काठमाडौं । जगदम्बा स्टिल जीतपुर सिमरा गोल्डकपको १४औँ संस्करण यही चैत २४ देखि सुरु हुने भएको छ । बाराको सिमरामा आइतबार पत्रकार सम्मेलन गरी आयोजक नवजनजागृति युवा क्लबले प्रतियोगिताबारे जानकारी गराएको हो ।
सिमरा रङ्गशालामा सो प्रतियोगिता आगामी वैशाख ३ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, फ्रेन्ड्स क्लब, मच्छिन्द्र क्लब, एपीएफ क्लब, मकवानपुर–११ हेटौँडा, वीरगञ्ज युनाइटेड क्लब वीरगञ्ज, सिराहाको सहलेश युवा क्लब र आयोजक नवजनजागृति युवा क्लब सहभागी हुने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही २५ हजार तथा उदीयमान खेलाडीले १५ हजार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ ।