काठमाडौं । नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेसपाबीच आज एकीकरण हुँदैछ । बाबुराम भट्टराईबाट महिन्द्र राय यादव र श्रेष्ठ अलग्गिएकामा आइतबार सहअध्यक्ष श्रेष्ठले केन्द्रीय समिति पुनर्गठन गरी नेतृत्व आफ्नो हातमा लिएका थिए ।
ललिपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे दुई पार्टीबीच एकता घोषणा कार्यक्रम राखिएको छ ।माओवादी केन्द्रसँग एकता गर्नबाट तत्कालीन अध्यक्ष महिन्द्र राय यादव पछि हटेको भन्दै श्रेष्ठ एकताको प्रक्रियामा अघि बढेका हुन् । २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना श्रेष्ठको पक्षमा उभिएका छन् । त्यसैगरी १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना केन्द्रीय सदस्य एकताको पक्षमा उभिएका संयोजक श्रेष्ठको दाबी छ ।
एकता घोषणा कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताले सम्बोधन गर्दै छन् ।