मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

टी-२० आई त्रिकोणात्मक सिरिज : आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा


  • 442
    SHARES
  • https://indrenipost.com/posts/6937
    फागुन १५, २०८० मंगलबार
    टी-२० आई त्रिकोणात्मक सिरिज : आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा

    काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ ।

    खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको रोहित पौडेल र नामिबियाको जेराल्ड इरास्मसले कप्तानी गर्नेछन् ।

    नेपालले टी-२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग-२ को टोलीलाई निरन्तरता दिएको छ ।

    लिग २ का दुवै खेलमा ४ विकेट र २ विकेटले नेपाललाई हराएको नामिबिया मनोबल उच्च छ ।

    कुशल भुर्तेल, अनिल शाह, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी टी-२० का प्रमुख ब्याटर हुन् ।

    यी चार खेलाडी प्रदर्शनमा टोलीको योगफल निर्धारण हुनेछ । ओपनर कुशलबाट नेपाल आक्रामक सुरुवात चाहन्छ ।

    कुशलले २९ टी-२० आईमा एक शतक र ७ अर्धशतकसहित ९१५ रन बनाएका छन् । उता कुशल मल्ल विष्फोटक ब्याटर हुन् ।

    उनी चलेको खण्डमा नेपालले एकै ओभरमा खेललाई मोड्न सक्छ । अनिल राम्रो लयमा देखिंदै टोलीमा पुनरागमन गरेका छन् । दीपेन्द्र प्रमुख अलराउन्डर हुन् ।

    पछिल्लो समय ग्लोबल टी-२० क्यानडा र इन्टरनेशनल लिग टी-२० यूएईको अनुभव बटुलेका छन् । नेपाली क्रिकेटका टाइगर भनिने उनी फिनिसरको रुपमा हुनेछन् ।

    ५३ टी-२० आई खेलमा दीपेन्द्रले १३४४ रन बनाएका छन् । २५ विकेट पनि लिएका छन् । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उनको योगदान महत्वपूर्ण हुनेछ ।

    बलिङमा भने नेपालले ध्यान दिनुपर्ने हुन्छ । सोमपाल कामी र करण केसी खेल्नेछन् । यी दुवै राम्रो ब्याटिङ गर्दछन् । अर्का तीव्र गतिका बलर गुलशन झा भने टोलीको रणनीतिमा भर पर्नेछन् ।

    नेपालले डेथ ओभर स्पेलिष्ट अभिनाश बोहरालाई खेलाउन सक्छ । गत नोभेम्बरमा आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध अभिनाशले एकै ओभरमा २१ रन खर्चेका थिए ।

    डेढ महिनाअघि प्रधानमन्त्री कप खेल्ने समयमा मधेशविरुद्ध खेल्दा हातको नाँडीमा चोट लागेपछि शल्यक्रिया गरेका अभिनाशको मैदानमा पुनरागमन गर्ने सम्भावना छ ।

    पूर्ण फिट नभएको अवस्थामा भने विश्रााम गर्न सक्छन् । चौथो तीव्र गतिको बलिङ अलराउन्डरमा विवेक यादव हुनेछन् ।

    गुलशनलाई खेलाउँदा पाँच तीव्र गतिका बलर टोलीमा खेल्नेछन् । ललित राजवंशी प्रमुख स्पिनर हुनेछन् । दीपेन्द्र र कुशल मल्ल पार्टटाइम स्पिनर हुनेछन् ।

    डेथ ओभर बलिङ नेपालको समस्याको रुपमा रहँदै आएको छ । उता नामिबियाको टोली पनि मजबुत छ । डेभिन निकोलस, कप्तान जेराल्ड इरास्मस र जेजे स्मिथ प्रमुख हतियार हुन् ।

    डेभिनले गत नोभेम्बरमा जिम्बावेलाई हराउन ८९ रनको इनिङ खेलेका थिए । त्यसअघि जिम्बावेसँगको टी-२० आई सिरिजमा ८० र ६० रनको इनिङ लगातार खेलेका थिए ।

    उनी आक्रामक इनिङको लागि चिनिन्छन् । जेजे र इरास्मस दुबै अलराउन्डर हुन् । राम्रो लयमा पनि छन् । तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यान पनि घातक बन्नसक्ने खेलाडी हुन् ।

    जान फ्रेलिंक र जान निकोल लोफ्टी पनि राम्रो अलराउन्डर मानिन्छन् । नेपाल र नामिबियाबीच पहिलो पटक टी-२० आई खेल हुँदैछ । त्रिकोणात्मक सिरिज नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij