आइटम गीतलाई फिल्मको मुटु मानिन्छ । यी गीतको शब्दले फ्यानलाई जति प्रभावित बनाउँछ, गीतमा आइटम नृत्य गर्ने अभिनेत्रीको हटनेस र ग्ल्यामरले दर्शकलाई उत्तिकै उत्तेजित र मोहित तुल्याउँछ ।
फिल्मको प्रचारप्रसारको एक प्रमुख माध्यम आइटम गीत बन्दै आएको छ ।
आइटम गीतमा अभिनय गर्ने अभिनेत्रीहरुको लोकप्रियतालाई नयाँ उचाई दिन्छ । तर, एउटा सत्य के हो भने कतिपय अभिनेत्रीलाई भने त्यही आइटम गीतका कारण ‘आइटम गर्ल’को ट्याग लाग्ने गरेको छ ।
बलिउडमा कुनै समय केही अभिनेत्रीले हिट आइटम गीतमा कम्मर मर्काएका थिए । तर, अहिले उनीहरु बलिउडबाट टाढिइसकेका छन् ।
मोडल निगार खान नर्वेको लोकप्रिय मोडल हुन् । उनी चर्चित गीत ‘चढ्ती जवानी’को रिमिक्स भर्सनको आइटम गीतमा देखिएकी थिइन् । यो गीतमा उनको आइटम नृत्यलाई दर्शकले खुबै मनपराएका थिए ।
पछिल्लोपटक उनी सन् २०१५ मा फिल्म ‘दो चेहरे’ मा देखिएकी थिइन् । यो फिल्मपछि उनी बलिउडबाट हराइन् ।
यो सूचीमा भारतीय क्रिकेटर हार्दिक पाण्डेयकी पत्नी तथा सर्बियाली मोडल नताशा स्टेनकोविचको नाम पनि आउँछ । उनले बलिउडमा सन् २०१३ मा पाइला चालेकी थिइन् ।
बलिउड निर्देशक प्रकाश झाको फिल्म ‘सत्याग्रह’ को आइटम गीत ‘अइयो जी’ मा उनको हट नृत्य हेर्न पाइन्छ । नताशा गायक बादशाहका साथ गीत ‘डीजे वाले बाबु’ मा पनि देखिएकी थिइन् । हाल निजी जीवनमा व्यस्त नताशा सामाजिक सञ्जालमा सक्रिय छिन् ।