गुल्मी, १९ साउनः अविरल वर्षाका कारण गुल्मी जिल्लाका तीनवटा प्रमुख सडकहरू आइतबार रातिदेखि पूर्णरुपमा अवरुद्ध बनेका छन् । कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक बन्द भएपछि स्थानीयवासी र यात्रुहरू मारमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका–१ को गरगरे, वडा नम्बर–२ को मिल्क र वडा नम्बर–३ स्थित कनौटामा सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको जानकारी दिएका छन । यसैगरी, रिडी–तम्घास सडकखण्डको रुरुक्षेत्र गाउँपालिका–३ स्थित सल्लेरीमा पहिरो खस्दा सडक पूर्णरुपमा बन्द भएको छ ।
त्यस्तै, रिडी–वामीटक्सार सडकखण्डको सत्यवती गाउँपालिका–६ स्थित डहरे खोला र वडा नम्बर–५ को बादरेभीरमा बाढीपहिरो खसेपछि सडक आवागमन ठप्प भएको प्रहरी कार्यालयले जनाएको छ । लगातार वर्षा भइरहेकोले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ ।
यता, बडिगाड खोलामा पानीको सतह बढ्दै गएपछि आसपासका क्षेत्र थप जोखिममा परेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरो सम्भावित क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन र सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले गुल्मीका करिब २०० भन्दा बढी स्थानलाई बाढीपहिरोको उच्च जोखिममा राखेको जनाएको छ ।