काठमाडौं । शुक्रवार काँग्रेस महाधिवेशनको उद्घाटन भएसँगै संस्थापन पक्षबाट प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले पार्टी सभापतिका लागि उम्मेद्वारी दिइसकेका छन् । अर्कोतर्फ संस्थापन इतरले भने अझै सभापतिलगायत साझा उम्मेद्वारको चयन गर्न सकेको छैन । आज उम्मेद्वारी दर्ता गर्ने दिन आइसक्दा पनि सहमति भइसकेको छैन ।
शुक्रवार पनि संस्थापनइतरका ४ आकांक्षी नेताहरु भृकुटीमण्डपको उद्घाटनसत्रपछि बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा जुटेका थिए । तर, सो छलफलमा साझा उम्मेद्वारको विषयमा कुनै सहमति हुन सकेन । छलफलपछि शेखर कोइरालाले आज १० बजेसम्म साझा उम्मेद्वार आउने बताएका थिए ।
सहमतिका लागि आज ८ बाट संस्थापन इतरको बैठक शशांक निवास महाराजगंजमा बसेको छ । अर्कोतर्फ प्रकाशमान सिंह भने आज आफ्नो सम्पर्क कार्यालयमा हुने जनाएका छन् । त्यहाँ उनको सभापतिमा उम्मेद्वारी तथा अवधारणा बारेमा सार्वजनिक कार्यक्रम आयोजना गरेका छन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज बिहान १० देखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवार मनोनयन दर्ता हुँदैछ ।