आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउन प्रस्ताव


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/9548
    साउन २, २०८२ शुक्रबार
    एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउन प्रस्ताव

    काठमाडौँ, २ साउन २०८२ । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठकले पार्टी विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमासम्बन्धी व्यवस्थालाई हटाउन प्रस्ताव पारित गरेको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति सम्पन्न बैठकले उक्त महत्त्वपूर्ण निर्णय गरेको हो।
    दोस्रो विधान महाधिवेशनको तयारीका सिलसिलामा बसेको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन मस्यौदामाथिको छलफलपछि उक्त प्रस्तावलाई अन्तिम रूप दिइएको हो। पार्टी विधान २०७८ संशोधको धारा ६४ मा रहेको ७० वर्ष उमेर पुगेपछि कार्यकारी पदमा रहन नपाउने र एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी पदाधिकारी बन्न नपाउने प्रावधान हटाउन प्रस्ताव गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

    उपाध्यक्ष पौडेल संयोजकत्वको विधान संशोधन मस्यौदा कार्यदलले तयार पारेको यो प्रस्तावलाई शुक्रबार आज बस्ने पोलिटब्युरो बैठकमा पेस गरिनेछ। पोलिटब्युरोबाट पारित भएपछि उक्त प्रस्तावलाई थप छलफलका लागि केन्द्रीय कमिटीमा लगिने उपमहासचिव ज्ञवालीले बताए।

    बैठकले पदाधिकारीको सङ्ख्या १५ सहित ८४ सदस्यीय पोलिटब्युरो र २५१ सदस्यीय केन्द्रीय कमिटी रहने गरी नयाँ संरचनाको पनि प्रस्ताव गरेको छ। साथै, पार्टीमा अब दुई किसिमका सदस्य रहने व्यवस्था प्रस्ताव गरिएको छ, जसमा साधारण सदस्य र सङ्गठित सदस्य रहनेछन्।

    सचिवालयबाट पारित यी प्रस्तावहरूमाथि छलफल गर्न साउन ५ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको छ। अन्ततः आगामी भदौ २०, २१ र २२ गते हुने पार्टीको विधान महाधिवेशनले यी प्रस्तावहरूलाई अनुमोदन गरेपछि उमेर हद र कार्यकालसम्बन्धी नयाँ व्यवस्था औपचारिक रूपमा लागू हुनेछ। यो निर्णयले पार्टीको शीर्ष नेतृत्वमा रहेका नेताहरूलाई पुनः कार्यकारी भूमिकामा आउन बाटो खुल्ने देखिएको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij