काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम हुँदै आएको छ । सो क्रममा चैत २१ गते बिहीबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको छ । यो मूल्य मूल्य हालसम्मकै उच्च हो । चार दिनदेखि बढेर रेकर्ड बनेको सुनको मूल्य चैत २० गते बुधबार भने सस्तिएको थियो ।
यसअघि चैत १९ गते मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य १ हजार ८०० रुपैयाँले बढेर १ लाख ७९ हजार ७०० रुपैयाँ पुगेर रेकर्ड कायम भएको थियो । महासंघका अनुसार चैत २० गते बुधबार सुनको भाउ रेकर्ड मूल्यबाट तोलामा ६०० रुपैयाँ घटेर १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार बिहीबार एक तोला चाँदीको भाउ १९९५ रुपैयाँ तोकिएको छ । यो मूल्य बुधबारको तुलनामा २५ रुपैयाँ कम हो । बुधबार पनि चाँदी तोलामा १५ रुपैयाँले सस्तिएर २०२० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३१४३ दशमलव ५९ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । यस्तै अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस ३३ दशमलव २४ डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजार भाउको आधारमा नेपालमा सुन चाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।