मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

 ‘निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्‍याएको छ’: सभापति देउवा 


  • 181
    SHARES
  • https://indrenipost.com/posts/8895
    बैशाख १५, २०८२ सोमबार
     ‘निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्‍याएको छ’:  सभापति देउवा 

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निजी क्षेत्रले अर्थतन्त्रको विकासमा  ठूलो टेवा पुर्‍याएको बताएका छन् ।

    नेपाली काँग्रेसको उद्योग तथा व्यापार विभागद्वारा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्रले उठाएका ‘एजेन्डा’ सम्बोधन गर्न सरकारले सहयोग गर्नुपर्ने बताए ।

    “स्वदेशमा उत्पादित वस्तु बजार प्रवर्द्धन गर्न उद्योग व्यवसायलाई प्रवर्द्धन गर्नुपर्छ । स्वदेशी वस्तुको उत्पादन बढाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ । रोजगारी बढाउन निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक छ,” उनले भने, “डिजिटल अर्थतन्त्रले पनि ठूलो हिस्सा ओगटेको छ । आगामी आर्थिक वर्षको बजेट डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने किसिमको हुनुपर्छ । यसबाट सूचना प्रविधिको प्रवर्द्धनमा टेवा पुग्ने छ ।” सभापति देउवाले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने र आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे ।

    नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता समीकरणलाई निरन्तरता दिइने विश्वास दिलाए । “अहिलेको सत्ता समीकरण निरन्तर अगाडि बढ्छ । तर यसका लागि सरकारले मन जित्ने गरी काम गर्नुपर्छ,” उनले भने ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण राज्यले तयार गर्नुपर्ने र सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्रले सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

    नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले विदेशी नागरिकलाई ‘अपार्टमेन्ट’ बिक्री गर्दा फाइदा हुने भन्दै यसबाट पर्यापर्यटनको विकासमा पनि सहयोग पुग्ने बताए । कृषिमा वैदेशिक लगानी भित्र्याउन नीति अवलम्बन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij