काठमाडौं । सरकारले चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप ल्याएको छ । नेपाल एयरलाइन्सको जहाज खोप लिएर शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।
निगमको वाइडबडी-३३० जहाज बिहीबार खोप लिन नेपालबाट बेइजिङ गएको थियो । सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो ।
स्वास्थ्य विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा.सागर दाहालले अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिए । जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट अनुदानमा आएको हो ।
अहिलेलाई चीनबाट ४४ लाख डोज खोप आएको र थप खोप पनि ल्याउन कुराकानी भइरहेको छ ।