यक्तिहरुले आफु समाजबाट बहिष्करणमा परिएला भन्ने सोचेर कस्तोसम्म ब्याबहार र आचरण गर्न सक्दा रहेछन् भन्ने ज्वलन्त उदाहरण हामीले माथि उल्लेखित घटनाबाट पाठ सिकेका छौं ।

    २. जनस्वास्थ्य बिभाग, कोरोना नियन्त्रण तथा रोकथाम केन्द्र, सामाजिक अभियन्ता, खेलाडी ,नाम चलेका कलाकार, धार्मिक गुरुहरु, राजनीतिक ब्यक्तित्वहरु आदिको सहभागितामा जनचेतना फैलाउने काम तदारुकताकासाथ अगाडि बढाइनु पर्दछ ।

    ३. सञ्चार माध्यमहरु– टेलिभिजन, दैनिक छापा, रेडियो, अनलाइनबाट समाचारलाई सनसनीपूर्ण बनाउन गरिने नकारात्मक टीका टिप्पणी तथा प्रशारणलाई सकारात्मक दिशा दिन संक्रमणबाट मुक्तहरुको सख्या र समाचार पहिले प्राथमिकताकासाथ प्रशारण गर्ने र उनीहरुले संक्रमणबाट मुक्त हुन अपनाएका उपायहरू, दैनिक कार्यतालिका, खानपानको दैनिकी आदिका विषयमा जानकारी गराउँदै मनोबल उच्च बनाउने सामाग्रीहरुको प्रशारण गर्ने ।

    ४. रातदिन आफ्नो जीवनकै प्रवाह नगरी संक्रमण फैलिन नदिन रोकथाम, नियन्त्रण र उपचारका लागि कार्य क्षेत्रमा खटिने चिकित्सक, नर्स, अन्य प्यारामेडिक्स, सुरक्षाकर्मी तथा कर्मचारीहरु, सामाजिक संघ–संस्थाहरु आदिको मनोबल उच्च बनाउन नागरिक र राज्यस्तरबाट विशेष समारोह आयोजना गरी उनीहरुलाई र उनीहरूको परिवारलाई समेत सम्मान तथा सुशोभन गर्ने ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij