काठमाडौँ, ५ साउन – नेकपा एमाले को नवौँ केन्द्रीय कमिटीको पहिलो दिनको बैठक आज सम्पन्न भएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको हो ।
एमाले निर्वाचन विभाग इन्चार्ज निरज आचार्यका अनुसार आजको बैठकमा गण्डकी, मधेस, उपत्यका विशेष प्रदेश तथा सम्पर्क समन्वय कमिटीअन्तर्गतका ४९ जना केन्द्रीय सदस्यले प्रस्तुत प्रतिवेदनहरूमाथि धारणा राखेका छन् ।
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रतिवेदनमाथि छलफल भएको थियो। अधिकांश सदस्यहरूले पोलिटब्युरो र सचिवालयको सर्वसम्मत निर्णयअनुसार ल्याइएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन् ।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्य नविकरण गरेको विषय पनि छलफलमा प्रवेश पाएको निर्वाचन विभाग प्रमुख आचार्यले जानकारी दिएका छन ।
बैठकमा धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको थियो। छलफलमा उठेका विषयलाई संकलन तथा अभिलेखन गर्न पोलिटब्युरो सदस्य सूर्य थापाको संयोजकत्वमा विष्णु रिजाल र निरज आचार्य सदस्य रहेको ‘बहस नोट लेखन समिति’ गठन गरिएको छ ।
बैठक भोलि ६ साउन बिहान ११ बजे पुनः बस्ने कार्यक्रम रहेको एमालेले बताएको छ ।