काठमाडौँ, २४ साउन — श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा र ऋषितर्पणी पर्व आज देशभर धूमधामका साथ मनाइँदैछ। तागाधारीहरूले वैदिक मन्त्रसहित नयाँ यज्ञोपवीत ९जनै० धारण गरे भने अन्य भक्तजनले रक्षासूत्र ९डोरो० बाँधेर धार्मिक आस्था प्रकट गरिरहेका छन् ।
बिहानैदेखि नदी, पोखरी, कुण्ड र मन्दिरमा स्नान गर्ने, ऋषितर्पण गर्ने र गुरु पुरोहितबाट मन्त्रिएको रक्षाबन्धन धारण गर्ने परम्परा आज पनि कायम छ । पौराणिक कथाअनुसार सत्ययुगमा दानवराज बलीलाई बाँधेर देवताहरूको रक्षा गर्ने वैदिक विधानबाट रक्षाबन्धनको चलन सुरु भएको विश्वास गरिन्छ ।
जनै पूर्णिमामा ब्राह्मण, क्षत्री र वैश्यहरूले श्रावणी स्नान, ऋषिपूजा र मन्त्रसहित नयाँ जनै धारण गर्छन् । यसदिन मणिचूड, गोसाइँकुण्ड, कुम्भेश्वर, पाँचपोखरी, जनकपुरधाम, दानसाधु, त्रिवेणीधामलगायत तीर्थस्थलमा मेला लाग्ने परम्परा छ ।
पर्वको अर्को विशेषता क्वाँटी खाने प्रथा हो, जसमा एघार थरी गेडागुडी मिसाएर पकाइन्छ । धार्मिक र आयुर्वेदिक मान्यताअनुसार क्वाँटीले शरीरलाई गर्मी, रोग प्रतिरोधी क्षमता र वर्षायाममा स्वास्थ्य लाभ दिन्छ ।
तराई क्षेत्रमा भने दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउने चलन छ, जसले पारिवारिक प्रेम र एकता मजबुत बनाउँछ । पर्वका अवसरमा पशुपतिनाथ, अशोकविनायकलगायत देशभरका मठ–मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ ।