काठमाडाैं । वाफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई जनही ५१ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
साउदी अरेबियाबाट आज (शुक्रबार) स्वदेश आइपुगेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङले जनही ५१ हजार दिने घोषणा गरेका हुन् ।
साउदी जानु अघि नै मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाेराम लामाले महिला टोलीलाई १ लाख रुपैयाँ दिने घोषणा गरेका थिए ।
लामाले त्यसमा २५ हजार रुपैयाँ थप्ने घोषणा गरेका थिए । नेपाली टोलीले बिहीबार राति पश्चिम एसियाली फुटबल महासंघ (वाफ) को आयोजना भएको वाफ च्याम्पियनसिपको फाइनल खेलेको थियो ।
नेपाल जोर्डन सँग पेनाल्टी सुट आउटमा ५-३ ले पराजित भएको थियो । प्रतिस्पर्धात्मक फाइनल निर्धारित समय २-२ को बराबरी सकिएको थियो । फाइनल अघिसम्म नेपाली टोली अपराजित थियो ।
फाइनल सम्मको खेलमा १७ गोल गरेको थियो भने ४ गोल खाएको थियो । सावित्रा भण्डारी साम्बा ९ गोल सहित वाफको सर्वाधिक गोलकर्ता बनेकी छन् ।
आठौं संस्करणमा जोर्डन छैटौं पटक च्याम्पियन बनेको थियो। नेपाल भने त्यो प्रतियोगितामा पहिलो पटक भाग लिएको हो ।
सन् २०१० पछि साफ च्याम्पियनसिप, साग, हिरो कप, नादेज्दा कप र वाफमा गरि ११ वटा फाइनल खेल्दा नेपाली टोली च्याम्पियन बन्न सकेको छैन ।