मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

समाचार

विद्यालयमा खेल पाठ्यक्रम लागू हुँदै


  • 532
    SHARES
  • https://indrenipost.com/posts/6644
    फागुन २, २०८० बुधबार
    विद्यालयमा खेल पाठ्यक्रम लागू हुँदै

    भक्तपुर । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले सरकारले आगामी आर्थिक वर्षबाट राज्यको १६औँ योजनामा खेलकुदलाई समावेश गर्ने तयारी गरेको बताएका छन् ।

    आज नेपाल सितेरियो सोबुकान कराते डो सङ्घअन्तर्गत मध्यपुर कराते एकेडेमीको चौथो वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा उहाँले सरकारले बजेटसहित १६औँ योजनामा खेलकुदलाई समावेश गर्ने तयारी गरेको बताएका हुन् ।

    उनले भने, “जबसम्म विद्यालय तहमा खेलकुदलाई अनिवार्य गरिँदैन तबसम्म ठूला अन्तर्राष्ट्रिय पदक जित्न गाह्रो छ, त्यसैले सरकारले आगामी वर्षदेखि विद्यालय तहको पाठ्यक्रममा खेलकुदलाई अनिवार्य विषयका रुपमा समावेश गर्दै सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गर्ने गरी व्यवस्था गर्न गराउन परिषद् लागि रहेको छ, यसो हुन सके खेलकुदका ठूला प्रतियोगितामा देशले ठूला नतिजा हासिल गर्न सक्छ ।”

    देशमा अब खेलेर पनि जीवन धान्न सकिने अवस्था आएको भन्दै उनले खेल र खेलाडीलाई व्यावसायिक बनाउन परिषद् लागि रहेको बताए ।

    सदस्य सचिव घिसिङले भने, “राज्यलाई पदक दिलाइ रहँदा खेलाडीले चाही के पाउने भन्ने सवाल उठिरहन्छ, अब खेलाडीले पनि पाउने व्यवस्था गरिएको छ, यसपाली मात्रै ओलम्पिकमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई सरकारले रु एक करोड ३३ लाख नगद पुरस्कारको व्यवस्था गरेको छ, यस्ता पुरस्कारको व्यवस्था थप गर्दै लेगेको छ ।”

    खेलाडीलाई बीमाको नीति नै नभएको हाम्रो देशमा राखेपकै पहलमा खेलकुद बीमाको व्यवस्था गरेको जनाउँदै उहाँले खेलकुद विज्ञान भएकाले व्यावसायिक प्रशिक्षक उत्पादन गर्दै व्यावसायिक खेलाडी उत्पादन गर्न खेलकुद ल्याव स्थापना गर्न लागि परेको चर्चा गरे ।

    उनले खेलकुदको विकास गर्न तीन तहकै सरकार सक्रिय हुनुपर्नेमा जोड दिँदै स्थानीय तहको सरकार जिम्मेवार भएर लाग्नुपर्ने र विद्यालय तहमा अनिवार्य खेलकुदको प्रशिक्षण लागू गर्नुपर्ने बताए ।

    कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख एवं मध्यपुर कराते एकेडेमीका संरक्षक मदनसुन्दर श्रेष्ठले ट्रलिबस कार्यालयको सब स्टेशनका रुपमा रहेको भवन प्रयोगविहीन रुपमा खेर गइरहेको अवस्थामा आफू नगर प्रमुख हुँदा सदुपयोग गर्दै करातेको एकेडेमी बनाउन सफल भएको बताए ।

    एकेडेमीका अध्यक्ष सजन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष रामसुन्दर श्रेष्ठलगायतले मध्यपुरमा फुटबलमा जस्तै करातेमा पनि खेलाडी उत्पादनमा सक्रिय रहेको बताए ।

    कार्यक्रममा सुरेश महर्जन र सुनिल श्रेष्ठलाई सम्मान गरिनाका साथै विभिन्न खेलाडीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij