काठमाडौं । काठमाडौंको वायु प्रदूषण विश्वकै खराब बनेको छ । आईकयू एयरले जारी गर्ने सूचीमा बिहान ७ बजेको मापनमा काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा पुगेको हो ।
काठमाडौंको एक्यूआई २६२ छ । यसलाई निकै अस्वस्थ मानिन्छ । ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ ।काठमाडौंको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३७.५ गुणा बढी रहेको छ ।
वायु प्रदूषण उच्च भएसँगै काठमाडौंमा सास फेर्न कठिन हुँदा बिरामीको संख्या बढ्न थालेको छ । विज्ञहरूले मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् । काठमाडौंपछि भारतको नयाँ दिल्ली दोस्रो तथा भियतनामको हानोई विश्वकै तेस्रो प्रदूषित सहर बनेका छन् ।
त्यसपछि शीर्ष १० स्थानमा क्रमशः पाकिस्तानको लाहोर, भियतनामको हो चि मिन, चीनको वुहान, इन्डोनेसियाको जकार्ता, म्यानमारको याङगोन, चीनको छेन्दु र कम्बोडियाको फेनोम पेन रहेका छन् ।