काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासलाई पछाडि फर्काउने खोज्ने प्रतिगामीहरूलाई गतिलो जवाफ दिने बताएका छन् । शनिबार काठमाडौँमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको प्रथम बागमती प्रदेश अधिवेशन उद्घाटन गर्दै प्रचण्डले अहिले पनि यथास्थितिवादी र प्रतिगामीहरूले इतिहासलाई पछाडि फर्काउने र प्राप्त उपलब्धिहरूलाई खोस्ने दुस्साहस गरेको भन्दै गतिलो जवाफ दिने बताएका हुन् । अहिले सडक र सदनबाट माओवादीले खबरदारी गरिरहेकाले आवश्यक परे ठुलो आन्दोलन समेत गर्ने उनको भनाई थियो ।
प्रचण्डले समग्रमा सवैतर्फ माओवादीको गतिशीलता बढेको र जनताको विश्वास पनि बढ्दै गएकाले आफ्नै खुट्टामा आगामी चुनाव लड्ने आधार तयार हुँदै गएको धारणा राखे । प्रचण्डले ८४ को निर्वाचनमा माओवादी पहिलो पार्टी भएर समाजवादको आधार पारेरै छाड्ने उद्घोष गरे । उनले सामाजिक सञ्जालमा माओवादी एक नम्बरतिर उकालो लाग्दै गरेको भन्दै त्यसले जनमतलाई आकर्षित गरेको दाबी गरे ।
प्रतिगमनकारी शक्तिलाई परास्त गरी जनताको ठुलो त्यागबाट प्राप्त संघीय गणतन्त्रको रक्षा गर्ने जिम्मा आफूहरूकै भएको बताए । माओवादी केन्द्रले सञ्चालन गरेको गतिविधिबाट जनतामा आशा र भरोसा जगाएको उनको भनाइ छ ।
उनले भने, ‘पार्टीको अभियानहरू, सम्मेलनहरू अधिवेशनतिर जाने प्रक्रियाहरू विभिन्न जातीय क्षेत्रीय मोर्चाका अधिवेशनहरू जनसंगठनहरु सबैमार्फत एउटा सवलरुपमा शक्ति सञ्चय गरेर शक्ति आर्जन गरेर जरुरी पर्यो भने ठुलो आन्दोलनमा देशलाई फेरि एकपटक लानुपर्ने जसरी यथास्थितिवादी र प्रतिगामीहरूले इतिहासलाई पछाडि फर्काउने हामीले प्राप्त गरेका उपलब्धिहरूलाई खोस्ने दुःसाहस गर्दैछन्, प्रपञ्च गर्दै छन् । त्यसलाई गतिलो जवाफ दिनुपर्ने आवश्यकता छ ।
अहिले हामीले सदनबाट खबरदारी गरेका छौँ, जनताको बिचमा गएर खबरदारी गरेका छौँ, सडकबाट पनि हामीले खबरदारी गरेका छौँ । हामी अभियानमा हुँदै गर्दा काठमाडौँमा जसरी राजावादीहरूको वितण्डा देखा पर्न खोज्यो त्यसलाई एउटा जवाफ दिनपर्छ भनेर अभियान रोकेर काठमाडौँ आएर हामी सबैको सहभागितामा हामीले ठुलै धक्का दियौँ राजावादी वितण्डा र प्रतिगामी षड्यन्त्रका विरुद्ध जनताको ठुलो तागत र हाम्रो पार्टी र समाजवादी मोर्चाको तागतद्वारा त्यसलाई परास्त गर्यौँ अहिलेलाई । यो फेरि पनि वितण्डा गर्लान् तर त्यसलाई परास्त गर्ने जिम्मा पनि हाम्रो नै छ । समग्रमा हाम्रो गतिशीलता धेरै नै बढेको छ । जनतामा हामीप्रतिको आशा पनि धेरै बढेको छ ।’