काठमाडौँ, २४ साउन – मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना जनाएको छ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको केही उत्तरतर्फ र पश्चिमतर्फ नेपालको तराई नजिक अवस्थित छ । यसका कारण देशभर सामान्यतया बदली रहनेछ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा अन्य भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ ।
आज राति पनि देशभर सामान्यतया बदली रहँदै मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षा र कोशी, बागमती र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।