काठमाडौं । असोज २१ गतेबाट देशभर सिनेमा हल खुल्ने भएको छ । सिनेमा हल खुलेसँगै नेपाली फिल्म प्रदर्शन मिति तोकिएको समयमा विदेशी फिल्म प्रदर्शन गर्न नपाइने पनि भएको छ । नेपाल चलचित्र संघको बैठकले यस्तो निर्णय गरेको हो ।
आइतबार बसेको बैठकले संघका महासचिव असोक शर्माको संयोजकत्वमा चलचित्र प्रर्दशन व्यवसायी समिति गठन गर्दै ६ बुँदे निर्णय जारी गरेको थियो । नेपाली चलचित्र क्षेत्रलाई चलायमान गराउन अत्यावश्यक भएकोले पनि यस्तो निर्णय गरिएको बैठकमा जनाइएको छ ।
दुई साताको अन्तरालमा मात्र दोस्रो फिल्म रिलिज गर्न पाइने बैठकले निर्णय गरेको छ । त्यस्तै बैठकले स्वदेशी र विदेशी चलचित्रको सेयर बाँडफाँटको हकमा पहिलो साता निर्माता तथा वितरकलाई ५५ प्रतिशत र दोस्रो साता ५० प्रतिशत सेयर रकम भुक्तानी गरिने निर्णय गरेको हो ।
बैठकले आगामी ३ महिनानाभित्र प्रदर्शन गरिने चलचित्रको प्रदर्शन मिति असोज २० गतेभित्र घोषणा हुनेपर्ने निर्णय गरेको छ ।