काठमाडौं । नेकपा एमालेले आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव तयार गरेको छ । उक्त संशोधन प्रस्तावलाई शुक्रबारदेखि दुई दिनसम्म ललितपुरको च्यासलमा बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिँदैछ ।
उक्त बैठकले उक्त संशोधन प्रस्ताव पारित गरेपछि असोज १५ देखि १७ गतेसम्म बस्ने विधान महाधिवेशनमा प्रस्तुत गर्ने तयारी छ ।यो बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल हुनेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।
त्यस्तै महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गर्ने भएका छन् । यसअघि एमालेको स्थायी कमिटी बैठक यी आइतबार र सोमबार बसेको थियो ।
त्यसबेला ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरुले सुझाव दिएका थिए । एमालेले यसअघि नै अध्यक्षसहितका पदाधिकारी महाधिवेशनबाटै निर्वाचित गर्ने निर्णय लिएको छ ।