काठमाडौं । आइसीसी विश्वकप छनोट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज (मगंलबार) ओमानको सामना गर्दैछ ।
ओमानको घरेलु मैदान अल अमरेत क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपाल सोही लयलाई निरन्तरता दिन चाहन्छ । सिरिजमा लगातार दोस्रो जित निकाल्दै नेपाल चौथो स्थानमा उक्लन चाहन्छ। तर नेपालका लागि जित निकाल्न त्यति सहज भने हुने छैन ।
सिरिजको पहिलो खेल खेलेको २४ घण्टा बित्न नपाउँदै नेपाली टोलीले दोस्रो खेल खेल्न लागेका हो । छोटो समयको विश्रामका कारण पनि टोलीको प्रर्दशनमा असर पर्न सक्नेछ । घरेलु मैदानमा जित निकाल्दै ओमान अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।
यी दुई टोली १९ महिनापछि आमनेसामने हुदैछन् । यसअघि नेपालको घरेलु मैदानमा भएको भेटमा दुवै खेलमा ओमानले जित निकालेको थियो। नेपाल घरेलु मैदानमा भोगेको हारको बदला लिने योजनामा छ ।
एकदिवसीय खेलमा यी टोलीबीच दुई खेलमा भेट भएको छ । दुवै भेटमा नेपाल पराजित भएको छ । सिरिज अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा ओमानले नेपाललाई ८ विकेटले हराएको थियो भने दोस्रो खेलमा १८ रनले जित निकालेको थियो ।
अंक तालिका
आइसीसी विश्वकप छनोट लिग २ को अंक तालिकामा १० खेल खेलेको ओमान १६ अंकमा शीर्ष स्थानमा छ । सबैभन्दा बढी १३ खेल खेलेको अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ । ८ खेल खेलेको स्कटल्याण्ड ९ अंकमा तेस्रो स्थानमा हुँदा ७ खेलबाट ८ अंक जोडेको नामिबिया तालिकाकोृ चौथो स्थानमा छ ।
संयुक्त अरब एमिरेन्ट् (युएई)ले ७ खेलबाट ७ अंक जोड्दै पाँचौ स्थानमा आफूलाई उभ्याएको छ । सबैभन्दा कम खेल अर्थात् ५ खेल खेलेको नेपाल ६ अंकमा छैटौँ स्थानमा रहँदा ८ खेलबाट अंकविहिन पपुवा न्युगिनी तालिकाको पुछारमा छ ।