काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु टिम ओमानविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेकाे छ । टस जितेर पहिले बलिङ रोजेको नेपालले पहिलाे दुई ओभरमै ओमानका ओपनर जतिन्द्र सिंहलाई पेभेलिएन फर्कायाे । नेपालले १० ओभर खेल्दा ओमानले तीन विकेट गुमाएको छ ।
नेपालका करन केसीले ओमानका जतिन्द्र सिंहलाई दोस्रो ओभरको चौथो बलमा क्याच आउट गरेका छन्। दाेस्राे विकेट पनि करनले नै झारेका छन् । सिंहले १३ बलमा १३ रन जोडेर आउट भए भने दाेस्राे विकेटकाे रुपमा सुफेन महाेमद छैटाैं ओभरमा आउट भए। उनी १६ बलमा ४ रन जाेडेर पेभेलिएन फर्किएका छन् ।
करनले नै तेस्राे विकेट झारेका छन्। ८ औं ओभरमा आयान खानलाई पेभेलिएन फर्काए । खानले १८ बल खेल्दै ७ रन जाेडे । १० ओभर खेल्दै ओमानले ३२ रन जोडेको छ । ओमानविरुद्धको खेलका लागि नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । तीव्र गतिका बलर गुल्शन झा र मध्यक्रमका ब्याट्सम्यान कुशल मल्ल टिमबाट आउट भएका छन्। शरद भेषवाकर र आरिफ शेखले टिममा स्थान बनाएका छन् । ओमानमा भइरहेको सिरिजमा नेपालले यसअघि तीन खेल खेलिसकेको छ ।
तीन मध्ये नेपाल दुई खेलमा पराजित भइसकेको छ। पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै हारेको थियो । तेस्रो खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको थियो ।
लिग–२ को अंक तालिकामा नेपाल ७ खेलबाट ६ अंक जोड्दै छैटौं स्थानमा छ । नेपालले ७ मध्ये ४ खेलबाट हार र ३ खेलमा जित निकालेको छ । ओमान १२ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानको अमेरिकाको १५ खेलबाट १४ अंक छ ।