नेपाली राजनीतिमा एउटा पुरानो तर सधैँ सान्दर्भिक उखान छ घृणाको बिउ रोपेर सद्भावको बाली कहिल्यै फल्दैन। अहिले यो उखान नेकपा माओवादी केन्द्र भित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ बीच चलिरहेको भनिएको शीतयुद्धले चरितार्थ गरिरहेको छ । पार्टीको केन्द्रीय समिति बैठकदेखि सार्वजनिक मञ्चसम्म देखिने यी दुई नेताबीचको वाकयुद्ध, आरोप प्रत्यारोप र गुटगत अभ्यासले समग्र पार्टी पंक्तिलाई मात्र होइन, देशको राजनीतिक भविष्यप्रति आशा राख्ने आम जनतालाई समेत निराश बनाएको छ । सम्बन्धित सबैमा यो चेतना हुनैपर्छ कि आन्तरिक कलहको जगमा उभिएर क्रान्तिकारी परिवर्तनको विशाल महल निर्माण हुन सक्दैन ।
नेकपा माओवादी केन्द्र नेपालको राजनीतिक इतिहासमा सामान्य उतारचढावबाट जन्मेको दल होइन । यो पार्टीको काँधमा दशवर्षे जनयुद्धको रगत, पसिना र बलिदानको गौरवगाथा छ । उन्नाइस दिने ऐतिहासिक जनआन्दोलनको अग्रभागमा रहेर राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको नेतृत्व गरेको श्रेय पनि यसै पार्टीलाई जान्छ । संविधानसभाबाट नेपालको संविधान निर्माण गर्ने अभियानको प्रमुख हिस्सेदार र जनताको ढुकढुकी बनेर परिवर्तनको पक्षमा उभिएको यो पार्टी आजको दिनमा यस्ता सानातिना गुटगत स्वार्थ र व्यक्तिगत टकरावमा अल्झिनु दुर्भाग्यपूर्ण छ । यस्तो अवस्थामा पार्टी बिचलित हुनु भनेको हजारौं शहीदहरूको बलिदान र लाखौं जनताको सपनामाथि कुठाराघात गर्नु हो । त्यसैले, नेपालमा माओवादीहरू फुट्नु भनेको केवल एउटा पार्टी टुक्रिनु मात्र होइन, यो देशले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई कमजोर बनाउनु पनि हो ।
अहिलेको आवश्यकता भनेको व्यक्तिगत इगो र गुटगत लडाइँलाई थाती राखेर देश र जनताको बृहत्तर हितमा केन्द्रित हुनु हो । सरकारमा रहेर होस् वा नरहेर, माओवादी केन्द्रको प्रमुख कार्यभार भनेको सरकारका नराम्रा काम र जनविरोधी निर्णयहरूको भण्डाफोर गर्दै सुशासन र विकासका राम्रा काममा आफूलाई अग्रपङ्क्तिमा उभ्याउनु हो । देशमा व्याप्त भ्रष्टाचार, अनियमितता र माफियातन्त्रको अन्त्य गर्नका लागि अग्रसरता लिनु आजको सबैभन्दा ठूलो चुनौती र अवसर दुवै हो । जब पार्टी आन्तरिक किचलोमा फस्छ, तब यस्ता राष्ट्रिय मुद्दाहरू ओझेलमा पर्छन् र जनताको नजरमा पार्टीको सान्दर्भिकता कमजोर हुँदै जान्छ ।
यतिबेला माओवादी आन्दोलनलाई एकढिक्का बनाउनु अपरिहार्य छ । नेत्रविक्रम चन्द ‘विप्लव’, मोहन वैद्य ‘किरण’ लगायत छरिएर रहेका सबै कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूलाई एउटै केन्द्रमा गोलबद्ध गरी बृहत् कम्युनिष्ट पार्टी निर्माणको अभियानलाई तीव्रता दिनु नै जनता र देशको हितमा हुनेछ । यस महान अभियानको नेतृत्व निसन्देह पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै लिनुपर्छ। उनको राजनीतिक चातुर्य, त्याग र राष्ट्रिय राजनीतिका हरेक संकटमा खेलेको भूमिकाले उनलाई नेपालको एक मात्र जीवित ‘हिरो’ को रूपमा स्थापित गरेको छ । उनको नेतृत्वमा सम्पूर्ण कम्युनिष्टहरूलाई एक बनाउँदै २०८४ को आम निर्वाचनमा स्पष्ट बहुमत ल्याएर देश निर्माण र जनताको सेवामा समर्पित हुने लक्ष्य राख्नु नै आजको विवेकपूर्ण र सही बाटो हो ।
यसको अर्थ पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई बिर्सिनु पर्छ भन्ने होइन । अब निकट भविष्यमा हुने पार्टीको महाधिवेशनलाई एकता र रूपान्तरणको महाधिवेशन बनाउनुपर्छ । नेतृत्व चयन प्रक्रियामा स्वस्थ प्रतिस्पर्धाको ढोका खुल्ला गरिनुपर्छ, ताकि विचार र विधिको जित होस्, गुटको होइन । प्रचण्डको मुल नेतृत्वमा अब तेस्रो तहका नयाँ र ऊर्जावान नेताहरूलाई पार्टीको अग्रभागमा ल्याउनु अत्यन्त आवश्यक भइसकेको छ । युवा तथा जुझारु नेता रामदीप आचार्य, हिमाल शर्मा, रमेश मल्ल, लेखनाथ न्यौपाने, माधव सापकोटा, शालिकराम जमरकेल, रामप्रसाद सापकोटा दिपशिखा, जस्ता अन्य थुप्रै वैचारिक र सांगठनिक रूपमा खारिएका नयाँ पुस्तालाई निर्णायक तहमा स्थापित नगर्ने हो भने पार्टीले गतिशीलता गुमाउनेछ ।
अतः, व्यक्तिगत टकराव, गुटगत स्वार्थ र पदीय मोहको घृणास्पद बीउलाई त्यागेर एकता, सद्भाव र सहकार्यको उर्वर भूमि तयार पार्न माओवादी केन्द्रका सबै नेता कार्यकर्ता जुट्नुको विकल्प छैन । अध्यक्ष प्रचण्डदेखि उपमहासचिव शर्मासम्म र अन्य सबै नेताहरूले यो सत्यलाई मनन गर्नैपर्छ कि एकताबद्ध र सुदृढ माओवादीले मात्र जनयुद्ध र जनआन्दोलनका सपनाहरू साकार पार्न सक्छ । घृणाको खेतीले विनाश निम्त्याउँछ भने सद्भावको सहकार्यले मात्र समृद्धिको बाली फलाउँछ। चेतना भया ।