काठमाडौं । साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदैछन् ।
आज पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनको सामना गर्दैछ । साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बजेदेखि सुरु हुने छ ।
जोर्डन समूह ए मा तीनै खेलमा विजयी भएर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने प्यालेस्टाइन समूह बी मा ३ मध्ये २ जित र एक हारसहित उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।
त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा नेपाल र लेबनान खेल्दै छन् । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नै हुने यो खेल नेपाली समय अनुसार साँझ १०ः ४५ बजेदेखि सुरु हुनेछ ।
यस प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी साम्बाले सर्बाधिक ८ गोल गरेर सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेकी छन् । प्रतियोगिताको फाइनल खेल आगामी बिहीबार हुनेछ ।