काठमाडौं । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदैछ । अवैध तथा गैरकानुनी रुपमा ल्याइएका सबै मोबाइलफोन लक हुने भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको छ ।
यो प्रणाली लागू भएपछि प्रणालीमा दर्ता नभएका फोनहरू क्रमश ब्लक हुने प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले जानकारी दिएका छन् ।
उनका अनुसार एमडिएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन । ती फोनहरू ब्लक हुनेछन् ।
प्राधिकरणले गत कात्तिक ४ गते मात्रै एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरू दर्ता गर्न भनेको थियो ।
सूचना जारी गरेको मितिबाट १५ दिनभित्र प्रणालीमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरूमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने समेत जनाएको थियो । सोही अनुसार प्राधिकरणले आजदेखि एमडिएमएस लागू गर्न लागेको हो ।