मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

कोरोना संक्रमण घट्यो, मौसमी रोगको जोखिम बढ्दै


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/4010
    चैत ३, २०७८ बिहीबार
    कोरोना संक्रमण घट्यो, मौसमी रोगको जोखिम बढ्दै

    काठमाडौं । नेपालमा कोरोना संक्रमण घटेसँगै मास्क लगाउन छोड्ने, जहाँ पायो त्यहीं जमघट भई खाने बानी बढ्दै गएकोमा सरुवा रोग विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् ।

    चैतदेखि मौसम परिवर्तन भई गर्मी बढ्ने र यो मौसममा विभिन्न सरुवा रोग लाग्ने हुनाले सफाइमा ध्यान दिन चिकित्सकले सुझाएका छन् ।

    दुई वर्षसम्म कोभिडले गर्दा बाहिर खुलेर हिँड्न नपाएका कारण अहिले स्वास्थ्य मापदण्डको बेवास्ता गरी हिँड्ने, जमघट हुने र सडक किनारमा राखिएका खाना खाने गतिविधि पर्याप्त देखिन थालेको डा. शेरबहादुर पुन बताउँछन् तर यस्ता खाना दूषित हुने सम्भावना भएकाले यिनको सेवनबाट झाडापखाला, आउँजस्ता सरुवा रोगको जोखिम हुने उनको भनाइ छ ।

    ‘कोभिड घटेपछि धेरै मानिसहरू बाहिर निस्केर खाने, सडकका खानेकुरा खाने गरेको देखिन्छ । यो मौसममा यसरी खाना खाँदा झाडापखाला र आउँ लाग्छ’, उनले भने ।

    पिउने पानी सफा नभएमा मौसमी रोगको जोखिम बढ्ने डा. पुनले बताए । राजधानी तथा अन्य सहरमा सफा पानीको नाममा जारको पानी पिउने तर जारकै पानी असुरक्षित हुने गरेको र कतिपय समुदायमा अहिले पनि उमालेको पानी पिउने प्रचलन नरहेकाले पानीबाट सर्ने रोगको संक्रमण हुने जोखिम पर्याप्त रहेको चिकित्सक औंल्याउँछन् ।

    सफाइमा ध्यान नदिँदा बर्सेनि गर्मी मौसममा झाडापखाला, आउँ, टाइफाइडजस्ता रोग लाग्ने गरेकाले पिउने पानीमा बढी चनाखो हुन डा. पुनको सुझाव छ ।

    सकेसम्म उमालेको पानी पिउने, शुद्धीकरण गरेको पानी पिउने र जारको पानी पिउनै परेमा गुणस्तरीय जारको पानी छनोट गरेर मात्र प्रयोग गर्ने गरेमा गर्मीका संक्रमणजन्य रोगबाट बच्न सकिने डा. पुनले बताए ।

    ‘जारको पानी पिएर झाडापखाला लागेका धेरै अनुभव छन् । सही कम्पनी छनोट गरेर मात्र जारको पानी पिउनुपर्छ’, डा. पुनले भने । यो समाचार नागरिक दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij