मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

पीएनजीविरुद्ध नेपालको सहज जित


  • 469
    SHARES
  • https://indrenipost.com/posts/7241
    फागुन २९, २०८० मंगलबार
    पीएनजीविरुद्ध नेपालको सहज जित

    काठमाडौं । कुशल भुर्तेलको अलराउन्डर प्रदर्शनप्रेरित नेपालले हङकङमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ८५ रनको सहज जित निकालेको छ ।

    मंगलबार हङकङको मिसन रोड मैदान मोङकोकमा भएको खेलमा नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजीले १६.१ ओभरमा सबै विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो । पीएनजीका हिरी हिरीले २८ रन बनाए । ओपनर सेसे बाउले २१ र टोनी उराले १३ रन थपे । नोसाइना पोकानाले १२ रन जोडे ।

    नेपालबाट अलराउन्डर प्रदर्शन गरेका कुशल भुर्तेलले चार विकेट लिए । घातक बलिङ गरेका भुर्तेलले चार ओभरमा १२ रन मात्र खर्चिए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो अहिलेसम्मकै उत्कृष्ट बलिङ फिगर हो । उनले यसअघि ३५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दा तीन विकेट मात्र लिएका थिए ।

    पीएनजीविरुद्ध पहिलो इनिङमा भुर्तेलले नेपालबाट अर्धशतक बनाएका थिए । यस्तै, प्रतिश जिसीले दुई र आकाश चन्दले एक विकेट लिए । त्यसअघि, दुई ब्याटरले अर्धशतक बनाउँदा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएको थियो ।

    नेपालका ओपनर भुर्तेलले ३९ बलमा समान चार चौका र छक्कासहित ५९ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो आठौँ अर्धशतक हो । सन्दीप जोराले २६ बलमा तीन चौका र चार छक्कासहित ५६ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको यो दोस्रो अर्धशतक हो ।

    ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा सन्दीपको यो व्यक्तिगत उच्च स्कोर समेत हो । उनले यसअघि सन् २०१९ मा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ५३ रन बनाएका थिए । ओपनर भुर्तेलले पहिलो विकेटका निम्ति अर्का ओपनर विनोद भण्डारीसँग ७.३ ओभरमा ६४ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

    विनोदले २२ बलमा दुई चौका र एक छक्कासहित २७ रन थपे । अविजित रहेका गुल्सन झा र विवेक यादवले १५ र १९ रन बनाए । लोकेश बलले १४ रन जोडे । पीएनजीका असद भालाले दुई विकेट लिए । नोसाइना पोकाना, जोन कारिको र नोर्मन भानुआले समान एक विकेट लिए । शृंखलमा नेपालको यो दोस्रो खेल हो ।

    यसअघि, नेपाल र हङकङबीचको खेल वर्षाका कारण बिनानतिजा टुंगिएको थियो । पीएनजीको यो पहिलो खेल हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij