काठमाडौं । तत्कालीन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाको कार्यकालमा शिलान्यास भएको थियो पोखराको ‘बहुउद्धेशीय कभर्डहल ।’ तर, यो कभर्डहल बनाउन निकै समय लाग्यो । यो कभर्डहलले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा मात्रै पूर्णता पायो ।
सागमा ह्याण्डबल लगायतका खेल यसै हलभित्र आयोजना भए । हिजो (मंगलबार) उनै पूर्व सदस्य सचिव लामाले सामाजिक संञ्जालमा आफ्नो कार्यकालमा बनाउन सुरु भएको कभर्डहल हाल पूर्ण रुपमा तयार हुँदा गर्बिलो महसुस हुने भन्दै फोटो सहित पोष्ट गरे ।
त्यसको केहि समय अघिमात्रै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले ‘पोखरा कभर्डहल फुटसल लिगको तयारी अवस्थामा’ भनेर पोष्ट गरेका थिए । एन्फाले असोज २ गतेबाट मोफसलमा फुटसल आयोजना गर्न लागेको हो ।
एन्फा नेतृत्वमा कर्मा आएपछि हुन लागेको यो पहिलो फुटसल लिग हो । यस पटक कर्माको नेतृत्व टिमले फुटसल लिगलाई परिमार्जित गर्दै फिफा मान्यता अनुसार म्याटमै खेलाउँदैछ । यसअघि आर्टिफिसियल टर्फमा अभ्यास र लिग खेलेर नेपाली टोली एएफसी फुटसल च्याम्पियनसिप छनोट खेल्न पुगेको हुन्थ्यो ।
यस पटक भने एन्फाले केही नौलो कार्य गर्दैछ । कर्माले आफ्नो नेतृत्व आएसँगै केन्द्रीय सदस्य दाबा लामालाई फुटसल संयोजक नियुक्त गरेका थिए । तर, पछिल्लो समय आफुविरोधी कार्य गरेको भन्दै गत असार ३ गते कर्माले दाबाको पद खोसेका थिए । त्यो सगै उनले फुटसल संयोजकमा आफूनिकट विनोद गुरुङलाई ल्याएका हुन् ।
विनोदले नियुक्ति पत्र पाएसँगै कर्माले फुटसल लिग आयोजना गर्न तीब्रता दिएका थिए । पोखरामा असोज २ देखि २२ सम्म चल्ने प्रतियोगितामा १० टोली सहभागिता जनाउने छन् । त्यसअघि यी टोली क्षेत्रीय छनोट हुँदै केन्द्र आइपुगेका हुन् । हाल पोखरामा लिगका लागि एन्फाले सम्पूर्ण तयारी पुरा गरेको छ ।
प्रतियोगितामा सहभागी १० टोलीलाई ंिसंगल राउण्ड रोबिनको आधारमा खेलाइनेछ । अन्तिममा शीर्ष ४ क्लबलाई प्लेअफको आधारमा खेल खेलाइने एन्फाले बताएको छ । पहिलो प्लेअफको विजेता सिधै फाइनल पुग्नेछ भने बाँकी टोलीले इलिमेटर राउण्ड खेल्नु पर्नेछ ।
लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेता दोस्रो टोलीले ५ लाख पाउनेछ । यस्तै प्रतियोगिताको विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर (फिक्सो), उत्कृष्ट स्ट्राइकर (पिभोट), उत्कृष्ट प्रशिक्षक र युवा खेलाडीलाई जनही २५ हजार प्राप्त गर्नेछन् ।