काठमाडौँ, ७ साउन – नेपाल कम्युनिष्ट पार्टी एमालेको नवौं केन्द्रीय कमिटी बैठकले पार्टी विधान संशोधन सहित समसामयिक राजनीतिक, सांगठानिक र नीतिगत विषयमा आठबुँदे प्रस्ताव पारित गरेको छ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा साउन ५ र ६ गते बसेको दुईदिने बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उक्त प्रस्तावलाई सुझाव सहित सर्वसम्मतिले पारित गरेको छ ।
बैठकमा मुलुकको राजनीतिक अवस्था, सरकारको प्रभावकारिता, विधान महाधिवेशन, पार्टी सुदृढीकरण, विकास तथा वैदेशिक सम्बन्धसम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो । बैठकमा कुल २६४ जना सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थिति, पार्टीलाई सशक्त बनाउने उपाय, सरकारको नीति तथा कार्यक्रमलगायतमा धारणा राखेका थिए। उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए भने महासचिव शंकर पोखरेलले सांगठानिक गतिविधिको विवरण दिएका थिए ।
अनुशासन आयोग अध्यक्ष केशव वडाल, लेखा आयोग अध्यक्ष डा. पुष्प कँडेल तथा सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए । पारित विधान संशोधन प्रस्तावलाई थप छलफलका लागि प्रदेश र जिल्ला कमिटीमा पठाउने निर्णय पनि बैठकले गरेको छ।
बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति उच्च सम्मान व्यक्त गर्ने निर्णय समेत गरेको छ ।
सातबुँदे सहमति कार्यान्वयनमा जोड
बैठकले एमाले र नेपाली कांग्रेसबीच सम्पन्न सातबुँदे सहमतिका आधारमा बनेको वर्तमान सरकारलाई बलियो राजनीतिक स्थायित्वको आधार बनाउने र सुशासनसहित जनपक्षीय कार्य सम्पादन गर्ने दिशामा अगाडि बढ्न आह्वान गरेको छ। बैठकमा देशको अर्थतन्त्रमा सुधार आएको, निजी क्षेत्रमा भरोसा बढेको, बाह्य लगानी प्रवाहमा वृद्धि भएको तथा विकास निर्माणको गति तीव्र भएको निष्कर्ष निकालिएको छ ।
पार्टीको प्रस्तावमा दैलेखमा भएको मिथेन ग्यास भण्डारणबारे उल्लेख गर्दै उक्त ग्यासले ५० वर्षसम्म नेपालको आवश्यकतापूर्ति गर्नसक्ने तथ्य सार्वजनिक हुनु उत्साहजनक उपलब्धि भएको बताइएको छ ।
भ्रष्टाचारविरुद्ध निष्ठा र वैदेशिक सम्बन्धमा सफलता
बैठकले भ्रष्टाचार र अनियमितता विरुद्धको पार्टीको अडानलाई दोहोर्याउँदै सुशासन, विधिको शासन र पारदर्शिताप्रति पार्टी प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। नियमनकारी निकायहरूलाई प्रभावकारी बनाउने र भ्रष्टाचारविरुद्ध कानुन निर्माण तथा कार्यान्वयनमा पार्टी निरन्तर सक्रिय रहने बताइएको छ ।
वैदेशिक सम्बन्धका सन्दर्भमा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति, भूमिका र एजेन्डालाई प्रभावकारी बनाउने कार्यमा वर्तमान सरकार सफल भएको बैठकको निष्कर्ष रहेको छ ।
किसान, जलवायु र प्राकृतिक प्रकोपमा विशेष चासो
बैठकले किसानको समस्या समाधान र खाद्य सुरक्षाका लागि सरकारलाई तदारुकताका साथ कदम चाल्न आग्रह गरेको छ। जलवायु अनुकूल कार्यक्रम विस्तार र चुरे क्षेत्र संरक्षण तथा पुनर्भरणका कार्यक्रम शीघ्र कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ ।
रसुवामा असार २४ गतेको बाढीले जनधनमा पुर्याएको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै बैठकले पीडितलाई तत्काल राहत र ध्वस्त संरचनाको पुनर्निर्माण तथा नेपाल–चीन मितेरी पुल पुनर्निर्माणका लागि चीन सरकारसँग कूटनीतिक समन्वय गर्न आह्वान गरेको छ ।
पुष्पलालको आदर्शप्रति श्रद्धा
बैठकले नेपाल कम्युनिष्ट आन्दोलनका अगुवा तथा पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आदर्शलाई पछ्याउँदै नेपाली कम्युनिष्ट आन्दोलनलाई अझ सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ ।
एमालेको नवौं केन्द्रीय कमिटीको बैठकले सैद्धान्तिक स्पष्टता, सांगठानिक सुदृढीकरण, सुशासन, समावेशी विकास र राष्ट्रिय स्वाभिमानलाई प्राथमिकतामा राख्दै पार्टी अगाडि बढ्ने स्पष्ट संकेत दिएको छ ।