शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

कोशी प्रदेशमा १ वर्षमा ८ कानुन निर्माण गर्न साढे २० करोड स्वाहा


  • 541
    SHARES
  • https://indrenipost.com/posts/6916
    फागुन १४, २०८० सोमबार
    कोशी प्रदेशमा १ वर्षमा ८ कानुन निर्माण गर्न साढे २० करोड स्वाहा

    कोशी । कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा प्रदेशसभाले हालसम्म आठवटा विधेयक पारित गरेको छ ।

    गत वर्षको पुस १७ मा प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । त्यसयता पाँचवटा सरकार गठन र दुईपटक सभामुख निर्वाचन गरेको कोशी प्रदेशसभाले हालसम्म आठ वटा कानुन निर्माण गरेको हो ।

    प्रदेशसभाको दोस्रो कार्यकालको पछिल्लो १४ महिनाको अवधिमा चार वटा प्रदेशसभा अधिवेशन सम्पन्न हुँदा जम्मा ४६ वटा बैठक बस्यो । जसमा ११ वटा विधेयक दर्ता भए ।

    आठवटा प्रमाणीकरण भएका छन् भने तीनवटा विधेयक निष्क्रिय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा प्रतिवर्ष २० करोड ५४ लाखको हाराहारीमा खर्च हुने गरेको छ ।

    प्रदेशसभाको पहिलो पाँच वर्षमा एक अर्ब दुई करोड ७० लाख ३४ हजार खर्च भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    यसमा प्रदेश पदाधिकारी, प्रदेशसभा सदस्य, सचिवालयका कर्मचारी, स्वकीय सचिव, प्रदेशसभा सचिवालयका कर्मचारीको पारिश्रमिक, सुविधा, कार्यालय सञ्चालन जस्ता चालु प्रकृतिका खर्च समावेश छन् ।

    प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले प्रदेशसभाको हिउँदे अधिवेशनमा १३ वटा बैठक बस्दा तीन वटा विधेयक दर्ता भएकोमा दुईवटा पारित भएको जानकारी दिए ।

    यस अधिवेशनमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक र केही प्रदेश ऐनलाई संशोधन गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित हुँदा प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक निष्क्रिय बनेको थियो ।

    यस्तै, बजेट अधिवेशनमा ६ वटा बैठक बस्दा दुई वटा विधेयक दर्ता भएकोमा एउटा प्रमाणीकरण भयो ।

    प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक सर्वसम्मतले पारित भई प्रमाणीकरण भएपश्चात साविक प्रदेश नम्बर १ लाई विस्थापित गरी सबै ऐनमा कोशी प्रदेश कायम भएको थियो ।

    तर, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक निष्क्रिय बनेको सचिवालयले जनाएको छ ।

    तेस्रो अधिवेशनमा पाँचवटा बैठक बस्दा चार विधेयक दर्ता भएका थिए, जसमध्ये दुईवटा विधेयक पारित भएको थियो ।

    सूचना अधिकारी ढकालले यस अधिवेशनमा प्रदेश निजामति सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भयो भने आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निष्क्रिय भएको बताए ।

    २३ वटा बैठक बसेर समापन भएको चौथो अधिवेशनमा तीनवटा विधेयक दर्ता भएकोमा सबै पारित भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी ढकालको भनाइ छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij