आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

२५ औं जनयुद्ध दिवसः क्रान्तिको निरन्तरता

  • 91.2K
    SHARES
  • https://indrenipost.com/posts/51
    फागुन १, २०७६ बिहीबार
    २५ औं जनयुद्ध दिवसः क्रान्तिको निरन्तरता

    ramdip.jpgरामदीप आचार्य, केन्द्रीय सदस्य- नेकपा

    अन्तराष्ट्रिय स्तरमा समाजवादी खेमाको नेतृत्व गरेको सोभियत संघको विघटन सँगै पूर्वी यूरोपका देशहरुमा प्रतिक्रान्तिको लहर चलेको थियो भने नेपालमा संसदीयव्यवस्था पुनस्र्थापित भएको थोरै मात्र समय भएको थियो । जनताको एउटा हिस्सामा संसदीय राजतन्त्र नै सबथोक हो भन्ने भ्रमथियो । यही प्रतिकूल अवस्थामा नेपालमा जनयुद्धको शुरुवात भएको थियो । यो छोटो लेखमा जनयुद्धलाई फर्केर हेर्ने जमर्को गरिएको छ ।

    विसौं शताव्दी क्रान्ति र प्रतिक्रान्तिका ज्वारभाटाहरुको शताव्दी

    उन्नाउसौं शताव्दीको आधाआधातिरबाट नै उदयमान पूँजीपति वर्ग र नयाँ जन्मेको सर्वहारा वर्गविचको टकरावले समाजमा सर्वोच्च स्थान ओगट्न थालीसकेको थियो । त्यही सर्वहारा वर्गको मुक्तिको निम्ति सिद्धान्त भनेर माक्र्सवादको रचना गरियो । माक्र्सवादको रचना सँगसँगै फ्रान्समा उथलपुथल देखा पर्यो । एकदम छोटो समयमात्र टिकेको मजदूर वर्गको पहिलो सत्ता पेरिस कम्युन स्थापना भयो । सत्ता सम्बन्धि भयंकर ठूला खजानाहरु दिएर इतिहासको गर्भबाट पेरिस कम्युन विलाएर गयो । प्रथम अन्तराष्ट्रिय गठन र विगठन भयो । पुन उन्नाइसांै शताव्दी सकिनै लाग्दा दोस्रो अन्तराष्ट्रियको गठन भयो ।

    विसौं शताव्दीको शुरुको दशकमै रुसमा क्रान्तिको ज्वार उठिसक्यो । ठूलो रक्तपात भयो र क्रान्तिको गलारेटियो । केहीले चिच्याउँदै भने विद्रोह गर्नु गल्ति थियो । हतियार उठाउन नहुने थियो । लेनिनले झन ठूलो स्वरमाभने विद्रोह गर्नु विल्कुल सही थियो । हतियार उठाउनु एकदम जायज थियो तर हतियार दरोसँग समात्न नसक्नु गल्ति भयो । प्रतिक्रान्तिपछि क्रान्तिको तयारी गर्न बाह्र वर्ष लाग्यो । १९१७ को फरवरीमा वुर्जुवा क्रान्ति, जसले जारशाही राजतन्त्रको अन्त गरायो भने अक्टोबरमा समाजावदी क्रान्ति जसले श्रमजीवी वर्गको पहिलो व्यवस्थित सत्ता स्थापना गरायो । साम्राज्यवादको कमजोर किल्लामा धावा बोलियो । विश्वका श्रमजीवी वर्गलाई एउटा सन्देश प्रवाह गरियो । निराश नहोऊ दुखियाहरु तिम्रा पनि दिनहरु फर्किदैछन् । पूँजीवादको विकल्पमा समाजवादी धुरीको स्थापना भयो । दोश्रो अन्र्तराष्ट्रि«यको विचलनवादी नीतिले त्यसले आफ्नो औचित्य गुमायो र तेस्रो अन्र्तराष्ट्रिय जन्मियो । विश्वव्यापी रुपमा उपनिवेशवादका विरुद्ध राष्ट्रिय मुक्तिआन्दोलनको लहर चल्यो । चीनले साम्राज्यवादबाट मुक्ति र सामान्तवादबाट मुक्तिको दोहोरो कार्यभार नयाँ जनवादी क्रान्तिबाट एकैसाथ सम्पन्न गर्यो । भियतनाम आठ फिट अग्ला गोलिका खोकाहरुको चागंमा उभिएर सिंगै देशलाई हस्तक्षेपकारी साम्राज्यवादका विरुद्ध एकताबद्ध गरेर विजयका पतका फहराउन सफल भयो । कोरियामा साम्राज्यवादीहरुले देशलाई एकताबद्ध हुन दिएनन् तर उनीहरुले क्रान्तिलाई भने मार्न सकेनन् । आजपनि साम्राज्यवादको मुटुको किला बनेर उभिएकै छ । क्युवा साम्राज्वादको नाकै मुनि उभिएर भन्दैछ हेर तिम्रो भन्दा फरक विश्वव्यस्था हामीसँग छ, जहाँ श्रमजीवीहरुमाथि उत्पिडन गरिदैन ।

    विसौं शताव्दीमा दुइवटा विश्वयुद्धहरु भए । पूँजीपति वर्गबीचको नाफाकमाउने र विश्वआफ्नो कव्जामा पार्ने होडबाजीको रुपमा युद्धहरु भए । यात विश्वयुद्धले क्रान्तिको बिजारोपन गर्छ या त क्रान्तिले विश्वयुद्धलाई रोक्छ भन्ने भनाई सही सावित भयो । पहिलो विश्वयुद्धले अक्टोबर क्रान्तिलाई जन्म दियो भने दोस्रो विश्वयुद्धको गर्भबाट चीनीयाँ नयाँ जनवाद जन्मियो ।

    विसौं शताव्दी सफलताहरुको शताव्दी मात्र होइन, पराजयकाअनन्तश्रृखलाहरु पनि छन् । अफगानिस्तानमा साम्राज्यवादी षड्यन्त्र सफल भयो । मलायाको जंगल क्रान्तिकारीहरुको रगतले लत्पतियो । वर्मामा उठेको ठूलो छाल समुन्द्रमा नपुग्दै सुक्यो । विसौं शताव्दीकै ठूलो राजनैतिक आमसंहार इन्डोनेसियामा भयो । संसारकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी आम नरसंहारको शिकार भयो । त्यस्तै चिलिमा निर्वाचित राष्ट्रपति एलेण्डेको सरकार लोकप्रियताकै कारण साम्राज्यवादकै पालित पोषितद्धारा सैनिक कू मात्र गराएनन् राष्ट्रपति सहितको आम संहार गरेर अन्त गराए । दक्षिण अमेरिकाको अत्यन्तै सफल जनयुद्ध पेरुको राजधानी लिमा कब्जाको तयारीमै रहेको बेला अकस्मात कमरेड गोञ्जालोको गिरफ्तारीसगँै सिद्धियो । अहिले आयाकुचोको आधारइलाकामा कमरेडहरु भेटिदैनन् । त्यहाँका आदीवासीहरुलाई भविष्यमा समेत विद्रोह नहोस् भनेर लिमामा लगिएको छ र प््mयाक्ट्रीमा काममा लगाइएको छ । तैपनि चे र चाभेजका हुँकारहरुबाट दिक्षित दक्षिण अमेरिकीहरु नवउदारवादी साम्राज्यवादी भूमण्डलीकरणको विकल्पमा निरन्तर प्रयत्नशिल छन् । अफ्रिकातिर कतै भिल्काहरु देखिन्छन् । यूरोपमा वैकल्पिक व्यवस्थाको खोजी हुँदैछ । दण्डकारण्यतिर अहिले पनि कमरेडहरुले एक्बुस थापिरहेका छन् भने कन्हैया कुमारहरु खुलेयाम पूँजीवादमाथि धावा बोलिरहेका छन् । फिलिपिन्समा सत्तरी वर्षका कमरेडहरु अहिले पनि थाकेका छैनन् । एके फोर्टी सेभेन बोकेर हिडिरहेका छन् । चीन चीनीयाँ विशेषताको समाजावाद बनाउने अभियानमै लागिरहेको छ ।

    संसारभरीका समाजवादीहरुको विम्व बनेको समाजवादी धुरी सोभियत समाजवाद ढलेको थियो र दोस्रो विश्व युद्धमा फाँसीवादको पराजयसँगै निर्मित बर्लिनको पर्खाल भत्काइएको थियो । पूर्वी यूरोपमा प्रतिक्रान्तिको लहर चल्यो । विसौं शताव्दी सकिनै लाग्दा नेपालमा जनयुद्धको आँधी उठेको हो । अत्यन्त प्रतिकूल अवस्थामा । समाजवादी इतिहासको अन्त भयो भनेर स्याल हुइँया गरिरहेको बेला मानवजाती रहेसम्म समाजवाद र माजवजातिको मुक्तिको अभियान रोकिदैन भन्ने शंखघोष गर्दै नेपालले एउटा शंकल्प गर्यो सगरमाथातिर हेर नयाँ विश्व जन्मदैछ ।

    नेपाली जनयुद्धमा क्रान्ति र प्रतिक्रान्तिका प्रवाभ

    नेपाली जनयुद्ध पनि अरु देशमा चलेका क्रान्ति र प्रतिक्रान्तिका प्रवाभहरुबाट अछुतो रहने कुरै भएन । रुस र चीनवामाओ र ख्रुश्चोव वा दुई धारबीचको लडाइँमा नेपालले आफ्नो धेरै विशेषता चीनियाँ क्रान्तिसँग मिल्ने निक्र्याैल गर्यो । पहिलो नेपाली क्रान्तिले अर्ध सामन्ती र अर्ध औपनिवेशिक नेपालको अवस्थालाई बदल्ने र पूँजीवादी जनवादी क्रान्ति हँुदै स्वाधिन नेपाल निमार्ण गर्ने । सामन्तवादको राजनीतिक प्रतिनिधि राजतन्त्रको अन्त्य गर्ने, राजतन्त्रलाई भरथेग गर्ने संरचनाहरु एकात्मक र केन्द्रीकृत शासन प्रणाली, एकलजातीय हैकम, राज्यसँगजोडिएर गरिने एकल धार्मिक वर्चश्व, किसानहरुलाई उत्पीडन गर्ने जमिन्दारी लगायतका प्रथाहरु, मजदूरहरुको निर्मम शोषण, शिक्षा र स्वास्थ्यमा निश्चित वर्गको वर्चश्व समेतको अन्त्यको जरुरी थियो । यी सबमा राज्यसत्ताले बलपूर्वक अड्डा जमाएर बसेको थियो र त्यसलाई एउटा धक्काको जरुरत थियो । त्यही धक्काको काम जनयुद्धले गर्यो । त्यो जनयुद्धको चरित्र दीर्घकालिन हुने, पार्टी, सेना र संयुक्त मोर्चाको प्रयोग गरिने तर पार्टी नै मुख्य हुने, गाँउलाई आधार मान्ने तर शहर पनि नछोड्ने, सशस्त्र संघर्ष मुख्य हुने तर जनसंघर्षलाई पनि नछोड्ने आदि कार्यशैली अबलम्बन गरियो ।

    जनयुद्धले एकपछि अर्कोगर्दै छालमय विकास गर्यो । भयानकदमन र शक्तिशाली प्रतिरोधका अनन्त श्रृखलाहरु जनयुद्धका नियमित कार्यजस्तै भए । यति विशाल मात्रामा प्रतिरोध र जनपरिचालन हुन थाल्यो कि राज्यको सम्पूर्ण संयन्त्रको परिचालन पनि नकाम सावित भयो । देशमा त्रिकोणात्मक शक्ति संघर्षको अवस्था उत्पन्न भयो । निरंकुश राजतन्त्र, संसदीय धारका राजनीतिक दलहरु र जनयुद्धरत माओवादी । बाह्रबुँदे सहमति, जसले तीन धारलाई दुई धारमा रुपान्तरण गरिदियो । अब संसदवादी राजनीतिकदलहरु र माओवादी मिलेर एकै निशानामा प्रहार गर्न थाले निरंकुश राजतन्त्र माथि । त्यसकै परिणाम थियो दोस्रो जन आन्दोलन । दोस्रो जनआन्दोलनले युद्धको समस्यालाई राजनैतिक ढंगले हल गर्यो । जनताले आफ्नो कानुन आफै बनाउन पाउने माओवादी वार्ताको एक प्रमुख मागलाई राष्ट्रिय एजेण्डा बनाउने, संविधान सभामार्फत् राजतन्त्रको विदाई गर्ने, देशलाई संघिय गणतन्त्रात्मक ढाँचामा रुपान्तरण गर्ने, राज्यबाट धर्म अलग गर्ने र धर्म निरपेक्ष बनाउने , एकल जातिय हैकमलाई समानुपातिक प्रणाली मार्फत् हल गर्ने । यी सबै माओवादी प्रस्तावहरुमा अन्यदलहरु सहमतभए । नयाँ प्रणालीमा प्रवेश गरेपछि शान्तिपूर्ण प्रतिस्पर्धालाई माओवादीले स्वीकार गर्यो र आजको ठाँऊमा हामी उभिएका छौं । आज जसलाई हामी उपलब्धी भनिरहेका छौं तिनीहरु सबै जनयुद्ध र जनआन्दोलनको जगमा खडा भएका छन् ।

    नेपाली जनयुद्धको बाँकी कार्यभार 

    नेपाली जनयुद्धले पुरा गर्न नसकेको र बाँकी रहेको कार्यभार हो- समाजवादी गणतन्त्र स्थापना गर्नु । माथि भनियो राज्यको नयाँ ढंगले रुपान्तरण गर्ने र प्रतिस्पर्धा नयाँ ढंलगे गर्ने प्रक्रियामा सहमतभएर एउटै कार्यनीति अंगिकार गरेपछि कम्युनिष्ट आधारका दुई ठूला पार्टीहरुको विचमा एकता गरेर नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) बनेको छ । यहाँ स्मरणीय विषय यो छ कि यो प्रतिस्पर्धा राजतन्त्रात्मक प्रणाली भित्रको नभएर संघीय गणतन्त्रात्मक प्रणाली भित्रको हो । जुन नीतिलाई जनयुद्धकालमै एक्काइसौं शताव्दीको जनवादको विकासको प्रस्तावनामा तत्कालिन माओवादीले उल्लेख गरेको थियो ।

    क्रान्तिजारी छ, वा क्रान्ति पूरा भयो वा क्रान्तिमाथि धोका भयो ? नेपालको कम्युष्टि आन्दोलनमा यसबारे निरन्त बहस चलिरहेको छ । विसौं शताव्दीका वर्ग संरचना, समाजको विकासमा थुप्रै बदलाव आएको छ । अहिलेको समाजलाई चौथौ औद्योगिक क्रान्तिकाल भनिन्छ । उस्तै रुपको सर्वहारा वर्ग त छैन तर मेसिनले विस्थापित गर्ने नयाँ तप्का पैदा हँुदैछ । मध्यमवर्गको संख्या निर्णायक हुँदैछ । विसांै शताव्दीलाई श्रमीकवर्गहरु प्रभावी रहेको शताव्दी भनिन्थ्यो भने एक्काइसौं शताव्दीलाई मध्यमवर्ग प्रभावी रहने शताव्दी भनिदैछ । क्रान्ति समाजको अभिन्न अंग हो र यो निरन्तर प्रवाह हो । यो न त रोकिन्छ न मर्छ नै । यो आफ्नै मौलिकतामा अगाडी बढ्छ ।

    आजको दुनियाँ विज्ञान र प्रविधिको भरपुर प्रयोग गर्ने अवस्थामा छ । सामाजीक जीवनका सर्वत्र अंग प्रविधिविना चल्नै नसक्ने भएका छन् । शोषणको तरिकामा बदलाव आएको छ तर असमानताको खाडल झन् भयावह हुँदैछ । मुट्ठीभर मान्छेहरुको हातमा संसारको धनराशी थुप्रिदैछ । आजवस्तु उत्पादन र श्रम विभाजनको चरित्र विश्वव्यापी भएको छ । विचारको विकास र क्रान्तिको तरिकामा विकास नगरी हामी अगाडी बढ्न सक्दैनौं । क्रान्ति सम्बन्धी पुराना मान्यताबाट पनि मुक्त हुनु छ । साथै परम्परागत संसदवादको आहालबाट पनि बच्नु छ । यही हो आजको चुनौती । जनयुद्धले हामीलाई यो ठाँउमा ल्याइ पुर्याएको छ । निरन्तर अगाडि बढ्न शहिदको रगत र जनताको पसिनाले खबरदारी गरिरहेको छ ।

    (आचार्य  समाजवाद अध्धयन प्रतिष्ठान नेपालका अध्यक्ष हुन)

     

     

     

     

     

     

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij