बिहीबार , साउन २२ गते २०८२ Aug 07 2025 Thursday
images
images

माओवादी केन्द्रको महाधिवेशन नेतृत्वभन्दा नीतिमा केन्द्रित


  • 3.4K
    SHARES
  • https://indrenipost.com/posts/2619
    पुष ११, २०७८ आइतबार
    माओवादी केन्द्रको महाधिवेशन नेतृत्वभन्दा नीतिमा केन्द्रित

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेनका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा स्वागतद्वार बनाइएको छ । महाधिवेशनस्थल परिसरमा पार्टीको झण्डा, तुल र ब्यानर तथा राजधानी प्रवेश गर्ने नाकामा फ्लेक्स राखिएको छ ।

    माओवादीले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा परिणत गर्ने निर्णय शनिबारको स्थायी समितिको बैठकले गरेको थियो । महाधिवेशनमा परिणत गर्ने निर्णयलाई आजको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको छ । 

    जनता, नेता तथा कार्यकर्ता तहको आग्रह र उत्साहका कारण राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको शनिबार साँझ बसेको स्थायी समितिको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका थिए ।

    संविधानसभाबाट संविधान, गणतन्त्रजस्ता राजनीतिक परिवर्तनको संवाहकका रूपमा रहेको माओवादीले पहिलोपटक पार्टीभित्र संविधान अनुकूल सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति निर्माण गर्ने भएको छ । 

    विभिन्न टुटफुट, एकता र संघर्ष अनुभव गरेको माओवादीले आफूलाई विचार, राजनीतिक कार्यदिशामा सम्मेलनपछि नयाँ उचाइमा पुर्‍याउने र भरपर्दो कम्युनिस्ट शक्तिका रूपमा स्थापित गर्ने बताएको छ ।

    प्रज्ञा भवन परिसरमा डिस्प्लेमार्फत् उद्घाटनसत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ । आठौं महाधिवेशनमा सहभागी हुनका लागि देशभरका सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षक काठमाडौंमा आइसकेका छन् । महाधिवेशनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज पेस हुने छन् । 

    ती प्रतिवेदनमाथि विभिन्न २० समूह बनाएर छलफल गर्ने कार्यक्रम तयार भएको छ । यसमा आवश्यकतानुसार केही परिवर्तन पनि हुन सक्नेछ । माओवादीले प्रज्ञा प्रतिष्ठानका सबै हल र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सामूहिक छलफलको व्यवस्था मिलाएको छ ।

    उद्घाटनसत्र सकिएलगत्तै राजनीतिक प्रतिवेदन, विधानमाथि छलफल सुरु हुनेछ । त्यस्तै नेतृत्व चयनको कार्यक्रमसमेत छ । आठौँ महाधिवेशनले केन्द्रीय समिति चयन गर्ने र त्यसैबाट पदाधिकारी छान्ने वा निर्वाचन प्रक्रिया नै पूर्णरूपमा अवलम्बन गर्ने भन्नेबारेमा हालसम्म स्पष्ट खाका भने आइसकेको छैन ।

    महाधिवेशनमा कूल एक हजार ६३१ जनाको प्रतिनिधित्व हुनेछ । नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनित १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहने छ । माओवादीले यसभन्दा अगाडि पाँच प्रतिशत प्रतिनिधिमात्रै मनोनयन गर्ने बताएको थियो । यसलाई शुक्रबारको बैठकले १० प्रतिशत बनाएको छ ।

    माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १७९ सहभागी हुने छन् । यस्तै सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिस्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् । यस्तै प्रदेश १ बाट ९६, प्रदेश २ बाट १०६, बागमतीबाट १२८, गण्डकीबाट ७४, लुम्बिनीबाट १०५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेषबाट ४२ र सम्पर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ ।

    माओवादीले पहिलोपटक संवैधानिक व्यवस्थाअनुसार नै केन्द्रीय समितिमा महिला, दलित, जनजाति, आदिवासी समुदायलाई विशेष भूमिकासहित जिम्मेवारी दिने भएको छ । महिलालाई अनिवार्यरूपमा ३५ प्रतिशत बराबरको हिस्सा छुट्याइएको छ । माओवादीले गत मंसिर ४ गतेदेखि नै पार्टीको वडा सम्मेलन गरेको थियो । त्यसका लागि पार्टीको तर्फबाट विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा निर्वाचन आयोग नै बनायो ।

    आयोगका प्रतिनिधिसहितको उपस्थितिमा माओवादीले ११ मंसिरमा देशभरका पालिका सम्मेलन आयोजना गर्‍यो । प्रदेश २ का केही पालिकामाबाहेक झण्डै ९८ प्रतिशत पालिकामा नयाँ नेतृत्व चयन भएको छ । गत मंसिर २५ गते प्रदेश सम्मेलनको आयोजना गरियो। बागमती र प्रदेश १ मा निर्वाचन प्रक्रियाबाटै नयाँ नेतृत्व चयन भएको छ ।

    शुक्रबारको स्थायी समितिको बैठकले पार्टीको पदाधिकारी १५ सदस्यीय बनाउने प्रस्ताव गरेको छ । माओवादीको यसपटक निर्वाचन प्रक्रियाका माध्यमबाट नेतृत्व चयन गर्ने बताएको छ । यद्यपि, माओवादीका नेताका अनुसार अध्यक्ष प्रचण्डको विकल्पमा कुनै पनि नेताले दाबी पेस गरिसकेको अवस्था छैन । 

    पार्टीका महासचिवमा भने औपचारिक, अनौपचारिकरूपमा नेताले दाबी गरिरहेका छन् । संगठन विभाग प्रमुख रहेका जनार्दन शर्मा, केन्द्रीय कार्यालयका इञ्चार्जसमेत रहेका वर्षमान पुनले महासचिवमा दाबी गरेका छन् ।

    यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका देवेन्द्र पौडेलसमेतले महासचिवका लागि इच्छा व्यक्त गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पनि आफू महासचिवका लागि योग्य रहेको दाबी गरेकी छन् । 

    तत्कालीन संयुक्त जनमोर्चाको अध्यक्षसमेतको जिम्मेवारी सम्हालिसकेको भन्दै भुसालले आफू महासचिवका लागि योग्य रहेको बताएकी हुन् । माओवादीको अन्तरिम विधान(२०७८ को धारा १६(४) र धारा ३८(१(८) अनुसार महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिम पाँच प्रतिशत रहने गरी व्यवस्था गरिएको छ ।

    खासगरी नीतिमा नै बहस गर्ने जनाएको माओवादीले नेतृत्व चयनका लागि निर्वाचन आयोगलाई जिम्मा दिएको छ । माओवादीले विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा केन्द्रीय निर्वाचन आयोग बनाएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij