काठमाडौँ, २४ साउन – नेपाली मूलका क्यानडेली व्यवसायी आदित्य झाले नेपाल र बिहारमा पाँच–पाँच हजार साना उद्यमी तयार पार्ने ठूलो सपना पालेका छन् । डिजी मार्केट इन्टरनेसनलका संस्थापक तथा ‘अर्डर अफ क्यानडा’ सम्मानित झा महोत्तरीको मधवा गाउँमा जन्मेका हुन् । उनी उद्यमशीलता मार्फत आर्थिक सशक्तीकरणलाई मुलुकको विकासको मूल आधार मान्छन् ।
झाले गाईपालन, बाख्रापालन, तरकारी खेती, सैलुन, कुखुरापालनजस्ता स्वरोजगारमूलक व्यवसायमा रु ५० हजारदेखि १० लाखसम्मको पुँजी उपलब्ध गराई क्रमिक रूपमा आत्मनिर्भर उद्यमी बनाउने योजना प्रस्तुत गरेका छन् । उनका अनुसार, यदि ५० जिल्लामा पुगेर हरेक जिल्लामा २०–२५ जना उद्यमी तयार गर्न सकियो भने यसको प्रभाव देशव्यापी हुनेछ ।
यसअघि उनले नेपालमा आईटी र शिक्षा क्षेत्रमा ठूलो योगदान दिन खोजे पनि प्रशासकीय उल्झन, भ्रष्टाचार र भनसुन प्रवृत्तिका कारण धेरै प्रोजेक्ट असफल भएको अनुभव गरेका छन् । त्यसैले यो पटक उनी प्रत्यक्ष उत्पादन र सेवा क्षेत्रमा केन्द्रित हुन चाहन्छन् ।
क्यानडामा उनले विश्वविद्यालय तथा कलेजमा १४ वटा अक्षयकोष स्थापना गरी हरेक वर्ष करिब ७० हजार क्यानाडियन डलरको छात्रवृत्ति वितरण गरिरहेका छन् । त्यस्तै, क्यानाडाका आदिवासी समुदायलाई उद्यमशील बनाउन समेत सक्रिय छन् ।
झाको विश्वास छ – नेपालको विकासका लागि राजनीतिक इच्छाशक्ति र उद्यमीलाई स्वतन्त्र रूपमा काम गर्न दिने वातावरण आवश्यक छ । उनी भन्छन्, “यो मेरो अन्तिम सपना परियोजना हुनेछ – यही मेरो पूजा, यही मेरो पशुपति, काशी र केदारनाथ हुनेछ ।”