बिगत केही समय पहिला चीन को हुबेइ प्रान्त स्थित वुहान शहरबाट फैलिएको कोरोना नामक (कोभिड १९) भाइरस संसारभर फैलने क्रममा छ । छोटो समयमा धेरै मानिसको ज्यान लिन सफल कोरोनाले यतिबेला संसारलाई चिन्तित तुल्याउदै बिज्ञानलाई समेत चुनौती थपिदिएको छ । किनकी हालसम्म यसको कुनै पनि निश्चित औषधी पत्ता नलागेको बैज्ञानिकहरुले बताएका छन् ।अहिलेसम्म चीनसहित ५१ देशमा कोरोना भाइरस फैलिएको तथ्यांक फेला परेको छ भने संक्रमित संख्याका आधारमा कोरिया दोश्रो नम्बरमा रहेको छ । कोरियामा एक हप्तामा पच्चीस सय नयाँ संक्रमीत थपिदै हाल ३ हजारको हाराहारीमा कोरोना पिडित रहेका छन् । तर यो संख्या दैनिक ५ सय भन्दा बढीको दरले वृद्धि भैरहेको छ । मृतक संख्याका आधारमा चीन र इरान पछि कोरिया तेश्रो नम्बरमा रहेको छ । यो आलेख तयार पार्दासम्म कोरोना बाट एक बिदेशी सहित १६ जना कोरियन नागरिकको मृत्यु भैसकेको छ ।
कोरोना एक प्रकारको मौसमी सरुवा रोग जस्तै भए पनि दिन प्रतिदिन नयाँ नयाँ संक्रमित सन्ख्या बढ्दै जादा यसले महामारी को रुप लिदै गएको बुझिन्छ । वुहान शहर कै अनुपातमा मानिसहरुको मृत्यु हुँदै गएमा कोरोनाबाट बिश्वभर ४ करोड मानिस मर्न सक्ने बिश्व स्वास्थ्य संगठनले बताइसकेको छ । यस्तो डरलाग्दो चेतावनीसँगै बेलैमा औषधी पत्ता लाग्न नसक्दा झन सर्बत्र चिन्ताको ग्राफ बढेको छ। कतिपय बैज्ञानिकहरुले कोरोना धेरै चिसोमा मात्र सकृय रहने हुनाले तापक्रम वृद्धि हुनासाथ यो स्वत निष्क्रिय हुने कुरा बताएका छन् । सिङ्गापुरमा अहिले ३० डीग्री सेल्सियसभन्दा बढी तापक्रम रहदा त्यहा कोरोना उत्साह जनक रुपमा नियन्त्रण भैरहेको देखिन्छ । यसबाट के बुझ्न सकिन्छ भने उच्च तापक्रममा कोरोनाको असर त्यति सकृय नरहने कुराको पुष्टि हुँदै पनि गएको छ ।
शुरुवाती चरणमा कोरोनाले विशेष गरि दिर्घ रोगी र निकै उमेर भैसकेका वृद्ध मानिसहरुलाइ आक्रमण गरेको पाइए तापनी हाल युबाहरुको शरीरमासमेत सजिलै कोरोना प्रबेश गरेको देखिएको छ । अहिले कोरोनाले कुनै पनि उमेर समूह नहेरेको र यो विषेश प्रकारको घातक भाइरस रहेको कुरा चिकित्सकहरुले बताउन थालेका छन् । यस सम्बन्धित अधिकाशं बिरामीहरुको लक्षण तुलना गर्दा रुघाखोकी लाग्ने ,घाँटी दुख्ने ,स्वासप्रस्वास प्रणालीमा समस्या हुने ,अत्यधिक मात्रमा ज्वरो आउने ,मुटु ,कलेजो किड्नी जस्ता मानव मुख्य अंग हरुलाइ तत्कालै निष्क्रिय बनाइदिने जस्ता कार्यहरु यसले गर्ने गरेको पाइएको छ ।
कोरोनाबाट कसरी बच्ने ?
कोरोना भाइरस ठ्याक्कै यसरी नै उत्पत्ति भयो भन्ने कुनै ठोस आधार अहिलेसम्म नभेटिएता पनि चीनको वुहान शहरमा एक चिनिया युवतीले स्तनधारी पन्छी चमेरोको सुप बनाएर खाएपछि उक्त युवतीमा कोरोना भाइरस देखा परेको भन्ने हल्ला व्यापक छ । उक्त हल्लालाई कतिपयले आधारहिन हल्लाको संज्ञा दिएतापनि कोरोना मृत पशु पन्छीबाट नै मानव शरीरमा प्रबेश गरेको भन्ने कुरा चाहिँ बैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् ।
त्यसकारण पहिलो साबधानी अन्तरगत केही समय फ्रोजन नगरिएका पशुपन्छीको मासुबाट टाढा रहनु पनि एक हो ।दोश्रो भनेको कोरोना अत्यन्तै कडा खालको भाइरस भएकोले संक्रमीत एक व्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै सर्ने हुँदा साबधानी अपनाउँदै मास्क प्रयोग गर्ने , निरन्तर हात धुने ,तातो ठाउमा बस्ने , सूर्यको किरण शरीरमा पार्ने , धेरै भिडभाडमा नजाने ,अल्कोहल स्प्रे प्रयोग गर्ने जस्ता प्रथामिक सुरक्षा अपनाउन सकिने कुरा चिकित्सकहरुले बारम्बार बताएका छन् । जुन कुरा तपाईं हामीले निरन्तर सुन्दै पनि आएका छौं ।
कस्तो छ कोरियाको अबस्था ?
केही दिन अगाडी राष्ट्रपति मुन जे इन ले अभुतपूर्ब साहस बटुलेर राज्यका सम्पुर्ण संयन्त्रहरुलाई कोरोना बिरुद्द लागि पर्न आदेश दिएका थिए । तर यस्तो उच्च साबधानी, पर्याप्त श्रोत साधन र उचित परिचालन हुँँदा हुँदै पनि कोरोनाले कोरियालाई अत्यन्तै आक्रान्त बनाएको कुरामा कुनै दुर्इमत छैन । कोरोना नियन्त्रण गर्न कोरिया सरकारले कुनै कसुर बाँकी नराख्ने जनाएता पनी एक डेढ हप्ताको अबधीमा यहाँ बिकराल स्थितिको सृजना भैसकेको छ । बिशेष गरि कोरियाको राजधानी सौलबाट झन्डै ३ सय किलोमीटर टाढा रहेको कोरियाको ५ औ ठूलो शहर थेगु शहर कोरोनाबाट सबैभन्दा बढी प्रताडित बनेको छ । थेगु शहरमा अहिले २ हजार भन्दा बढी कोरोना संक्रमीत ब्यक्तिहरुको पुष्टि भैसकेको छ । भने कोरिया सरकारले उक्त शहरलाई आंशिक रुपम लक डाउन घोषणा गरेको छ । अन्य शहरहरुमा छिटफुट सन्ख्यामा देखिएका छन् ।
थेगु शहर आसपासमा यकिन तथ्यांक नभए पनि ५ हजार भन्दा बढी नेपालीहरु रहेको आकलन गर्न सकिन्छ । उक्त स्थान मा रहने नेपाली हरु सबैभन्दा जोखिम को ुरातो घेराु भित्र रहेका छन् ।कोरिया सरकारले उक्त क्षेत्र भित्र अनिश्चित कालीन रुपमा कुनै पनि हुलहुज्जत हुने काम नगर्न आदेश दिएको छ ।तर यातयात , कम्पनी ,सपिङ्ग सेन्टर, बैंकहरु निर्बाध रुपमा चलिरहेका छन् । प्राय कोरियन नागरीक हरुमा सामान्य साबधानी अपनाउनु बाहेक अन्य कुनै पनी मनोबैज्ञानिक त्रास नरहेको देखिन्छ ।
के भन्छन् नेपालीहरु ?
केही दिन पहिला नेपाली राजदुताबास कोरियाले एक बिज्ञप्ति जारी गरेर अहिलेकै अबस्थामा कुनै पनि चिन्ता नलिन र तोकिएका साबधानीहरु अपनाएर सुरक्षित रहन आग्रह गर्दै एक बिज्ञप्ती जारी गरेको थियो । भने कुनै पनि समस्या आइहालेमा दूताबासलार्इ जानकारी गराउनसमेत आग्रह गरेको थियो । त्यसपछिका दिनहरुमा पनि सामाजिक सञ्जाल मार्फत दूताबास र दूताबासका प्रतिनिधिहरुले निरन्तर जस्तै सचेत रहन आग्रह गरिरहेकै पाइएको छ ।
यो पंक्तिकारले थेगु सहित अन्य शहरमा रहेका र सम्पर्कमा आएका केही नेपालीहरुसँग सम्पर्क गर्दा अधिकाशं चिन्तित रहेको पाइयो । कोरोना त्रासका कारण केही नेपालीहरु कोरिया नै छोडेर हिडेको समेत पाइयो ।खनाम उल्लेख नगर्ने सर्तमा स्याङ्जाका एक युवक कोरोना त्रासका कारण कोरियाको बाँकी भिसा छाडेर हिड्न ठिक्क परेको बताए ।कम्पनीले बिदा नदिने र अन्यत्र काम गर्न चाहिने लेटर समेत नदिने भनेकाले कोरिया नै छोड्नु परेको उनको भनाइ थियो । उनका अनुसार उनीसहित ५ जनाले उक्त निर्णय गरेर सामुहिक रुपमा प्लेन टिकट लिइसकेको बताए ।
तर धेरै नेपालीहरु यहि अबस्थामा चाहिँ त्रसित हुनु नपर्ने कुरामा बिश्वस्त बनेका छन् । साबधानी अपनाउदा अपनाउँदै पनि कोरोना बाट संक्रमीत भैहालेको खण्डमा कोरियाको विश्व स्तरीय उपचार पद्धति र सरकारको जिम्मेवारी र जबाफदेहिता देखेर पनि तत्काल कोरियाप्रति शसंकित बन्नु पर्ने अबस्था नरहेको बताउछन् ।
कोरोना बाट स्वस्थ्य ब्यक्तिहरुले खासै चिन्ता मान्नु पर्ने अबस्था नरहेको स्वास्थ्यकर्मी हरुले पनि पटक पटक बताउदै आएका छन् ।यदि कुनै पुराना रोग हरु बाट पिडित ब्यक्ती हरु हुनुहुन्छ र नियमित औषधि सेवन गर्ने ब्यक्ती हुनुहुन्छ भने त्यस्ता ब्यक्ति का लागि कोरोना अत्यन्तै हानिकारक हुने कुरा पनि बारम्बार जानकारीमा आइसकेकै छ ।
के मा चिन्ता छ नेपाली हरुलाई ?
कोरियामा रहेका शतप्रतिशत नेपालीहरु नेपालप्रति अत्यन्तै चिन्तित छन् ।अधिकामशं नेपालीहरु नेपाल सरकारको गैरजिम्मेवार पन र कोरोनाप्रतिको हेलचेक्र्याइ देख्दा अत्यन्तै दुखी छन् । चीन ,इरान, सिङ्गापुर, कोरिया जस्ता श्रोत साधान सम्पन्न मुलुकले समेत कोरोनालाइ नियन्त्रण गर्न सकेका छैनन् भने केही गरि नेपालमा यो रोग सल्कियो भने यसले कुन रुप धारण गर्ला भन्ने चिन्ता सबैमा रहेको पाइएको छ । यहि बिषयलाई लिएर सामाजिक सन्जालहरुमा सबैले आ आफ्ना चिन्ता सहितका धारणाहरु सार्बजनिक गरिरहेका छन् ।
वुहान बाट १८० जना नेपाली लाई ब्यबस्थापन गर्न नेपाल सरकारलाइ दुइ हप्ता भन्दा बढी समय लागेको थियो भने भोलि कोरिया बाट नेपाल फर्कनु परेको खण्डमा यति धेरै नेपालीलाइ कसरी ब्यबस्थापन गर्ने त्यो बिषयमा नेपाल सरकारले अहिले नै पूर्वधारहरु खडा गरेर राखोस र खुल्ला सीमा तथा बिमानास्थलबाट भित्रीने जो कोही ब्यक्तिलाई उच्च निगरानीमा राखोस भन्ने कोरियामा रहेका नेपालीहरुको साझा भनाइ रहेको समेत देखिएको छ ।