आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’को टोली मुस्ताङमा 


  • 181
    SHARES
  • https://indrenipost.com/posts/9078
    बैशाख ३०, २०८२ मंगलबार
    ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’को टोली मुस्ताङमा 

    काठमाडौं ।  नेपाल प्रेस युनियनको आयोजनामा शुक्रबारदेखि जारी ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’अन्तर्गत सोमबार तेस्रो दिन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीसहितको टोली पोखरा हुँदै हिमाल पारीको जिल्ला मुस्ताङमा आइपुगेको छ ।

    पोखराको अन्नपूर्ण केबलकारमार्फत फेवातालसहित पोखराको मनोरम दृश्य नियाल्दै यात्रा सुरु गरेको टोलीले कास्कीको अन्नपूर्ण गाउँपालिका र पर्वतको जलजला गाउँपालिकामा विभिन्न कार्यक्रम सञ्चालन गरेको हो । टोलीले म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वरधाम, रुप्से झरनालगायत पर्यटकीय गन्तव्यको प्रवद्र्धनात्मक भ्रमण गर्दै मुस्ताङ आइपुगेको हो । यात्राका सहभागीलाई अन्नपूर्ण गाउँपालिकामा बाजागाजाका साथ गाउँपालिकाका तर्फबाट स्वागत गरिएको थियो ।

    सहभागीलाई स्वागत गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धनलाई केन्द्रित गदै नागरिकलाई सुशासनसहितको सेवा प्रवाहमा पालिकाले संवेदनशील भएर काम गरिरहेको बताए ।गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत विष्णु पोख्रेलले गाउँपालिकाले गरिरहेको सेवा प्रवाह र विकास निर्माणका गतिविधिका बारेमा सहभागीलाई जानकारी गराएका थिए ।

    पर्वतको जलजला गाउँपालिकामा नेपाल प्रेस युनियन पर्वतले आयोजना गरेको कार्यक्रममा गाउँपालिकाको कृषि, पर्यटनको सम्भावनाबारे पालिकाका सूचना प्रविधि अधिकृत सुदीप पौडेलले जानकारी गराए । प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले ४१ प्रतिशत जमिन वनजङ्गलले ढाकेको जलजला गाउँपालिकाले न्यूनतम स्रोतसाधनमा पनि जडीबुटी, जमिन, जङ्गल र कृषिमा सम्भावना खोजिरहेको जानकारी दिए । दुवै कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले गाउँपालिकाको सम्भावनालाई सञ्चारमाध्यममार्फत उजागर गरिने विश्वास व्यक्त गरे ।

    ललितपुरको हिमालय होटेलमा औपचारिक उद्घाटन गर्दै राजधानीसहित पोखरामा विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा सञ्चार क्षेत्रले भोग्नुपरेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभाव, प्रेस स्वतन्त्रता र नेपाली पत्रकारितालगायत विषयमा विभिन्न सत्रमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

    मङ्गलबार मुस्ताङको जोमसोममा जलवायु परिवर्तन र यसको प्रभाव, चुनौतीलगायत विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया गर्दै लोमन्थाङ घोषणापत्र जारी गरिने नेपाल प्रेस युनियनले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij