काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारदेखि आजसम्मको २४ घण्टाको अवधिमा ५९ जिल्लामा एक सय नौ वटा विपद्जन्य घटना भएका छन् । ती घटनामा परेर मावनीयसँगै ठूलो आर्थिक क्षति भएको छ ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले चट्याङ लागेर तीनजनाको मृत्यु भएको जनाउँदै १३ जना घाइते भएका बताए । उनले हावाहुरीका कारण एक जना र जनावरको आक्रमणबाट दुई जना घाइते भएका उल्लेख गरे ।
यस्तै २२ वटा पशुचौपाय पनि मरेका छन् । ती घटनाबाट दुई करोड ९० लाखको आर्थिक क्षति भएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार १२ जिल्लामा आगलागी, १३ जिल्लामा चट्याङ, १७ जिल्लामा हावाहुरीका घटना भएका छन् ।
आगलागीका १४ घटना भएका छन् भने चट्याङका १७ घटना भएका प्राधिकरणका प्रवक्ता केसीले जानकारी दिए ।