झापा, १२ असार – कोशी प्रदेशका सबै १४ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, धनकुटाका अनुसार हालसम्म तीन हजार १८१ जना डेङ्गु संक्रमित फेला परेका छन् भने यसै कारण तीन जनाको ज्यान गएको छ ।
निर्देशनालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार पहाडी जिल्लामा संक्रमितको सङ्ख्या न्यून भए पनि तराईका चार जिल्लामा सङ्क्रमण तीव्र रूपमा फैलिएको छ ।
सबैभन्दा बढी मोरङमा ९१३ जना, झापामा ८९७, सुनसरीमा ३७७ र उदयपुरमा २७५ जना संक्रमित भेटिएका छन् । अन्य जिल्लाहरूमा भोजपुर २२६, धनकुटा १४३, ओखलढुङ्गा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ २, इलाम ५, सोलुखुम्बु ६ र तेह्रथुममा २ जना डेङ्गु संक्रमित भेटिएको विवरण छ ।
अधिकृत खत्रीका अनुसार डेङ्गु एडिज एजिप्टाई जातको लामखुट्टेबाट फैलिने संक्रमण हो जुन दिउँसो टोकिन्छ । “यसबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट जोगिनु हो”, उनले भनिन । साथै, उनले पुरा बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउन र घर वरिपरि पानी जम्न नदिई सफा राख्न आग्रह गरेकी छिन ।
विश्वमा विगत ५० वर्षको अवधिमा डेङ्गु सङ्क्रमण ३० गुणा बढेको उनले बताइन । प्रदेश भरका स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीहरू सक्रिय रुपमा खोज, नियन्त्रण र जनचेतना अभिवृद्धि गर्ने कार्यमा खटिएका छन् ।
डेङ्गुका प्रमुख लक्षणहरूमा उच्च ज्वरो, टाउको दुखाइ, आँखाको गेडी दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला लाग्ने, राता बिमिरा देखिनु लगायत छन् । यी लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गरी चेकजाँच गराउनु निर्देशनालयको सुझाव समेत रहेको छ ।