शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

"मिस्टर क्लाउड, क्रान्ति कै परिभाषा फेरिदिन मिल्छ ?"


  • 37.5K
    SHARES
  • https://indrenipost.com/posts/482
    पुष ११, २०७७ शनिबार
    "मिस्टर क्लाउड, क्रान्ति कै परिभाषा फेरिदिन मिल्छ ?"

    कमरेड रामबहादुर थापा “बादल” राजा मिडास जस्तै भएका छन् । बादलले जे छोयो त्यही क्रान्ति हुन्छ । बादलले जसलाई छोयो त्यो क्रान्तिकारी हुन्छ । मानौं, बादल क्रान्तिका प्रतिक हुन । उनलाई सिंगै क्रान्तिको बरदान छ । अहिले उनी केपी शर्मा ओलीलाई महान क्रान्तिकारी बनाउन राजा मिडास बनेका छन् र उनले ठूलो गर्जन र गौरवका साथ भनेका छन्, यो संसद विघटनको कदम एउटा असाधारण क्रान्ति हो । यसलाई हामीले क्रान्तिका रुपमा बुझ्नुपर्छ । यसलाई हामीले क्रान्तिकारी घटनाका रुपमा स्थापित गराउनुपर्छ ।

    राजकुमार श्रेष्ठ/टिप्पणी

                                             ...........................................

                                        मिस्टर क्लाउड, क्रान्ति कै परिभाषा फेरिदिन मिल्छ ? 


    एकजना मिडास नाम गरेका राजा थिए । एकदिन ती राजालाई संसारका सबैभन्दा धनी राजा हुन मन लागेछ । उनले आफ्नो इच्छा पुरा गर्न कठोर तपस्या गरे । उनको तपस्याबाट प्रशन्न भएर ईश्वर प्रकट हुनुभयो र के बर चाहियो माग्न राजा मिडासलाई भन्नुभयो । त्यसपछि राजा मिडासले ईश्वरसँग “आफूले जे छोयो त्यही सुन होस्” भनेर बरदान मागे । ईश्वरले उनलाई जे छोयो त्यही सुन हुने बदरदान दिए ।

    आफूले जे छोयो त्यही सुन हुने बरदान पाएका राजा मिडासले शुरुमा आफ्नो दरबार छोए, दरबार सुन भयो । बाटो, छोए बाटो सुन भयो, माटो छोए, माटो सुन भयो । त्यो खुसियालीमा उनले विशाल भोजको आयोजना गरे । उनले भाँडा छोए, भाँडा सुन भयो । पानी छोए, भाँडा सुन भयो । खाना छोए, खाना सुन भयो । यसरी सबैभन्दा धनी हुने इच्छाले राजा मिडास खान नपाएर भोकै परे ।

    कमरेड रामबहादुर थापा “बादल” राजा मिडास जस्तै भएका छन् । बादलले जे छोयो त्यही क्रान्ति हुन्छ । बादलले जसलाई छोयो त्यो क्रान्तिकारी हुन्छ । मानौं, बादल क्रान्तिका प्रतिक हुन । उनलाई सिंगै क्रान्तिको बरदान छ । अहिले उनी केपी शर्मा ओलीलाई महान क्रान्तिकारी बनाउन राजा मिडास बनेका छन् र उनले ठूलो गर्जन र गौरवका साथ भनेका छन्, "यो संसद विघटनको कदम एउटा असाधारण क्रान्ति हो । यसलाई हामीले क्रान्तिका रुपमा बुझ्नुपर्छ । यसलाई हामीले क्रान्तिकारी घटनाका रुपमा स्थापित गराउनुपर्छ ।"

    उहाँले आफ्नै पार्टीबाट प्रधानमन्त्रीलाई घराबन्दी गर्नुलाई प्रतिक्रान्ति भनेर परिभाषित गर्नुभएको छ । संसद विघटनको घटनालाई उहाँले प्रतिक्रान्तिविरुद्धको क्रान्तिकारी कदम भन्नुभएको छ । वास्तवमा उहाँलाई जे ठिक लाग्यो त्यो असाधारण क्रान्ति हुन्छ । उहाँलाई जे ठिक लागेन त्यो असाधारण प्रतिक्रान्ति हुन्छ । सिंगै क्रान्तिको ठेक्का कमरेड बादल कै हो ।

    तर के उहाँलाई यो प्रश्न गर्न सकिंदैन कि क्रान्तिको परिभाषा यही हो– मिस्टर क्लाउड ? के तपाईहरुको मन्त्रीपद धराममा पर्ने वित्तिकै क्रान्ति र प्रतिक्रान्तिकै परिभाषा फेरिदिन मिल्छ ? उहाँले प्रधामन्त्रीको संसद विघटनको कदमको असाधारण भएको बताउँदै यो प्रतिनिधिसभाको र जनमतको औचित्य समाप्त भएको घोषणा गर्नुभयो । जनताले लडेर ल्याएको, जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको संघीय लोकतन्त्रकै हत्या गर्ने दुस्प्रयासलाई उहाँले असाधारण क्रान्ति भन्नुभयो र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त भएका राजनीतिक उपलब्धीको रक्षाका लागि सडकमा उत्रिनेहरुलाई प्रतिक्रान्तिकारीको विल्ला भिराइदिनुभयो ।

    उहाँको ती अभिव्यक्तिहरु सुन्दै गर्दा यी सबै कुरा उहाँले सचेत रुपमै भनिरहनुभएको होला त ? कि प्रचण्डले भनेजस्तै ओलीको कदम विरुद्ध सडकमा निस्किएर बोल्न तयार गरेको भाषण वेसुरुमा बालुवाटार पुगेर बोलिबक्सनुभयो कमरेड ?

    बादल जनयुद्धको प्रचण्ड हाराहारीकै कमाण्डर हो । यो उहाँको गौरवशाली इतिहास हो । जनयुद्धका समयमा प्रचण्डका नाउमा मात्र होइन, वादलको नाउमा पनि थुप्रै योद्धाहरुले बलिदान गर्नुभएको थियो । उहाँहरुको नेतृत्वमा भएको जनयुद्धकै कारण नेपालमा राजतन्त्रको अन्त्य भयो र मुलुकमा संघीय लोकतान्त्रीक गणतन्त्र आयो । यो इतिहासको सच्चायी हो । बादल–प्रचण्डहरु गणतन्त्रका लागि मृत्यु या मुक्तिको लडाइँ लडिरहँदा ओली कमरेड भन्दै हुनुहुन्थ्यो, “गणतन्त्र आउँछ भन्नु बयलगाडा चढेर अमेरिका पुग्छु भन्नुजस्तै हो ।” वास्तवमा गणतन्त्र ल्याउन बादल गरेको योगदानसँग ओलीको तुलना गर्नु क्रान्तिकारी इतिहासकै अवमूल्यान हुन्छ ।

    आज गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताकै विरोधी केपी शर्मा ओलीलेको कित्तामा उभिएर उहाँले दिनुभएको आदेश निशर्त पालना गर्नु नै सच्चा क्रान्तिकारी हुनु हो भनेर महेश वस्नेत र गोकुल बास्कोटाहरुले भनेको त सुहाउला तर कमरेड बादलले यस्तो संकटपूर्ण घडिमा क्रान्तिको परिभाषा नै तोडमोड गरेर ओलीको आदेश निशर्त पालना गर्छु भनेको चाही फिटिक्कै सुहाएन । कत्ति पनि संगति मिलेन । त्यो भन्दा पनि गंभिर कुरा त कम्युनिष्ट आन्दोलनका लागि बादल कमरेडको क्रान्ति र प्रतिक्रान्तिको व्याख्या ओली कमरेडले गर्नुभएको संसद विघटनभन्दा खतरनाक छ ।

    बरु, उहाँले इमान्दरी पूर्वक हाम्रा लागि अब क्रान्ति चाहिएको छैन भन्नुभएको भए इमान्दारीपूर्वक कुरा राख्नुभयो भन्न सकिनेथियो । यो यहाँले आफ्नै गौरवशाली इतिहासको धज्जी उडाउनुभएको छ । क्रान्ति र प्रतिक्रान्तिको विकृत र गैरमाक्र्सवादी व्याख्या गर्नुभएको छ । यो अभिव्यक्ति हरेक सच्चा कम्युनिष्टका लागि भत्सनाको विषय बनेको छ । उहाँले जे छोयो त्यो क्रान्ति हुने बरदान पाउनुभएको भएपछि एउटा क्रान्तिकारीका लागि उहाँ विस्तारै प्रतिक्रान्तिकारी बिम्बका रुपमा ठडिदै हुनुहुन्छ ।

    कमरेड तपाईले २०७० सालको दोस्रो संविधानसभाको चुनावको समयमा घनले ब्यालेट बक्स फोरेर निर्वाचन बहिस्कार गर्न सम्पूर्ण देशबासीलाई आह्वान गर्नुभयो । अनि तपाईले त्यो बेला पनि भन्नुभयो, यो संविधानसभाको चुनावको शशक्त बाहिस्कार प्रतिक्रान्ति रोक्न गरिएको असाधारण क्रान्ति हो । त्यतिवेला प्रतिक्रान्ति रोक्न तपाईकै आदेशमा प्रचण्डको गाडिमा बम प्रहारसम्म भएको घटना इतिहास साँची छ । कामरेड बादलकै क्रान्तिकारी गर्जनबाट प्रभावित भएर क्रान्ति गर्न भनेर हिडेका विप्लव नेतृत्वको नेकपाका केही कमरेडहरु उहाँ गृहमन्त्री भएकै समयमा कथित मुडभेडका नाममा मारिए । अनि उहाँले भन्नुभयो “ती मारिनेहरु आतंकित गतिविधि गर्नेहरु हुन्, कमरेडहरु हैनन् ।” यी कुराको पनि इतिहासले हिसाव राखे कै होला ।

    उहाँले नै माओवादीको विभाजनपछि कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै प्रचण्डलाई “लाल गद्दार” बनाइदिनुभयो । पछि फेरि मोहन बैद्य कमरेडलाई विचल्लीमा पारेर प्रचण्डसँग एकता गर्न आउनुभयो र भन्नुभयो “प्रचण्ड क्रान्तिका नायक हुन् ।” आज भन्दै हुनुहुन्छ प्रचण्ड–माधवहरुको प्रतिक्रान्तिको सड्यन्त्र संसद विघटन गरेर असफ पारिएको छ । त्यसकारण यो घटना असाधारण क्रान्ति हो ।

    उहाँ क्रान्ति अनौठो छ, बुझि नसक्नुको छ । के यही हो तपाईले पढेको माक्र्सवाद ? यही हो त तपाईको क्रान्तिको शास्त्र ? आज बादलप्रति हजारौं कमरेडहरुले, हजारौं कार्यकर्ताहरुले हजारौं प्रश्नहरु उठाइरहेका छन् । के यो यक्ष्य प्रश्नको जवाफबाट कमरेड बादल भाग्न मिल्छ ? के इतिहासको विरासतले उहाँलाई भाग्न दिन्छ ?

    आफूले जे छोयो, जे गर्यो त्यहीँ क्रान्ति हुने वरदान पाएका कमरेड बादलले कुनै दिन अर्को असाधारण क्रान्तिका लागि नागार्जुन जानुभयो भने अनौठो मान्नुपर्ने छैन ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij