काठमाडौं । नेपाली काँग्रेस सभापति पदमा चारजनाको उम्मेदवारी परेको छ । नयाँ कार्यकालका लगि वर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारी परेको हो ।
इतर समूह विभाजित भएपछि देउवालाई सजिलो भएको छ । देउवाले कांग्रेस सभापतिका लागि तेस्रो धारका कृष्ण सिटौलाको साथ लिएका छन् । यस्तै इतर समूह विभाजित भएर दुईजना शेखर र प्रकाशमानको उम्मेदवारी परेको छ । त्यसैगरी देउवा समूहबाट अलग्गिएका विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिएका छन् ।
त्यसैगरी उपसभापतिमा देउवा समूहबाट पूर्णबहादुर खड्का र विजय गच्छदारको उम्मेदवारी परेको छ । शेखर कोइराला समूहबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ मैदानमा उत्रिएका छन् । उता विमलेन्द्र निधिको समूहबाट उपसभापतिमा कसैको उम्मेदवारी परेको छैन ।
प्रकाशमान सिंह समूहबाट सुजाता कोइराला उपसभापति लड्ने भएकी छन् । कोइराला परिवारका शेखरलाई साथ नदिइ उनी सिंह प्यानलमा पुगेकी हुन् । त्यस्तै यही समूहबाट विश्वप्रकाश शर्मा महामन्त्रीमा लड्ने पक्का भएको छ । सिंह प्यानलबाट अन्य उपसभापति र महामन्त्रीको टुंगो गरिएको छैन । अन्य पदमा पनि नेताहरुको यो समूहले टुङ्ग्याएको छैन ।
उता महामन्त्रीमा देउवा समूहबाट डा. प्रकाशशरण महत र देउवालाई सघाएका सिटौलाको तर्फबाट प्रदीप पौडेल पनि मैदानमा छन् । त्यस्तै शेखर समूहबाट महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा मैदानमा उत्रिने पक्का भएको छ ।