काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । शनिबार भएको बैठकमा राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदन माथिको छलफल सकिएको छ ।
ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा १० समूहमा विभाजित टोली नेताले शनिबार समूहगत छलफलपछि आफ्ना धारणा प्रस्तुत गरेका थिए । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले टोली नेताबाट समाजवादको आधार निर्माणलाई पार्टीको कार्यदिशाको रूपमा अगाडि बढाउनुपर्छ भन्ने र विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने कार्यभार एमालेले पूरा गर्नुपर्ने सुझाव आएको बताए ।
७० वर्षे उमेरहद पनि कायम गरेर जानुपर्ने अधिकांशको सुझाव रहेको थियो । आज बस्ने बैठकले प्रतिवेदनमा आएका सुझावको आधारमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनमा महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनेछन् ।
ती प्रतिवेदन आजै पारित गर्ने एमालेको तयारी छ । शुक्रबारदेखि शुरु भएको बैठकमा भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले शनिबार तीनवटै प्रतिवेदनमाथि समूहगत छलफल गरेका थिए ।
आज प्रतिवेदन पारित गरिएपछि असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेश पेश गर्ने तयारी छ । एमालेले गोदावरीमा विधान महाधिवेशन राखेको छ ।