काठमाडौं । पुरानै पार्टी नेकपा माओवादीमा हुँदा आन्तरिक राजनीतिमा सधैं बाबुराम भट्टराईको पक्षमा उभिएका र भट्टराईले पार्टी फुटाएर नयाँ शक्ति बनाउँदा संगै गएका सिन्धुलीका जनयुद्धकालिन नेता गंगानारायण श्रेष्ठ अन्ततः पुरानै घर फर्किएका छन् । यसबिचको १० वर्षको अवधिमा माओवादी भंगालो भन्दा बाहिर रहेका श्रेष्ठ आज माओवादी केन्द्रसँग ५ बुंदे सहमति गर्दै आफ्नो नेतृत्वमा रहेको दज नेपाल समाजवादी पार्टीसहित माओवादीमा फर्किएका हुन् । आज ललितपुरमा आयोजित पार्टी समायोजन कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड र श्रेष्ठबीच ५ बुंदे सहमति पत्रमा हस्ताक्षर भयो ।
श्रेष्ठ माओवादी केन्द्रमा फर्किने क्रममा ५ बुँदे सहमति छ, जसनुसार उनले सचिवको जिम्मेवारी पाएका छन्। २०७२ मा संविधान जारी भएपछि भट्टराईले असोज ९ गते माओवादी परित्याग गरी नयाँ शक्ति नेपाल गठन गरेका थिए । एकता घोषणअघि माओवादीको बिहान बसेको पदाधिकारी बैठकले नेसपासँग पार्टी एकता गर्ने निर्णय गरेको थियो ।
माओवादीले एकता प्रक्रियामा जोडिएका नेताहरूलाई पूर्वपार्टीमा रहेको भूमिकाका आधारमा जिम्मेवारी दिने निर्णय यसअघि नै गरिसकेको छ । सोमबार भएको एकतामा श्रेष्ठसहित १७ केन्द्रीय कार्यकारीणी सदस्य, करिब १०० जना केन्द्रीय सदस्य माओवादीमा समाहित भएको दाबी गरिएको छ । श्रेष्ठले १० वर्ष विताएर माओवादीमा फर्किएपछि सचिव पद पाएपनि उनी सरहका तत्कालिन माओवादीका नेताहरू भने स्थायी समिति सदस्यका रूपमा छन् । अध्यक्ष प्रचण्डले श्रेष्ठलाइ स्थायी समिति सदस्य पदमा रहन अनुराेध गरेपनि उनले एकताकाे भावसमेत हुनेगरी सचिव पद चाहिने अडान लिएका थिए । माओवादीमा संस्थापन नेतृत्व र पार्टी नछाेडीकन बसिरहनेलाइ अध्यक्ष प्रचण्डले वास्ता नगर्ने जिम्मेवारी पनि नदिने तर पार्टी फुटाएर माओवादी विरूद्ध नै अभियानै चलाएर घर फर्कीएकालाई भने ठूलाे पद दिने गरेकाे आराेप लागेकाे छ । जुन कुरालाई आजकाे कार्यक्रममा अध्यक्ष प्रचण्डले समेत सार्वजनिक रूपमा स्वीकार गर्दै अभिव्यक्त गरेका थिए ।