काठमाडौं । एसएमएस फ्रेन्डशिप कपअन्तर्गत त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र भारतको स्थानीय क्लब बरोडा क्लबविरुद्धको खेलमा नेपालले ६ विकेट गुमाएर १५६ रन बनाउँदै जितका लागि १५७ रनको लक्ष्य दिएको छ ।
मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा भइरहेको खेलमा टस जितेको बरोडाले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको छ ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक व्यक्तिगत स्कोर ४० रन बनाए भने अनिल साहले २५ रन बनाए ।
नेपालको शुरुवात सशक्त रहेन। ओपनर कुशल भुर्तेल ११ बलमा ९ रन बनाएर आउट भए भने अर्का ओपनर आसिफ शेख पनि १२ बलमा ९ रन बनाएर आउट भए ।
ओपनर ब्याट्सम्यान चाँडै आउट भएपछि दबाबमा परेको नेपालका लागि अनिल साहले २७ बलमा २५ रन र कप्तान रोहित पौडेलले १३ बलमा १८ रन बनाए ।
रोहित दोस्रो रन लिने चक्करमा आउट भए । सन्दिप जोराले १६ बलमा २९ रन बनाएर रन आउट भए । गुलशन झाले १४ बलमा १३ रन बनाए। कुशल मल्लले अविजित रहँदै २५ बलमा ४० रन बनाए भने अविजित रहेका दीपेन्द्रसिंह ऐरीले ५ बलमा ५ रन बनाए। नेपालले अतिरिक्त ८ रन पायो ।
बरोडाका लागि पेसर बाबा खानले २ विकेट‚ मोहित मोंगिया र परीक्षित पटेलले १/१ विकेट लिए । नेपाल आज लगातार दोस्रो जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
पहिलो खेलमा नेपालले गुजरातलाई हराएको थियो । पहिलो खेलमा गुजरातसँग पराजित भएको बरोडा आज पहिलो जितको खोजीमा छ ।
नेपाल, गुजरात र बरोडा सहभागी त्रिकोणात्मक टी–२० सिरिज डबल राउण्ड रोबिनमा भइरहेको छ । प्रतियोगिताका शीर्ष दुई टोलीले चैत २५ गते फाइनल खेल्नेछन् ।